• ७ माघ २०८२, बुधबार

मकवानपुरमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

blog

निर्वाचन अधिकृतको कार्यालय। तस्बिर : अनिल पराजुली।

अनिल पराजुली

हेटौँडा, माघ ७ गते। मकवानपुर जिल्लामा मङ्गलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन। 

बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने समयतालिका रहे पनि कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताउनुभयो। 

“प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्धारित निर्वाचन कार्यक्रम अनुसार मिति २०८२।१०।६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवार भइ मनोनयपत्र दर्ता गुनभएको उम्मेदवार उपर मिति २०८२।१०।७ गते १० देखी १५ बजे सम्म उजुरी दिन सकिने व्यवस्था भएकोमा सो समय भित्र कुनै पनि उजुरी नपरेको बेहोरा अनुरोध गरिन्छ,” मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भन्नुभयो। 

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो। निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो। क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो।