एक्काइसौं शताब्दीमा छ भन्ने मान्यता राख्नेहरूले यसको एक चौथाई कालखण्ड सन् २०२५ को बिदाइ सँगसँगै बितेको अनुभव गरिसके । सुदूर विगत र निकट विगतका विश्वघटनालाई दाँजेर हेर्ने इतिहासकार र समीक्षकहरूले दोस्रो विश्चयुद्ध (सन् १९३९–४५) पछिका असी वर्ष यस धरतीले तुलनात्मक रूपमा शान्ति र समृद्धिको समय पाएको देखेका छन्, यद्यपि यस अवधिमा पनि एसिया, अफ्रिका, युरोप, अमेरिका सबैतिर स्थानीय र क्षेत्रीय स्तरका सशस्त्र संघर्षमा जनधनको क्षति हुन भने छोडेन, छोडेको छैन । कतिपय देशहरू आन्तरिक विग्रह र जन–असन्तुष्टिका कारण गृहयुद्धको चपेटाबाट उम्किन सकेनन् । स्रोत–साधनको प्रचुरता भएका देशले आफूलाई बलशाली प्रमाणित गर्न मात्र भए पनि निर्बलउपर आक्रमण गरेका छन् । थप स्रोत–साधनमाथि अधिकार जमाउने हेतुले छर–छिमेकका देशमा चढाञी गर्ने प्रचलन बढ्दै गएको छ । भेनेजुएलाउपर संयुक्त राज्य अमेरिका, युक्रेनमाथि रुस र प्यालेष्टाइनविरुद्ध इजरायलबाट हालैमा भए–गरेका सैनिक कारबाही जग–जाहेर घटना हुन् ।
विश्वशान्ति एवं सुरक्षाका लागि सन् १९४५ मा स्थापना गरिएको संयुक्त राष्ट्रसंघ समेत अहिले असान्दर्भिक देखिन थालेको छ । सुरक्षा परिषद्का १५ सदस्यमध्ये पाँचवटा देशले मात्र विशेष अधिकार (भीटो) प्रयोग पाउने प्रचलनले सबै सदस्य–राष्ट्र समान हुन् भन्ने मूलभूत सिद्धान्त नै खल्बलिएको हो । यस्तै कारणले राष्ट्रसंघको प्रभावकारिता प्रश्नको घेरामा परेको छ । सद्भाव, सहकार्य, सहयोगजस्ता मानवीय गुणहरूलाई दम्भ, दुर्भाव, इष्र्या र द्वेषजस्ता दुर्गुणहरूले विस्थापित गरेका छन् । सशस्त्र संघर्ष, जातीय हिंसा, दङ्गा, पृथक्तावादी आन्दोलन जस्ता घटना भए त्यसको लागि घातक हात–हतियारको व्यापार,कारोबार गरेर नाफा कमाउने ध्येय भएकाहरू विश्वशान्तिको लागि प्रतिबद्ध हुने कुरै आएन । तिनले त नयाँ र तिखारिएका हतियार तथा जहाजी बेडाहरू तयार गरी लडाञी लम्ब्याउने वातावरण निर्माण गर्दैछन् । नरसंहारकारी आणविक हतियारहरूले पहिले देखि नै विश्वलाई भयग्रस्त गराएका छन् । नयाँ परिदृश्यले तेस्रो महासमर संघारमै आएजस्तो गराउन खोज्दैछ ।
अवाञ्छित उक्साहट
