• १९ असोज २०८१, शनिबार

यू–२० साफ च्याम्पियनसिप : राम्रो नतिजा ल्याउने प्रशिक्षक केसीको दावी

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २६ गते । जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।

प्रशिक्षक केसीले टोलीले साफ उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको पनि बताउनुभयो । केसीले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राख्नुभएको हो । ‘हामी बिहान र बेलुका प्रशिक्षण गरिरहेका छौं । टोलीका सबै खेलाडीले कडा मिहिनेत गरिरहेका छन् । नयाँ इतिहास रच्ने हिसाबले तयारीलार्य तिब्रता दिएका छौं,’ केसीले भन्नुभयो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरबाट खुला प्रतिस्पर्धा गराई यू–२० टोलीको निर्माण गरेको हो । कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता प्रभावित बनेका कारण खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको हो । अहिले ३० जना खेलाडी एन्फा कम्प्लेम्समा अभ्यास गरिरहेका छन् । 

‘उमेर समूहमा विगतमा नेपालले राम्रो नतिजा निकालेको अवस्था छ । यसपटक खेलाडी छनोटदेखि टोलीको निर्माणसम्म आइपुग्दा धेरै मिहेनत गरेका छौं । खेलाडीको अभ्यासबाट सन्तुष्ट छु । यस टोलीले राम्रो नतिजा ल्याउनेमा म विश्वस्त छु,’ केसीले भन्नुभयो । 

केसीले सुरुमा सात सय खेलाडीबाट ४१ खेलाडी प्रारम्भिक छनोट गरिएको र त्यही खेलाडीबाट अहिले ३० जनालाई बन्द प्रशिक्षणमा राखिएको जानकारी पनि दिनुभयो । टोलीका शहीद स्मारक ‘ए’ डिभिजन खेलेका अनुभवी तथा ‘बी’ र ‘सी’ डिभिजन खेलेका खेलाडीको संयोजन  छ । 

यू–२० साफमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले भाग लिने पक्का भएको छ । नेपालले उद्घाटन खेलमा जुलाई २५ तारिख माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकासँग जुलाई २७, तेस्रो खेल भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ तारिख खेल्नेछ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोलीबीच अगस्ट ५ तारिख फाइनल भिडन्त हुनेछ । साफले यस प्रतियोगितालाई एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ । नेपाल  एसियन कप छनोटको समूह  ‘बी’ मा परेको छ ।

नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछन् ।