• ७ जेठ २०८१, सोमबार

निर्वाचन लक्षित प्रशिक्षणमा माओवादी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६  गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन लक्षित प्रशिक्षण सुरु गर्ने भएको छ । शनिबार पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले साउनदेखि सबै प्रदेशमा सङ्घीय र प्रदेश निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

स्थायी समिति सदस्य कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुनेछ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २४ गते लुम्बिनी प्रदेशमा प्रशिक्षण हुने भएको छ । त्यस्तै २८ गते सुदूरपश्चिम प्रदेशमा, २९ गते कर्णालीमा र ३० गते विशेष प्रदेशमा प्रशिक्षण हुनेछ । भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको महराले जानकारी दिनुभयो । 

बैठकले निर्वाचनसम्मका लागि प्रदेश समन्वय समिति गठन गरेको छ । पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको हो । महराले भन्नुभयो, “केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने गरी प्रदेश समन्वय समिति बनाएका छौंँ यो चुनावसम्मका लागि मात्र हो, यसले केन्द्र र प्रदेशमा समन्वय गर्नेछ ।” 

बैठकले विद्यार्थी सङ्गठनमा देखिएको विवाद र समस्या समाधान गर्न पनि बैठकले समिति बनाएको छ । समितिमा पूर्वविद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सदस्य हुनुहुन्छ । उक्त समितिले सुझाव दिएपछि स्थायी समितिले निर्णय गर्ने महराले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको भ्रातृ 

सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)को पदाधिकारी चयनमा विवाद भएपछि अहिले उपाध्यक्ष पवन कार्कीले समानान्तर समिति बनाउनुभएको छ । कार्कीले अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा पदाधिकारी चयन विधि र न्यायासम्मत नभएको भन्दै समानान्तर समिति बनाउनुभएको छ । यद्यपि अध्यक्ष सिंहले भने कार्कीसहित नौ जना केन्द्रीय नेतालाई निलम्वन गर्नुभएको छ ।  बैठकपछि पत्रकारसँग कुराकानी गर्दै महराले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो १०-१५ दिनमा टुङ्गो लगाइने बताउनुभयो ।