• १४ वैशाख २०८१, शुक्रबार

जुम्ल्याहा दाजुभाइले बनाए ‘टी-स्क्यान मेसिन’

blog

जुम्ल्याहा दाजुभाइ लवकुस र उहाँहरुले बनाउनुभएको टी–स्क्यान मेसिन । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता

गुल्मी, असार २५ गते। गुल्मी जिल्लाको मालिका गाउँपालिका-७ घर भएर बुटलमा बस्दै आउनुभएका १८ वर्षीय जुम्ल्याहा दाजुभाइ लव–कुस पन्थीले नयाँ–नयाँ प्राविधिक मेसिन बनाउनु भएको छ। विगतमा उहाँहरु रोबोट बनाएर चर्चामा आउनुभएको थियो। उहाँहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट बनाउनुभएको थियो। 

कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगका लागि पहिलो नेपाली नर्स रोबोट पनि बनाउनुभयो। जसका कारण थुप्रै पुरस्कार र सम्मान पाउनुभएको छ। नयाँनयाँ आविष्कार गर्दा प्रोत्साहन मिले पनि आर्थिक रुपमा भने नयाँ आविष्कार गर्न कतैबाट साथ सहयोग नभएको गुनासो उहाँहरुको छ। 

आफ्नो लागि आफैले केही सोच्नुपर्छ भनेर नेपालमै पहिलो पटक पछिल्लो समय नौलो प्रविधिमा चिया बेच्ने मेसिन बनाउनुभएको हो। लवकुशका दाजु अर्जुन पन्थीका अनुसार उक्त मिसिनको नाम टी-स्क्यान राखिएको छ। यो मेसिनको मूल्य २९ हजार ९९९ मात्र रहेको उहाँको भनाइ छ। 

टी–स्क्यान आफै चिया बनाएर बिना कसैको सहायता बेच्न सक्ने नेपालमै बनेको पहिलो भेन्डिङ्ग मेसिन हो। विश्व बजारमा तुलना गरेर हेर्ने हो भने बिना नगद, क्वोइनको प्रयोग गरेर क्यूआर स्क्यानको साहयताले चिया बेच्ने मेसिन कतै पनि नबनाइएको उहाँहरुको दाबी छ। 

मेसिनको माथिलो भागमा क्यूआर कोर्ड राखिएको हुन्छ। जसमा ग्राहकले इ–सेवा वालेट तथा मोवाइल बैंकिङ साहयताले त्यस कोर्डलाई स्क्यान गर्नुहुन्छ। स्क्यान गरेको केही समयमै मेसिनको माथिल्लो भागमा रहेको नोजलबाट चिया कपमा नभरिदासम्म झर्छ अनि ग्राहकले चिया पिउनेछन्, जुम्ल्याहा दाजुभाइले बताउनुभयो। यो प्रक्रिया निकै छिटो हुने गर्दछ। यसमा एकचोटी पाकेको चिया कम्तीमा सात घण्टासम्म एउटै तापक्रममा रहने हुँदा जतिबेला पनि फ्रेस हुने उहाँको भनाइ छ। 

यो मेसिन किनेर  सर्वसाधारणले पनि विभिन्न चोक, अस्पतालमा कुरुवा बस्ने ठाउँ, एयरपोर्ट, बसपार्क लगायतका स्थानमा राखेर मासिक एक लाखसम्म आम्दानी गर्न सक्ने कुशको भनाइ छ। 


जुम्ल्याहा दाजुभाइ लवकुसले बनाएको टी-स्क्यान मेसिन। तस्बिर : रमेश विश्वकर्मा