तिम्रो चर्चा परिचर्चा, निकै सुनेको थिएँ
बौद्धिक सिर्जनशील व्यक्तित्वको धनी
तिम्रा अनेक सिर्जनाहरू पढेको थिएँ
कति निश्चल सरलता
तिम्रो सिर्जनाले
साँच्चै नै मेरो मन छोइदियो
अनि त म हराउन थालेँ
प्रत्येक पानाहरूमा
मुग्ध थिएँ शब्द शब्दमा
कति प्रेणादायी भावनात्मक
तिम्रो सिर्जना त यस्तो छ
हृदय झन् कति कञ्चन होला
सोचिरहँे, कल्पनामा डुबिरहेँ
प्रेरणाको आशा राख्दै
तिमीलाई भेट्ने उत्सुकता
मनमा खल्बलिएका अनगन्ती वेदनाहरू
तिमी समक्ष पोख्ने मेरा सङ्कल्पहरू
भेटेपछि व्यर्थ रहे
सिर्जनामै रमाएको थिएँ,
त्यसैमा सीमित थियो
बरु नभेटेकै जाति थियो,
मैले सोचेभन्दा बेग्लै रहेछौ
त्यो आँखामा निहालेर हेरेँ
कति कठोरता तिम्रो बोलीमा
कति अभद्र व्यवहार
कहाँ थियो सिर्जनाका ती प्रेरणाहरू
कहाँ थियो तिमीभित्र त्यो पीडा
अनि त्यो कोमलता
उफ् ...!
के तिमी त्यही मर्मस्पर्शी सिर्जना रच्ने
फूल कमल नै हौ त ?
बुटवल, हाल क्षेत्रपाटी काठमाडौँ