• ८ माघ २०८२, बिहिबार

आँधीखोलाका सबै वडामा सडक कालोपत्रे

blog

वडा नं –४ पुग्ने सेपत देउराली सडक । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ ८ गते ।
कर्णाली प्रदेशका जिल्ला सदरमुकाममा कालोपत्रे पुगेको छैन भने गण्डकीका धेरै पालिका सदरमुकाममा कालोपत्रे पुग्न सकेको छैन । तर यहाँका आँधीखोला गाउँपालिकामा भने वडा सदर मुकाम र धेरै जसो टोल टोलमा कालोपत्रे पुगेको छ ।

सङ्घीयता पहिलो एक किलो पिुर्व सडक नभएको यहाँको वडा नं –४ बाङसिङमा सडक पुगेसँगै यहाँका सबै वडामा कालोपत्रे सडक पुगेको हो । वडा नं –४ पुग्ने सेपत देउराली सडक छ करोड २५ लाखमा कालोपत्रे तथा ढलान गरेसँगै सबै वडामा कालो पत्रे पुगेको हो ।

पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा यस पालिकामा ५९.७८५ किमी सडक कालोपत्रे गरेसँगै यहाँका वडासँगै टोल टोलमा कालोपत्रे सडक पुगेको हो । पालिकाले बरपिपले, झारखोला, फुलबारी पुवाडाडाँ, जरेखोला, वावडे, जुग्ने गवनपानी, फुलबारी सडक गरेर १७.९१० किमी कालोपत्रे गरेको हो ।

यस्तै प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले नागडाडाँ कार्कीनेटा सडक र पुतलीखेत कार्कीनेटा सडक गरेर कुल २०.८७५ किमी कालोपत्रे गरेको हो । यस्तै वडा नं –१ जाने सडक सडक डिभीजन कार्यालय पोखरा करिब ५० करोडको लागतमा कालोपत्र गरेको हो भने यो वडा देशकै पहिलो होमस्टे शिरुवारीसँगै रहेको छ ।

सङ्घीयताको अवधारणा अनुरुप पालिका बनेसँगै यहाँ संघ, प्रदश र पालिकाले सडकको लागिमात्र एक अरब १८ करोड ४२ लाख ७९ हजार ७६१ रुपियाँभन्दा बढी खर्च भएको हो । पालिकाले यसै आर्थिक वर्ष अर्घाउदी, पालिका क्षेत्र लगायतका ठाउँमा पाँच किमी सडक सात करोड खर्च गरेर कालोपत्रे अगाडि बढाएको छ ।

सबैको चाहना र सहकार्यले यहाँको विकास सम्भव भएको र टोल टोलमा बाटे लगेको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । सडक सञ्जाल विस्तारसँगै कृषि उत्पादनको बजारीकरण, स्वास्थ्य सेवा र शिक्षामा पहुँच सहज बन्दै गएको पौडेलले बताउनुभयो ।

स्थानीय तह स्थापना भएपछि गाउँ–गाउँमै सिंहदरबार पुगेको अनुभूति दिलाउने उद्देश्यसहित सुरु गरिएको योजना सफल भएको पालिकाले जनाएको छ ।  पहाडी जिल्लामा विकास गर्नु सहज नभए पनि स्पष्ट योजना र दृढ इच्छा शक्ति भए सम्भव हुने उदाहरण आधिखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।