• १३ साउन २०८१, आइतबार

‘थप सुरक्षित श्रम गन्तव्य खोज्दै छौँ’

blog

कैलाली समाचारदाता

धनगढी, असार २८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने युवाको सुरक्षालाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभएको छ । बेलायत, जापानसहितका अन्य सुरक्षित गन्तव्य मुलुकमा समेत श्रम बजारको खोजी भइरहेको मन्त्री कुँवरले बताउनुभयो ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुँवरले भन्नुभयो, “विदेश जाने युवालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा ध्यान दिइरहेका छौँ ।” उहाँले भन्नुभयो, “विदेशबाट सीप सिकरे आएकालाई नेपालमा काम दिन नयाँ नीति बनाएका छौँ । त्यसले पनि स्वदेशमै बस्ने वातावरण बनाउने छ ।” 

उहाँले श्रम सम्झौता नभएका असुरक्षित मुलुकमा नेपाली महिलालाई भारतको बाटो हुँदै लगिने गरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसलाई रोक्नका लागि सहयोग गर्न नेपालस्थित भारतीय राजदूतलाई आग्रह गरेका छौँ ।”

उहाँका अनुसार सरकारले ७५३ वटै पालिकामा श्रम डेस्क स्थापना गर्दैछ । जसले को कहाँ गयो भन्ने थाहा पाउन सकिन्छ । उहाँले भन्नुभयो, “भारत जानेलाई पनि कसरी सुरक्षित बनाउने भन्नेमा राजदूतसहितका निकायसंँग छलफल भइरहेको छ ।”