असहिष्णुता यत्रतत्र टड्कारो भइरहेको देखा पर्छ । ‘विविधतामा एकता’ भएका नेपाल, भारत र दक्षिण एसियाका अन्य देशका समाजमा सहनशीलता पातलो भएर गएको छ । राष्ट्रिय चिनारीमा सन्तुष्ट रहँदै आएका समुदायलाई जातिगत, धार्मिक अथवा क्षेत्रीय पहिचानको लागि उक्साउनेहरू एक हदमा सफल पनि भएका छन् । आखिर यसरी समाज भाँड्ने, बिथोल्नेहरूलाई त्यो सफलता दिलाउने मतियारहरू कोको हुन सक्छन् ? अनि तिनका लागि कताबाट साधन–स्रोत जुटेका छन् ? यी पाटाहरूको खोज,अध्ययन गर्ने समाचार–माध्यमहरू (मिडिया) ले हो । तर कति गरेका छन्, के गरेका छन् त्यो छुट्टै छानबीनको विषय हो ।
विश्वभरकै शान्ति खल्बलिने तहमा पु¥याउन कसको भूमिकाले काम गरिरहेको छ ? बलिरहेको आगोमा घ्यू थपेर विनासतर्फ अग्रसर गराउने तत्व कुन हो ? सम–सामयिक विश्वमा व्याप्त तनाउ र कलहको तीव्रताउपर दृष्टिपात गर्नेहरूले यसमा समाचार–माध्यम (मिडिया) लाई पनि कसुरदार ठह¥याएछन् । यसमा के परम्परागत, के डिजिटल अन्लाइन र के सामाजिक सञ्जाल सबैजसो माध्यम शङ्काको घेरामा पर्दछन् । किनभने यिनले रातोदिन मिथ्यासूचना (मिस्–इन्फरमेसन) र दुष्प्रचार (डिस्–इन्फरमेसन) फैलाउने काम गरिरहेका छन् । र, यो नेपाल वा दक्षिण एसियाको मात्र चुनौती होइन सर्वव्यापी समस्या भैसकेको छ । कोभिड महामारीसरह । भौगोलिक आकार र जनसंख्याको आधारमा घटीबढी असर पर्ने, पार्ने कुरो त आफ्नो ठाउँमा छँदै छ ।
अनुभवसिद्ध कुरो हो, सूचना,जानकारी वा समाचार तिनलाई जतिसक्यो छिटो ठूलो जनसमुदायमा पु¥याउने काम गर्दा हुने त्रुटि अथवा भूलका कारण गलत रूपमा प्रवाहित हुन पुग्छन् । गल्ती वा अशुद्धी देखिनासाथ सच्याउन, सुधार गर्न सकिन्छ, र पाठक समुदायसँग क्षमायाचना गर्नु नै पर्याप्त हुनसक्छ । किनभने यस प्रकियामा पत्रकारले जानाजान कसैलाई धोका दिन वा भ्रममा पार्न खोजेको हुँदैन । रेडियोका श्रोता र टेलिभिजनका दर्शकहरूको सन्दर्भमा पनि लागु हुने कुरो यही हो । तसर्थ परम्परागत माध्यमले अपनाउने सुधारको विधि पनि त्यसै अनुरूपको छ, हुन्छ । तर दुष्प्रचार बेग्लै पाटो हो जुन जानीबुझीकन जनसाधारणमा भ्रम फैलाउने कुत्सित ध्येयले उपलब्ध आम–सञ्चारका माध्यमको प्रयोग गरिएको हुन्छ । र, यसरी समाजमा भ्रम छर्ने काम राजनीतिक दल, झुण्ड, जमात अथवा कुनै स्वार्थसमूह विशेषले मात्र गरेका हुँदैनन् । यदाकदा राज्य–व्यवस्था सञ्चालन गर्ने संयन्त्रले पनि हुँदै नभएका घटना वा चुनौतीबारे कपोलकल्पित (मनगढन्ते) सामग्री तयार गरी फैलाउने कार्य गरेका हुन्छन् । र, यस्ता कृयाकलाप साम्यवादी कठोर शासन भएका देशमा मात्र होइन स्थापित भनिएका लोकतान्त्रिक मुलुकमा समेत हुने गरेका छन् । प्रेसको साख÷विश्वसनीयता निरन्तर ओरालो लाग्नुका कारण यिनै हुन् ।
