डा. तुलसी भट्टराई
“एक्लो बृहस्पति झुटो हुन्छ भनेर– नयाँ भावना, नौलो धारणा र नवीन आविष्कारलाई प्रकाशित हुन, प्रसारित गरिन, हलक्क बढ्न यथास्थितिवादले जुनसुकै समाजमा सधैँ रोकेको हुन्छ । यसरी ज्ञानका उज्याला किरणहरूलाई छेक्न खोज्नु हुट्टिट्याउँले सगर थाम्नु जस्तै हो । तापनि हुट्टिट्याउँहरूकै बिगबिगीमा तपाईं बाँच्न, सङ्घर्ष गर्न र सफलताका भ¥याङहरू उक्लन बाध्य हुनुहुन्छ । तर पछि गएर आजको एक्लो बृहस्पति नै पूज्य हुन्छ । अनुकरणीय र स्मरणीय हुन्छ । इतिहासको निर्माण यसरी नै हुँदै आएको छ ।”
समीक्षक जयदेव भट्टराईको ‘साहित्यकार परिचय र अभिव्यक्ति’ २०५४ मा व्यक्त भएका डा. तारानाथ शर्माका यी विचारसँग यतिबेला– शर्माजीका बारेमा केही शब्द पुष्प तयार पार्दैछु ।
वि.सं. १९९१ असार ९ गते बरबोटे इलाममा जन्मिएका डा. तारानाथ उपाध्याय भण्डारी– का माता देवकी र पिता प्रजापति भण्डारी हुन् । अङ्ग्रेजीमा स्नातकोत्तर र भाषा विज्ञानमा विद्यावारिधि (पीएचडी) डा. शर्माको ‘नौलो पाइलो’ नामक पत्रिका सम्पादनसँगै– नेपाली भाषामा झर्राेवादी– आन्दोलन चलाएर एउटा छुट्टै पहिचान बनेको हो । झर्राेवादकै कारण त्यसबेला आफ्नो नाम ‘ताना सर्मा’ प्रचलित गराए पनि साहित्य क्षेत्रमा तारानाथ शर्मा नै स्थापित भयो ।
वि.सं. २००८ मा नै ‘इलाम’ शीर्षकको निबन्ध प्रकाशित भए पनि पहिलो कृतिचाहिँ २०१८ मा प्रकाशित ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । ‘घोत्ल्याइँहरू’ समालोचना कृति २०२१ मा प्रकाशित भएपछि यता करिब पौने दर्जन समालोचना र समालोचनात्मक कृतिहरू प्रकाशित छन् ।
डा. शर्माको मूल विधा समालोचना मानेर वरिष्ठ समालोचक सम्बोधन पनि गरिन्छ । त्यस्तै एक दर्जन जति निबन्ध र यात्रा संस्मरणात्मक कृतिका कारण डा. शर्मालाई वरिष्ठ निबन्धकार, यात्रा संस्मरणात्मक स्रष्टाका रूपमा पनि नाम पुकारिन्छ । ‘बेलायततिर बरालिँदा’ नामक यात्रा संस्मरण–कृतिका निम्ति २०२६ मा मदन पुरस्कार प्राप्त गर्ने डा. शर्माको पाताल प्रवास– यात्रा निबन्धले पनि पाठकहरूको मन तानेको हो ।
डा. शर्माद्वारा रचित ‘सुली’ उपन्यासले तीसको दशकका तन्नेरी पाठकहरूमा निकै चर्चा पाएको हो । यसबाहेक अरू पनि चारवटा उपन्यास र दुईवटा कथा सङ्ग्रह पनि प्रकाशित छन् । आधा दर्जन जति भाषा र व्याकरणका कृतिहरू छन् । त्यस्तै आधा दर्जन अङ्ग्रेजी भाषामा
लिखित कृतिहरू पनि छन् । एक दर्जनभन्दा बढी अनुवाद र सम्पादनका कृतिहरू छन् ।
एक दर्जन जति विभिन्न पत्रपत्रिकाको सम्पादन पनि भएको छ । डा. शर्माबाट निकैवटा पाठ्यपुस्तकको संयोजन र लेखन भएको छ । केही कृतिहरू अझ पनि प्रकाशित हुन बाँकी छन् । एउटा मानक शब्दकोश– नेपाली– अङ्ग्रेजी तयार गर्ने अठोटका साथ काम गर्दै गरेको कुरा पनि चर्चामा आएको हो ।
अमेरिकामा करिब एक दशक बसेका डा. शर्मासँग बेलायत र अन्य युरोपेली र एसियाली करिब दुई दर्जन मुलुकहरूमा यात्रा गरेको र विभिन्न विश्वविद्यालयहरूमा पढाएको कार्यपत्रहरू प्रस्तुत गरेको अनुभव पनि छ । धेरै अनुभव र संस्मरणहरूबारे केही कृतिहरू रच्ने अभियान पनि रहेको थियो ।
“नेपाली भाषा जिउँदो भाषा हो, यस जिउँदो भाषामा लेखिएको साहित्य जति प्यारो छ, अब लेखिने साहित्य पनि उत्तिकै आकर्षक हुनेछ । म साहित्यमा मानवको भित्री मर्म चाहुन्छ ।” डा. शर्माको यो भनाइ निकै मर्मस्पर्शी र प्रेरणाप्रद छ ।
