• ८ जेठ २०८१, मङ्गलबार

बोलिरहेछ ब्रेकिङ न्युज (कविता)

blog

ओहो,

प्रिय समाचारवाचक !

तिमीले सुनाएका समाचारमा 

किन–किन

भइरसका निर्मम हातहरूले 

मेरो घाँटी बेस्सरी निमोठिरहेका छन् 

मुटुविहीन भएका मान्छेहरू यहाँ

छिन्नामस्तालेजस्तै आफ्नो टाउको आफैँले काटेर

त्यसको रगत आफ्नै हातले थाप्दै 

स्वादले जिब्रो लब्लब्याई पिइरहेका छन्

माफ गर्नुहोला, प्रिय समाचारवाचक !

यतिखेर गुन्डा समयले 

मेरो मुख थुनिदिइएको छ

आँखा पूरै छोपिदिइएको छ 

कान पनि बन्द गरिदिइएको छ 

भन्नु त मलाई, गान्धीको बाँदरजस्तै सो केसमा 

सजाउन लायक बनाएर छोडिदिइएको छ 

हालचल नगरीकन 

ढोकामा स्वागतार्थ डमी बनी उभिएको छु

ब्रेकिङ न्युजले एक्कासि

किनाराको साक्षी बक्दै आफैँ बोल्दैछ–

दुरुस्तै हनुमानजस्तो 

बालकको पुच्छर नै छैन

पुच्छरजस्तो चिजले बालकलाई हल्लाइरहेको छ 

त्यसैले महोदय,

ढुङ्ग्रोमा राख्न नपाउँदै पुच्छरमा 

आगो लगाउन राँको बोकेको दृश्य आइरहँदा

अचानक रिमोटबाट बन्द गरिदिने

कसको हात हो त्यो ?

यतिखेर हामीलाई निकै सुर्ता लागेको छ ।