अमरराज नहर्की
तनहुँ, माघ ८ गते । व्यास नगरपालिकाले भाषा र साहित्यको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै व्यास नगर प्रज्ञा प्रतिष्ठान गठन गरी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठानले आज माघ ९ र १० गते दुई दिने वृहत् साहित्य प्रतियोगिता आयोजना गर्दैछ । उक्त कार्यक्रमको सह–आयोजक गण्डकी वाङ्मय प्रतिष्ठान रहेको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्र रहेका बहुभाषिक तथा बहुसांस्कृतिक सम्पदाको संरक्षण नगरपालिकाको दायित्व भएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “तनहुँ जिल्लामा ६५ भन्दा बढी आदिवासी जनजातिको बसोबास छ । रैथाने समुदायका लुकेका प्रतिभा र तिनका मौलिक साहित्यिक सिर्जनालाई उजागर गर्न यस्ता कार्यक्रम आवश्यक छन् ।”
प्रतिष्ठानका सहकुलपति तथा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले भाषा र साहित्य केवल अभिव्यक्तिको माध्यम मात्र नभई पहिचान र इतिहाससँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । “लोपोन्मुख भाषा, गीत–संगीत र संस्कृतिको संरक्षण नगरे भविष्यमा हाम्रो मौलिकता नै हराउने खतरा हुन्छ,” दरैको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेले साहित्यिक गतिविधिमार्फत नयाँ पुस्तालाई मातृभाषा र संस्कृतिप्रति आकर्षित गरिनु आवश्यक रहेको बताउनुभयो । “आफ्नै समुदायभित्र प्रतिस्पर्धा गराउने अवधारणाले सिर्जनशीलता बढाउनुका साथै भाषिक आत्मसम्मान पनि बलियो बनाउँछ,” उहाँले जोड दिनुभयो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानले भाषा र साहित्यको संरक्षण गर्ने उद्देश्यले गत पुस महिनामा तीन दिने ठाडो भाका गीत गाउने प्रशिक्षण समेत सञ्चालन गरिएको प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । सो प्रशिक्षणले रैथाने लोकगीतको संरक्षणमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।
प्रतिष्ठानको आयोजनामा हुने साहित्य प्रतियोगितामा जिल्लामा बसोबास गर्ने विभिन्न समुदायका नवोदित साहित्यकारहरूका रचना वाचन गरिनेछ । एउटै समुदायभित्र प्रतिस्पर्धा गराइने र सोही समुदायका विज्ञ निर्णायकबाट उत्कृष्ट रचना छनोट गरिने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा उत्कृष्ट हुने स्रष्टाहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
व्यास नगरपालिकाद्वारा भाषा र साहित्यको संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमले जिल्लाको बहुभाषिक, बहुसांस्कृतिक विविधताको जगेर्ना तथा प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतिष्ठानकी सदस्य नारायणी अधिकारीले प्रतियोगितामा एउटा भाषाको कम्तीमा पनि पाँच वटा प्रतिभा हुनुपर्ने जानकारी दिनुभयो । प्रत्येक भाषाको छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने र उनीहरुलाई पुरस्कृत गरिने अधिकारीले बताउनुभयो । प्रत्येक भाषाको प्रतिभाको मूल्याङ्कन गर्न प्रत्येक भाषाका छुट्टाछुट्टै विज्ञलाई मूल्याङ्कनकर्ता बनाईएको प्रतिष्ठानले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानकी सदस्य अन्जना तिमिल्सेनाले जानकारी दिनुभयो ।