डा. शर्माको व्यक्तित्व स्पष्टवादी–झर्राेवादी– स्वरूपकै हो । ज्यादै भावुक प्रकृतिका शर्माजीमा नेपाली भाषा र साहित्यका बारेमा कुरा कहिलेकाहीँ त गर्दागर्दै गम्भीरता भरिएर बोली नै रोकिने गथ्र्याे । एकैछिनमा रिसाउने र उतिबेलै खुसाउने अनौठो स्वभाव हो शर्माजीको । “म बेलायतकै स्थायी बासिन्दा हुनसक्थेँ । अमेरिकामै रमेर राम्रो सम्पत्ति आर्जनसँगै उतै जीवन बिताउने थिएँ । तर मैले नेपाल आमाकै सेवा गर्नुपर्छ भनेर दृढता साथ यहीँ आएँ । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा जीवन अर्पण गरेँ । आफू यसैमा रमाएँ । तर खै कसैले, कतैबाट पनि मेरो मूल्याङ्कन भएन । सबैले मेरो खेदो खन्ने काम मात्रै गरे । मैले के बिराएको छु र ।
के नेपाल र नेपाली भाषा साहित्यको सेवा गर्नु, नेपाल र नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बाटो बनाउनु गल्ती हो त ? म त यही काम मात्र गर्दैआएको छु ... ।”
शर्माजीले यस्ता प्रसङ्ग निकालेर कहिलेकाहीँ ज्यादै भावविह्वलता देखाउने गर्नुहुन्थ्यो । लेखनमा झर्राेपना– सरलता र सरस शैली भएझैँ बोलचालमा पनि स्पष्टवक्ताका रूपमा उहाँलाई बुझ्न जान्न सकिन्छ । मनमा लागेका र देखेका कुरा भनिहाल्ने बानीका कारण कतिपयलाई केही अप्ठ्यारो पनि लाग्ने गरेको हो ।
“रिमालका कवितामा प्रकृति सुन्दर लयहरूभन्दा पनि सुन्दर गुणी मानहरूभन्दा पनि हितकार निर्दाेष जीवनको प्रेरणा पाइन्छ । प्रकृतिका योगदानहरूमा कविताको जस्तो अमृतमयता हुँदैन र प्रकृतिभन्दा कवि ठूलो हो भन्ने भाव रिमालका कवितामा प्रकट हुन्छ ।
रिमालको समयमा लेख्ने अरू कविहरू रोमान्सेली पलायनवादबाट प्रभावित छन् । राणाकालीन बेथितिबाट वाक्क भएर उनीहरू प्रकृतितर्फ खिचिएका छन् । प्रकृतिको शरणमा पुगेका छन् । प्रकृतिबाटै प्रेरणा, समस्याको समाधान र शान्ति खोजेका छन् । प्रकृतिको सौन्दर्यमा रमाएका छन् । प्रकृतिकै काखमा रमेर आफ्ना सामाजिक र व्यक्तिगत पीडाहरूलाई बिर्सेका छन् । तर रिमालले भने मानव मूल्यलाई प्रकृतिको मूल्यभन्दा माथि राखेका कारण उनका कविता नेपाली साहित्यको अमूल्य रचना भएको छ ।”
उपर्युक्त कथन डा. शर्माद्वारा लिखित “नेपाली गद्य कविताको प्रथम प्रयोग कसले ग¥यो” शीर्षक समालोचनात्मक रचनाको अंश हो । यो शर्माजीको लेखन शैलीको उदाहरणका रूपमा ।
खरो–दरो समालोचक भनेर डा. शर्माको प्रसिद्धि थियो कुनै बेला । अरूभन्दा फरक र निर्भीक समालोचक भनेर चर्चा हुन्थ्यो ।
२०२० यताका नेपाली भाषा साहित्यका विद्वान्–सर्जकहरूमध्ये औँलामा गनिनेभित्र– अर्थात् पाँच छ जनाभित्र डा. शर्माको नाम आउँछ ।
नेपालीका सबै विधा– कथा, उपन्यास, यात्रा संस्मरण, निबन्ध, लेखरचना, समालोचनामा कलम चलाएका डा. शर्माको पाठ्यपुस्तक निर्माणमा पनि अग्रस्थान रहेको हो । सबै कृतिहरू जोड्दा सयकै हाराहारी पुग्छन् । नेपाली वाङ्मयमा यति धेरै कृति रचना गर्ने स्रष्टाहरू कमै छन् जस्तो लाग्छ ।
यस्ता विशिष्ट स्रष्टा साधकको देहावसानबाट सिङ्गो वाङ्मय क्षेत्रमा नै अपूरणीय क्षति पुगेको छ । नेपाली जगत्ले एउटा मूर्धन्य स्रष्टा गुमाएको छ । सबै स्रष्टा समुदाय र परिवारमा शोक छाएको यस दुःखद क्षणमा उहाँप्रति हार्दिक श्रद्धासुमनका यी केही शब्द अर्पण गर्दछु ।