जोडजाडको प्रक्षेपण
अचेलको परिवेशमा आम–सञ्चारमाध्यम सूचना, समाचारका स्रोत मात्र रहेनन्, कालक्रममा यी माध्यम बिग्रँदो विश्व–परिस्थितिलाई अझ बिगार्ने कारक हुन गएका छन् । मिडिया खलनायक बन्न पुगेको छ । हो, सबैलाई एउटै डालोमा हालेर अविश्वसनीय भन्न त मिल्दैन परन्तु सामाजिक सञ्जालको व्यापकता र त्यसको बढ्दो अवाञ्छित प्रभावले सामाजिक धरातल तीव्र गतिमा दूषित र कलहकारी भएर गएको छ । यस पङ्क्तिको लेखकले हालै ‘च्याट जीपीटी’ लाई प्रश्न गरेको थियो, यस्तोः–संसारका विभिन्न भेग र भागमा द्वन्द्व गराउन र चर्काउन मिडियाबाट आगोमा घ्यू थप्नेजस्तो काम त गरिरहेका छैनन् ? उताबाट उत्तर आयोः–हो, त्यसो गर्ने गरेको देखिएको छ । द्वन्द्व चर्काउने प्रकृतिका भाष्यहरू द्वन्द्व मत्थर पार्न सहयोग पु¥याउने विवरणहरूभन्दा छिट्छिटो रफ्तारमा फैलिएका हुन्छन् ।
परम्परागत माध्यमको दाँजोमा सामाजिक सञ्जालका चौताराहरूबाट फैलिने सूचना कम भरपर्दा हुन्छन् । कतिपय सूचना पुष्टि नै नभईकन प्रकाशित÷प्रसारित हुन्छन् भने कैयन् तस्बीरहरू जोडजाड गरेर प्रक्षेपण गरिएको हुन्छ । तथ्यातथ्यको निरूपण भएकै हुँदैन । कति थोरै समयमा कति धेरै उपभोक्ताले ‘क्लिक्’ गर्न भ्याए भन्ने कुरामा मात्र सञ्चारमाध्यमको व्यापार चलाउनेहरूको ध्यान केन्द्रित भएको हुन्छ । बेला–बखत गल्ती सच्याउने प्रयास त हुन्छ तर आरम्भको सूचना समाचार बनेर हजारौं किलोमिटर पर पुगिसकेको हुन्छ, त्यसैले समाचारमा परेका त्रुटि सच्याउने प्रयत्न भए नै पनि ढिलो र निष्प्रभावी भइदिन्छ । त्यसको परिणामः– मिडिया सन्देशवाहक हुनुको साटो रणमैदान हुन पुग्छ । रडाको मच्याउने हतियार जस्तो हुनजान्छ ।
‘बिना ब्रेकको यान’
हो, परम्परागत समाचार–माध्यमलाई प्रकृया पु¥याइ जनसमक्ष पुग्न बढी समय लागेको हुन्छ, तर तिनले प्राप्त विवरण तथ्यहरू केलाएर, भिडाएर पुष्टि भएपछि मात्र समाचारको रूपमा प्रवाह गर्ने हुनाले बढी विश्वसनीय हुने नै भए । अर्कोतर्फ,सामाजिक सञ्जाल
‘बिना ब्रेकको यान’ हो जसले दुर्घटनालाई सहजै निम्त्याउँछ । यो एउटा टुक्रे सूचना बोकेर दौडिन्छ जसमा सन्दर्भ वा पृष्ठभूमि केही हुँदैन । सन्सनी फैलाउन, घृणाभाव प्रदर्शन गर्न र सामाजिक बनोट विखण्डन गराउन यसलाई कुनै बेर लाग्दैन । ‘मूलधार’ का माध्यम र सामाजिक सञ्जालको उपमा दिँदा पश्चिमी पद्धतिका हिमायतीहरू भन्छन्ः–सामाजिक सञ्जाल पेट्रोल हो भने परम्परागत माध्यम हावा । पेट्रोलले आगो भेट्यो कि सल्काइहाल्छ,अनि हावाले चाहिँ त्यसलाई कुन दिशातिर लगेर कतिञ्जेल बल्न दिने हो त्यो काम गरिदिन्छ ।’
