• ८ असार २०८१, शनिबार

जितको मुस्कान

blog

 लक्ष्मी खतिवडा 

मुस्कान खातुन अहिले एसिडसम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा व्यस्त छिन् । यतिबेला उनी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ प्रेरणाको स्रोत बनिरहेकी छिन् । जीवनको अप्ठेरो अवस्थाको बीचमा पनि हिम्मत र साहस जुटाएर अघि बढेकै कारण मुस्कान अन्तर्राष्ट्रियस्तरमा साहसी महिलाका रूपमा चिनिन सफल  भइन् । 

 मुस्कान १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परिन् । वि.सं. २०७६  भदौमा उनलाई आफ्नै केटा साथीले प्रेम प्रस्ताव अस्वीकार गरेको बाहना बनाएर एसिड खन्याएका थिए । हाल उनी काठमाडौंस्थित ब्राइट फ्युचर स्कूलबाट एसईई दिएर  बसेकी छ्नि । यो फुर्सदको समयलाई उनले अत्यन्तै प्रेरणादायी कार्यमा उपयोग गरिरहेकी छिन् ।  

एसिड आक्रमण लगत्तै उनी लगभग एक वर्ष जति अस्पतालमा उपचाररत भइन् । अनुहार र शरीरमा गहिरो चोट लागेर पीडित भए पनि एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा उनले निरन्तर आवाज उठाउँदै आइन् । फलस्वरूप सन् २०२१ मा उनले अन्तर्राष्ट्रियस्तरको साहसी महिला पुरस्कार पाउन सफल भइन् । 

व्यक्तिगत जोखिम र त्याग, शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा  वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने महिलालाई अमेरिकाले “इन्टरनेशनल ओमन अफ इनकरेज अवार्ड”  नामक पुरस्कारले सम्मान गर्दछ । अन्तर्राष्ट्रिय साहसी महिलाका रूपमा उक्त पुरस्कार पाउने मुस्कान अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन् ।

डाक्टर बन्ने चाहनासँगै अब मुस्कान हिंसापीडित दिदीबहिनीको आवाज बनेर सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी काम गरेर अघि बढ्न चाहन्छिन् । 

मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि आवाज उठाइन् । उनले  तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न अन्तर्राष्ट्रिय रूपमा नै सहयोगका लागि आह्वान गरिन् । त्यसपछि अपराधीलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी भयो । लामो समयको सङ्घर्षपछि देशमा कानुनी रूपमा नै परिवर्तन ल्याउन मुस्कानको पहल नै महìवपूर्ण थियो । 

अमेरिकी सरकारले दिने प्रतिष्ठित पुरस्कार पाएपछि उनलाई यो क्षेत्रमा अझै धेरै काम गर्न हौसला मिलेको बताउने मुस्कानका लागि अनुहारको दागले जीवनमा अघि बढ्ने साहस र शक्ति दियो । नेपालमा महिला तथा किशोरीहरूको अधिकारलाई प्रोत्साहन गर्न पाउँदा उनी निकै खुसी छिन् । मैलेजस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु । लक्ष्य र उद्देश्यमा पुग्न अझै बाँकी छ । उनले भनिन्, ‘मेरो अनुहारको दागलाई मैले आत्मविश्वास र मुस्कानले जित्न चाहन्छु । एसिड आक्रमणपछि मेरो अनुहारमा कहिल्यै नमेटिने दाग त बस्यो तर मैले देशदेखि विदेशसम्मका नेपालीहरूबाट पाएको माया, साथ, सहयोग र हौसलाले मलाई सधैँ अगाडि बढ्न र केही नयाँ काम गर्न प्रेरणा मिलिरहेको छ ।’

 कुनै पनि प्रकारको हिंसामा परेकालाई परिवार, समाज र न्यायिक निकाय सबैको सहयोग भयो भने मात्र अपराधीलाई कमजोर बनाउन सकिने उनको अनुभव थियो । “हामी लुकेर बसे त अपराधीको जित हुन्छ । अपराधीलाई कहिल्यै जित्न दिनु हुँदैन । हामी पीडितले नै जितेर समाजमा अरूका लागि पनि प्रेरणाको स्रोत बन्ने हो ।” मुस्कानले निडर भएर आफूभित्रको बलियो आत्मविश्वास प्रकट गरिन् ।  अहिले उनी विभिन्न विद्यालयमा एसिडसम्बन्धी जनचेतनामूलक कार्यक्रममा भाग लिँदै आएकी छ्नि । सानै उमेरमा विभिन्न पीडाका बीचमा पनि उनले जुटाएको साहस हामी सबैका लागि  प्रेरणादायी छ ।  

उनले देशलाई नै अन्तर्राष्ट्रियस्तरमा साहसी महिलाका रूपमा चिनाउन सफल भइन् । मुस्कानको विचारमा जीवनमा आइपर्ने समस्या सानो होस् या ठूलो, आत्तिएर कहिल्यै पछि हट्न  हुँदैन । 

उनले विद्यालयहरूमा पनि यस्तै सुझाव दिने गरेको बताइन् । 

अहिले विद्यालयस्तका विभिन्न कार्यक्रममा जाँदा धेरै साना विद्यार्थीहरू मुस्कानलाई देखेर उत्साहित हुन्छन् । जीवनमा सुखदुःखको जस्तो अवस्था आए पनि मान्छेले धैर्य भएर काम गर्नुपर्छ भन्ने कुरा नै विद्यार्थीहरूका लागि मुस्कानले दिने  महìवपूर्ण सन्देश हो ।  

कक्षा ९ मा पढिरहँदा उनको डाक्टर बन्ने सपना थियो तर तेजाब आक्रमणपछि उनको रहरहरू र सोचमा धेरै परिवर्तन भएको छ । डाक्टर बन्ने चाहनासँगै अब मुस्कान हिंसापीडित दिदीबहिनीको आवाज बनेर सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी काम गरेर अघि बढ्न चाहन्छिन् । कहिलेकाहीँ गल्ती नगर्दा पनि सजाय भोग्नुपर्ने रहेछ । आउने दिनमा मेरोजस्तो पीडा कुनै भाइबहिनीलाई नपरोस् उनको यही चाहना छ । मुस्कानको विचारमा कुनै पनि प्रकारको सम्भावित अपराधबाट सुरक्षित रहन विद्यालयस्तरमा यस्ता गहन विषयमा विद्यार्थीहरूलाई जानकारी दिने, पर्याप्त छलफल गर्नेजस्ता शिक्षाप्रद र सन्देशमूलक कार्यक्रम गरिरहनुपर्छ  ।