• २४ पुस २०८२, बिहिबार

परामर्श नहुँदा विषादीले ढाकिन्छ तरकारी

blog

तरकारीबालीमा लाग्ने रोग किरामा विषादीले तत्कालै असर गर्ने र बालीनाली सुरक्षित हुने भएकाले कृषक अन्य विकल्पतिर नलागी सोझै रासायनिक विषादीमा नै भर पर्ने प्रवृत्तिले उपभोक्ताको भान्सासम्म विषादी पुग्ने गरेको हो । 

काठमाडौँ पुस २३ गते । नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा विषादीको समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।

पौष्टिक आहारसम्बन्धीको सचेतना प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धिका कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएका कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास भएको हो । बढ्दो सहरीकरणले ताजा तरकारीको माग पनि बढाएको छ तर पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा रासायनिक विषादीको मात्रा बढेको समाचार आउन थालेपछि यस क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । 

तीन तहका सरकारसँग कृषि प्राविधिक भए पनि किसानका खेतबारीसम्म पुगेर ‘कृषि परामर्श’ गर्ने परिपाटी क्रमशः कमजोर बन्दै गएको गुनासो किसानको छ । धेरै किसान विषादीको प्रयोग बिउबिजन तथा विषादी बिक्रीकर्ता (एग्रोभेट) कै सल्लाहमा मात्रै प्रयोग गर्दै आएका छन् । “किसानसम्म सरकारी संरचनाको पहुँच पुग्न नसक्दा त्यसले तरकारीमा विषादीको मात्रा बढाएको छ,” अधिकारकर्मी बिपी पौडेलले उल्लेख गर्नुभयो । 

सरकारी निकाय उत्पादन वृद्धिमा मात्रै केन्द्रित हुँदा त्यसले विषादीको प्रयोगलाई बढावा दिएको पौडेलले बताउनुभयो । कृषि र पशुको काम गर्नुपर्ने दक्ष प्राविधिकलाई स्थानीय सरकारले वडाको दर्ता र चलानीमा सीमित बनाएर राखेपछि विषादीको समस्या झनै बढेको उहाँले बताउनुभयो । किसानसम्म प्राविधिक नपुग्दा एग्रोभेटकै विश्वासमा किसान पर्ने गरेका छन् । सरकारी निकायले पनि किसानसम्म विषादीको प्रयोगबाट हुने हानिनोक्सानीको प्रभावकारी प्रचार गर्न सकेको छैन । 

नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०८०/८१ को तथ्याङ्कले देखाउँछ । तरकारी उत्पादन र व्यवसायले धेरै व्यक्तिको रोजगारी सिर्जना पनि भएको छ । पछिल्ला वर्षमा युवाको आकर्षण यस पेसामा बढेको छ । देशैभरिका सहर आसपासका क्षेत्रमा व्यापक रूपमा तरकारी उत्पादन हुन थालेको छ । यसले गर्दा आलु, प्याज र लसुनबाहेक अन्य ताजा तरकारीमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख रहेको वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेल बताउनुहुन्छ तर ताजा तरकारी उपभोग गरिने र केही तरकारी त सलादका रूपमा काँचै पनि उपभोग गरिने भएकाले विषादीको प्रयोगमा संवेदनशीलता जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । 

अर्कातर्फ तरकारीका रूपमा प्रयोग हुने बाली छोटो अवधिका कोमल खालका हुने भएकाले रोग किराको प्रकोप पनि प्रशस्त हुने गर्छ । व्यावसायिक तरकारी बाली ठुलो क्षेत्रमा एउटै बाली हुने हुँदा रोग किराको प्रकोप र असर पनि बढी हुन जाने र व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग सामान्यतः आवश्यक हुने भए पनि विषादी हालेपछि कुर्ने समयका बारेमा कृषकसम्म ज्ञान पुग्न सकेको देखिँदैन । 

रासायनिक विषादीको असर रोग किरामा तुरुन्तै पर्ने हुनाले बालीनाली सुरक्षित राख्न कृषक अन्य विकल्पतिर नलागी सोझै रासायनिक विषादीमा नै भर पर्ने प्रवृत्ति बढेसँगै त्यसले उपभोक्ताको भान्सासम्म विषादी पुगेको उपभोक्ता हक अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील विनोद सापकोटाले उल्लेख गर्नुभयो । पछिल्लो समयमा सागमा किरा र पुतलीले दुःख दिन थालेपछि किसानले विषादीको प्रयोग बढाएका छन् तर किसानलाई विषादी छर्किएको कति समयसम्म बजार लान मिल्दैन भन्ने ज्ञान नभएकाले विषादी छर्किएकै भोलिपल्ट बजार पुगेको पाइन्छ । 

किसानलाई विषादीको प्रयोगबारे यसका बिक्रीकर्ताले सहजै परामर्श दिने गरे पनि ‘वेटिङ’ (पर्खने समय) का बारेमा जानकारी नदिँदा विषादी प्रयोग नगरिने सागमा पनि अत्यधिक विषादीको मात्रा देखिन थालेको छ । सरकारले तरकारीमा विषादीको प्रयोगबारे मापदण्ड निर्धारण गरेको छ । जस अनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ तर सागमा ९९ प्रतिशतसम्म विषादीको अवशेष पाइएको घटना छ । 

तरकारीको अत्यधिक उत्पादन हुने जिल्लामा रहेका कृषि विकास कार्यालय र कृषि ज्ञान केन्द्रले विषादी तथा मलखाद विक्रेतालाई समय समयमा विषादी हालेपछि कुर्ने समयका बारेमा तालिम दिने गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । 

काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले हरेक वर्ष बिउबिजन तथा बाली बिरुवा बिक्रीकर्ताले अधिकारकर्मीसँग विषादीको प्रयोग र कुर्ने समयका बारेमा परामर्श र अन्तर्क्रिया गर्र्ने गरेको उल्लेख गर्नुभयो । “कृषिसँग सम्बन्धित निकायको किसानसम्मको पहुँचमा निरन्तर कमी आउन थालेपछि यस्तो समस्या झन् बढेको छ,” दवाडीले भन्नुभयो । एग्रोभेट पनि सेवामूलकभन्दा नाफामूलक हुने भएकाले परामर्शभन्दा व्यापारमै प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो । किसानले व्यावसायिक रूपमा खेती गर्दा उन्नत र धेरै फल्ने बिउमा ध्यान दिँदा रोग र किराको प्रयोग धेरै देखिने गरेको छ । रैथाने बिउ स्थानीय हावापानी अनुकूल हुने र रोग किरा सहन सक्ने हुन्छन् तर कम उत्पादन हुने भएकाले किसान त्यतातिर खासै आकर्षित देखिएका भने छैनन् । तीन तहको सरकार भएपछि किसानसँग सरकार र कृषि प्राविधिक नजिक हुनुपर्नेमा झन् टाढा भएको उहाँले उल्लेख गर्नुभयो । 

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।