जतिखेर घटना वा दुर्घटना हुन्छ उत्निखेरै अपूरा सूचना र सन्दर्भविहीन फोटो–सामग्रीहरू जोसुकैले मोबाइल फोनमा उपलब्ध प्रविधिमार्फत् विश्वभर छरिदिन सक्छ । यसको लागि पत्रकारिताका विधि, प्रक्रिया र मान्यताको पालना गर्नु कसैले आवश्यक ठान्दैन । यसको ताजा उदाहरण हुनसक्छ भेनेजुएलाको घटना ।
अमेरिकी सैनिकले राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी न्यूयोर्कको बन्दीगृहमा पु¥याएको खबर र दृश्य केही मिनेटमै विश्वभर फैलियो । केही घण्टाभित्रैमा लण्डनमा रहेको अमेरिकी दूतावासबाहिर अमेरिकाको विरोधमा प्रदर्शन हुन थालिसकेको थियो । अमेरिकी कूटनीतिक कर्मचारीहरू नै एकाएक असुरक्षित भए । तत्कालैजसो अमेरिकाकै प्रमुख नगरहरूमा विरोधका स्वरहरू गुञ्जिन थाले । प्रतिक्रिया त मूलधारका माध्यमबाट प्रवाहित खबरबाट पनि हुन्छ, तर त्यो तत्कालै विग्रह मच्चाउने प्रकृतिको हुन पाउँदैन ।
नाबालिगको संरक्षण
सामाजिक सञ्जालमध्ये ‘एक्स’ (ट्वीटर) चौतारीको मालिक एलन मस्क भन्ने गर्छन्–परम्परागत माध्यम (लिगेसी मिडिया) अबको जमानामा काम लाग्दैन ।’ यस्तो धारणा राखेर हरघडी पैसाको लागि दगुर्ने मानिस अरू पनि छन् । तसर्थ स्वतन्त्रताको नाममा स्वच्छन्दता अभ्यास गर्न पाउनेले शुद्ध सूचना, जानकारी जनसाधारणछेउ पुगोस् भन्ने चाहना राख्लान् भन्ने अपेक्षा कसरी गर्नु ? मस्कको माध्यम ‘एक्स’ मातहतको हो एआई ‘ग्रोक’ । यसले अश्लिल श्रव्य–दृश्य सामग्रीमा नाबालिगहरूको समेत प्रयोग गरेको भनेर बेलायतको सरकारले ‘एक्स’ माथि प्रतिबन्ध लगाउने तयारी गर्दैछ । विचारणीय छ, लोकतन्त्र र वाक्स्वतन्त्रतामा अग्रणी मानिएको देश बेलायतले नै कठोर कदमको सोच बनाउनु परेको छ भने प्रविधिका भीमकाय कम्पनीहरूले अन्यत्रका देश–प्रदेशमा के के मात्र गरिरहेका
होलान् ? सप्ताहान्तमा खबर आयो–मलेसिया र इण्डोनेसियाले महिला र नाबालिग किशोर–किशोरीको सदाचार र स्वास्थ्यको बेवास्ता गर्ने
‘एक्स’ को च्याटबोट भनिने ‘ग्रोक’ माथि रोक लगाएको छ ।
