• २६ पुस २०८२, शनिबार

चिसोले बढे बिरामी

blog

काठमाडौँ, पुस २६ गते । चिसो मौसम बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा चिसोका कारण हुने बिरामीको चाप बढेको हो । 

जाडो मौसममा विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरू बढी जोखिममा हुन्छन् । कान्ति बाल अस्पतालमा गर्मी मौसमको तुलनामा बिरामीको सङ्ख्या घटे पनि चिसोबाट उत्पन्न समस्याका कारण अस्पताल आउने बिरामीको सङ्ख्या अधिक रहेको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पङ्कज रायले अस्पतालमा दैनिक छ सय बिरामी आउने गरेको जानकारी दिनुभयो । उहाँले जाडो मौसममा कान्ति बाल अस्पतालमा आउने अधिकांश बिरामी चिसोका कारण हुने रोग लागेर आएको बताउनुभयो । 

पाटन अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले अस्पतालमा दैनिक ८० देखि सय जनासम्म बिरामी चिसो मौसमका कारणले हुने रोगको उपचारका लागि आउने गरेको बताउनुभयो । 

यस्तै टेकु अस्पतालका प्रमुख युवानिधि बसौलाले अस्पतालमा जाडो मौसमका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिँदै दम, स्वासप्रस्वास, छालासम्बन्धी समस्या, रुघाखोकी जस्ता समस्याका बिरामीहरू आउने गरेको बताउनुभयो । 

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले पनि जाडो बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार  जाडोबाट बढी असर गर्ने रोगका कारण अस्पताल आउने बिरामीको सङ्ख्या २५ प्रतिशतसम्म बढेको छ । उहाँले अस्पतालमा रुघाखोकी, निमोनिया, ब्रोङ्काइटिस, छालाको समस्याबाट हुने बिरामीको सङ्ख्या बढेको भन्दै सामान्य अवस्थाभन्दा ती रोगबाट अस्पताल आउने बिरामी वृद्धि भएको बताउनुभयो । उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा तापक्रम घटेसँगै निमोनिया, ब्रोङ्काइटिस, छालाको समस्या, झाडापखाला, धुलो धुवाँको कारणले हुने एलर्जी, रुघाखोकी, बाथलगायतका बिरामीको सङ्ख्या बढेको छ । 

अधिकांश बिरामी निमोनिया, घ्यार घ्यार, घाँटीको समस्या र झाडापखालाको समस्या लिएर आउने गरेको र अस्पतालमा आउने बिरामीमध्ये दैनिक २५ देखि ३० जनालाई अस्पतालमै भर्ना गरेर राख्नु परेको उहाँले बताउनुभयो । यस्तै आकस्मिक कक्षमा दैनिक १५० बिरामी आउने गरेकामा १० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको जानकारी दिनुभयो । 

निर्देशक डा. रायले चिसोबाट जोगिन सावधानी अपनाउन सुझाव दिनुभयो ।  न्यानो कपडा लगाउने, बिहान र बेलुका अत्यधिक चिसोमा बाहिर ननिस्कने, घरभित्र पनि पर्याप्त न्यानोपन कायम गर्ने जस्ता सामान्य उपायले धेरै हदसम्म चिसोबाट बच्न सकिन्छ । बालबालिकालाई टोपी, मोजा, पन्जा लगाइदिने र राति सुत्दा न्यानो ओड्ने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । 

उहाँले चिसो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । तातो खाना, सुप, झोलिला परिकार, प्रशस्त तरल पदार्थ सेवन गर्नाले शरीरलाई न्यानो राख्न र रोगसँग लड्न मद्दत पुग्ने उहाँको भनाइ छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।