• २७ पुस २०८१, शनिबार

नेपाल–चीन सम्बन्ध

blog

नेपाल र चीनको सम्बन्ध हिमालझैँ अटल छ । निरन्तरको उच्चस्तरीय द्विपक्षीय भ्रमणले सम्बन्धको उचाइलाई थप प्रगाढ अनि सौहार्दता अभिवृद्धि गरेको मान्न सकिन्छ । केही समयपहिले सम्पन्न चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि अहिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिऊ जियानचाओको नेपाल भ्रमण भएको छ । यो भ्रमणबाट दुई देशबीचको सम्बन्धका आयामहरू अझ फराकिलो बनाउन सहयोग पुगेको छ । यो भ्रमणको अर्को महत्वपूर्ण पक्ष भनेको चीनले नेपालसितका सम्बन्धलाई निकै महत्व दिएको स्पष्ट भएको छ । 

वर्तमान विश्वको उदाउँदो शक्ति राष्ट्र चीनसँग नेपालको सम्बन्ध तथा मित्रता ऐतिहासिक कालदेखिकै हो । यी दुई मुलुकबीच कुनै उल्लेखनीय रूपमा ठूला समस्या विद्यमान छैनन् । नेपाल र चीनको सम्बन्ध आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित भएकाले पनि यी दुईको सम्बन्धमा विश्वास अनि सहयोग, सहकार्य निरन्तर रूपमा अगाडि बढ्न सम्भव भएको हो । नेपालका विकास प्रयासहरूमा चीनले लामो समयदेखि नै साथ र सहयोग उपलब्ध गराउँदै आएको छ । यो तथ्यसँग अधिकांश नेपाली राम्रैसँग परिचित छन् र यो मित्रतालाई निरन्तर अगाडि बढाउन चाहने नेपालीको चाहना छ ।

नेपालका कतिपय महत्वपूर्ण परियोजना र पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान निकै महत्वपूर्ण रहिआएको छ । चीनको यो साथ र सहयोगको नेपाली सरकार तथा जनताले सधँै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने तथ्यमा विश्वस्त छन् । 

शान्तिप्रिय राष्ट्र नेपालको विश्वका कुनै पनि मुलुकसँग शत्रुता छैन । सबै राष्ट्र हाम्रा मित्र हुन् । नेपालको परराष्ट्र सम्बन्धसमेत यसै आदर्शबाट अभिप्रेरित छ । अहिलेको विश्वमा नेपालजस्ता राष्ट्रको मुख्य स्वार्थ भनेकै नेपालको आर्थिक तथा सामाजिक विकास हो । आर्थिक विकासका लागि नेपालको आन्तरिक स्रोत र साधनले मात्र पर्याप्त नहुँदा सहयोग चाहना र बाध्यता दुवै हो । राष्ट्रिय हितलाई सर्वोपरि राखी आवश्यक सहयोगमा नेपालको आर्थिक विकास यथार्थमै अहिलेको अर्जुनदृष्टि हो ।

चीनले असल छिमेकीको आधारमा नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको छ । निरन्तरको परिश्रम तथा आवश्यक पर्दा मित्रलाई सहयोग गर्ने राष्ट्रिय स्वरूपकै कारण चीन केही समयभित्रै विश्वकै उदयमान शक्ति राष्ट्रका रूपमा अगाडि बढ्न सम्भव भएको हो । यस अर्थमा चीनजस्ता छिमेकी राष्ट्रहरूसँग आर्थिक प्रगति र उन्नतिमा योगदान पुग्ने दृष्टिबाट नेपालले सहकार्य गर्नु वाञ्छनीय छ । 

चीनको स्वार्थ भनेको नेपाली भूमिबाट आफ्नो क्षेत्रमा कुनै अवाञ्छित गतिविधि हुन नपाओस् भन्ने नै हो । एक निकटतम छिमेकीको सुरक्षा चिन्ता तथा चासोलाई सम्भव भएसम्म निराकरण गर्नु नेपालको समेत राष्ट्रिय हित हुन्छ । चीनबाट हुने हरेक भ्रमणमा विदेश विभाग प्रमुखको अहिलेको भ्रमणमा पनि चीनले नेपालबाट यही अपेक्षा राखेको देखिन्छ । सबै उच्चपदस्थ नेपाली नेताहरूसँगको भेटघाटमा चिनियाँ पक्षले यही विषयलाई प्राथमिकता दिएको सार्वजनिक भएको छ ।

सुखद कुरो, नेपाल सरकारलगायत लगभग सबै ठूला राजनीतिक दल एक चीन नीति तथा आफ्नो भूमि चीनविरोधी क्रियाकलापप्रति प्रयोग हुन नदिने प्रतिबद्धता देखिन्छ । स्वयं प्रधानमन्त्रीलगायत अन्य राजनीतिक दलका नेताहरूले एक चीन नीति तथा चीनविरुद्धको गतिविधिमा नेपाली भूमि प्रयोग नहुने तवरले चिनियाँ पाहुनाहरूलाई आश्वस्तसमेत पारिसक्नु भएको अवस्था छ । यसबाट नेपाल र चीनबीचको आपसी विश्वास तथा सम्बन्ध अझै प्रगाढ हुने अपेक्षा गर्न सकिन्छ । चीनले झैँ नेपालले पनि चीनसँगको सम्बन्ध निकै प्राथमिकता दिएको पक्षलाई कसैले बिर्सिनु हुँदैन ।

 सबै छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्ध नै नेपालको हितमा हुने तथ्यमा शायदै कसैको विमति हुन सक्छ । कुनै शक्ति राष्ट्र वा सैन्य गठबन्धनतर्फ नजिकिने नेपालको परराष्ट्र नीति न हिजो थियो न यो मुलुकका लागि अनुकूल हुने देखिन्छ । सबै मित्र राष्ट्रहरूसँगको निकटतम तथा मैत्रीपूर्ण सम्बन्ध नेपाली विकासको मुख्य आधार हुनसक्ने सन्दर्भमा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई निर्देशित गर्नु पर्दछ । विशेषगरी भारत र चीन हाम्रा निकटतम छिमेकी भएका कारणले समेत स्वाभाविक रूपमा यी दुईसँगको सम्बन्धले बढी प्राथमिकता पाउनु नेपालको हित तथा आर्थिक विकासको पक्षमा हुने कुरामा निर्विवाद छ ।