केही वर्षयताको घटना–विकास हो, परम्परागत माध्यम (अखबार,रेडियो आदि) ले तयार पारेका समाचार र तिनमा आधारित सामग्रीलाई ‘आफ्नो’ तुल्याएर बिक्री–वितरण गर्न पल्केका कम्पनीहरूले नैतिकता र कानुनी व्यवस्थालाई बेवास्ता गर्दैआएका छन् । एप्पल, माइक्रोसफ्ट, गूगल, अमेजोन, मेटा जस्ता प्रविधिका भीमकाय कम्पनीहरूको कार्यशैली यस्तै छ । त्यसैले बेलायतका अतिरिक्त हालै फ्रान्स, इटाली लगायतका युरोपेली देशका सरकारहरू समेत समाजमा अश्लील र छाडापन बढाउने सामग्री प्रचार–प्रसारमा नियन्त्रण गर्न लागिपरेका छन् । स्पष्टै छ, निजी जीवनको गोप्यता र व्यक्तिगत स्वतन्त्रताका पक्षधर रहिआएका देशका सरकारहरू समेत यी ‘टेक जाएण्ट’ कहलिनेहरूबाट झस्केका छन् ।
अस्ट्रेलियामा स्मार्टफोन प्रयोग गर्न १६ वर्ष पुगेको हुनुपर्ने नियम लागु भएको भर्खरै एक महिना भयो । यस पहलकदमीको तारिफ गर्दै कतिपय देशले अस्ट्रेलियाको अगुवाइलाई पछ्याउने अठोट गरेका छन् । तर ‘मेटा’ (जसको फेसबूक, इन्ष्ट्राग्राम, ह्वाटस्एप, मेसेञ्जर र थ्रेडस्मा स्वामित्व छ) जस्ता धनाढ्य प्रविधि कम्पनीहरू यसबाट अस्ट्रेलियाका नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन गयो भनेर रोइलो गरिरहेका छन् । जग–जाहेर छ, तिनले नागरिकहरूको वाक्स्वतन्त्रताको लागि होइन, आफ्नो आमदानीको स्रोत बढाउन चर्का कुरा गरिहेका छन् । हरेक देशका सरकारले आफ्ना नागरिकलाई झूटा, दूषित र अमर्यादित शैलीका सूचना, जानकारीबाट जोगाउन यथोचित कानुनी व्यवस्था गर्नैपर्ने देखिन्छ ।
अन्त्यमा
अमेरिकाको वाशिङ्टन पोष्ट र बेलायतका सण्डे टाइम्स र अब्जरभर जस्ता अखबारमा काम गरेर अनुभव सँगालेका अस्ट्रेलियाका सम्पादक एरिक बीचरको चर्चित पुस्तक छ ‘द मेन हु किल्ड द न्यूज’ नामको अर्थात् ‘ती पुरुषहरू जसले समाचारको हत्या गरे ।’ उनले यसमा विगत दुई शताब्दीदेखि अहिलेसम्मका नाफाखोर साहुहरूले पत्रकारितामा छिराएका विकृति र विचलनलाई राम्रैसँग खोतलेका छन् । डोनाल्ड ट्रम्पले प्रेसलाई ‘जनताका शत्रु’ भन्न थालेपछि अमेरिकामा पनि संस्थागत पत्रकारिताको विकासमा अवरोध आएको कुरालाई पनि बीचरले औंल्याएका छन् । दशकौंअघि स्थापित समाचार संस्थाहरूलाई समेत ट्रम्पले‘ फेक न्यूज’ को बिल्ला लगाइदिएपछि पश्चिमी जगत्का मूल्य–मान्यताहरू तितरबितर भइरहेका छन् । त्यसो हुनाले थप अधोगतिबाट रोक्न कुनै दह्रो ‘उद्धारको योजना’ आवश्यक भएको आवाज सुनिंदै छ । किनभने तथ्यपरक सूचनामा आधारित पत्रकारिता लोकतान्त्रिक पद्धतिको पूर्वाधार नै हो । तसर्थ त्यसलाई जगेर्ना गर्न सरकारी योजनाकारहरूबाटै यसतर्फको प्रयास थाल्नुपर्ने सुझाउ आएका छन् ।