• ७ माघ २०८२, बुधबार

महोत्तरीको कुनै क्षेत्रमा परेन उजुरी

blog

महोत्तरीको निर्वाचन क्षेत्र १ को बर्दीबासस्थित निर्वाचन अधिकृतको कार्यालय । तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, माघ ७ गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।

महोत्तरीका चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मंगलबार १९ महिलासहित १४३ जनाको मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि चारै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध तथा उजुरी दर्ता गर्न सकिने समय तोकेको थियो ।

निर्धारित समयभित्र उजुरी संकलनका लागि निर्वाचन कर्मचारी समयमै कार्यालयमा उपस्थित भए पनि कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध दाबी–विरोध, उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दाबी–विरोध नपरेकाले अब पूर्व निर्धारित निर्वाचन तालिकाअनुसार बाँकी प्रक्रिया अघि बढाइने भएको छ । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार मनोनयनपत्रमाथि जाँचबुझ गरी ८ गते बिहीबार उम्मेदवारको नामावली प्रकाशित गरिने छ । 

त्यसपछि ९ गते शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली तथा निर्वाचन चिन्ह प्रकाशित गरिने उहाँले बताउनुभयो । दाबी–विरोध नपरेको अवस्थामा बाँकी सबै कामहरू तय कार्यक्रमअनुसार अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।