काठमाडौँ, मङ्सिर २६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमालेको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले मङ्सिरको २७ देखि २९ गतेसम्म हुने ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।
विधान अधिवेशन गरिसकेको एमालेको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि दबाब बढेका बेलामा निर्धारित समयभन्दा एक वर्षअघि नै यो महाधिवेशन हुन लागेको हो । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा हुनुहुन्छ । उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।
मुलुकको युवाशक्तिलाई स्थापित गर्ने दायित्वसमेत बोकेको यो महाधिवेशनप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढेको छ । बिहीबार सम्पादकसँग भएको संवादमा एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभयो । उहाँलाई चुनौती दिन वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्व हस्तान्तरणको मुद्दालाई पहिलो प्राथमिकता बनाउनुभएको छ । कम्युनिस्ट पार्टी स्थापनादेखि एमालेको ११ औँ महाधिवेशनसम्म आइपुग्दा टुुटफुट र आन्तरिक प्रतिस्पर्धा तीव्र भएको पाइएको राजनीतिक विश्लेषक एवं समाजशास्त्री विदुर तिमल्सिनाले बताउनुभयो । उहाँले अहिले पनि कम्युनिस्टका दर्जनौँ पार्टी रहेको र आफूले पद नपाएपछि एउटा समूह बनाएर चोइटिने परम्पराले कम्युनिस्ट पार्टीलाई नराम्रोसँग गाँजेको उल्लेख गर्नुभयो । यसबाट पटक पटक एमाले प्रभावित भएको छ ।
२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको थियो । २०१० माघ १० गते भएको नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव हुनुभएको थियो । २०१४ जेठमा भएको दोस्रो महाधिवेशनबाट केशरजङ्ग रायमाझीलाई महासचिव बनायो । २०१९ वैशाख १४ मा भएको तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्यलाई महासचिव बनायो ।
त्यसपछि २०४६ साल भदौ ९ गते सिराहामा भएको नेकपा (माले) को महाधिवेशनबाट मदन भण्डारी महासचिव बन्नुभयो । २०४९ माघ १४ मा काठमाडौँमा भएको पाँचौँ महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव हुनुभयो । २०५४ माघ १२ गते बाँकेमा भएको छैटौँ महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव बन्नुभयो । २०५९ माघ १८ गते भएको महाधिवेशनबाट माधवकुमार नेपाल महासचिव बन्नुभयो । २०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनमा झलनाथ खनाल महासचिवमा विजयी हुनुभयो ।
२०७१ मा भएको नवौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष हुनुभयो । २०७८ मा भएको महाधिवेशनबाट पुनः केपी शर्मा ओली अध्यक्षमा विजयी हुनुभयो । ११ औँ महाधिवेशनमा पनि ओली अध्यक्षमा सशक्त उम्मेदवारका रूपमा देखिनुभएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका ओली र पोखरेल दुवैलाई यस पटक सहज भने छैन । जेनजी आन्दोलनपछिको अवस्थालाई हेर्दा महाधिवेशनमा आएका प्रतिनिधिको मनोभावनाले काम गर्ने समाजशास्त्री तिमल्सिनाले उल्लेख गर्नुभयो । “टाउको गनेर हुँदैन, प्रतिनिधिको मनोभावनाले निर्वाचनमा हारजितको निर्धारण गर्छ,” उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य, पोलिटब्युरो र पदाधिकारी हुन चाहने नेताले आन्तरिक लबिङ सुरु गरिसकेका छन् । युवा सङ्घ र अनेरास्ववियु तथा महिला सङ्घका नेतृत्वले केन्द्रीय कमिटीमा आउने तयारी गरिरहेका छन् । अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेता पदाधिकारी हुन खोजेका छन् । “आफूले खोजेको पद नपाएपछि ‘गुट’ अदलबदल हुन्छ । यसले समग्र निर्वाचनलाई असर पार्न सक्छ,” तिमल्सिनाले उल्लेख गर्नुभयो ।
पदाधिकारीको सङ्ख्या घटाएर १५ सदस्यीय बनाउने निर्णय एमालेको विधान महाधिवेशनबाट भएको छ । पदाधिकारी भइसकेका र हुन खोज्नेलाई व्यवस्थापन गर्न सकस भएपछि पदाधिकारी सङ्ख्या बढाउने माग अध्यक्ष ओली पक्षबाट नै भएको विश्लेषण गर्न थालिएको छ । त्यसबारे अध्यक्ष ओलीले केही प्रतिक्रिया दिनुभएको छैन ।
जेनजी आन्दोलनपछि सबैभन्दा धेरै सक्रिय बनेको एमालेलाई महाधिवेशनमा हजारौँ सङ्ख्यामा सल्लाघारीस्थित चौरमा कार्यकर्ता र जनसमुदाय उतार्ने चुनौती थपिएको छ । सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।
दिनरात नभनी एमालेका कार्यकर्ताले मञ्च व्यवस्थापन र अत्यावश्यक कार्य गरिरहेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उहाँले महाधिवेशन एमालेको पर्व भएकाले पर्वलाई हर्षाेल्लासले मनाउने बताउनुभयो ।
महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी दुई हजार एक सयभन्दा धेरै प्रतिनिधि सहभागी हुँदै छन् । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेका ७७ जिल्ला र सात विशेष जिल्ला गरी कुल ८१ वटा जिल्ला कमिटीबाट सङ्गठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि चयन भइसकेको जानकारी दिनुभयो ।