• १३ मंसिर २०८२, शनिबार

वैदेशिक रोजगारीको पीडा : आए पाँच सय बन्द बाकस

blog

चालुु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा फर्काइएको दर्दनाक चित्र देख्न सकिन्छ । 

काठमाडौँ, मङ्सिर १३ गते । विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको खुसीका बिचमा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमा नै उतै निधन भएर बन्द बाकसमा फर्काइने गरेका छन् । 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा फर्काइएको दर्दनाक चित्र देख्न सकिन्छ । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको ५१ करोड रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । 

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शवका काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । 

बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक श्रमिक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिँदै आएको छ ।  बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको सङ्ख्या जोड्ने हो भने विदेशमा हुने मृत्युको सङ्ख्या अझ बढी छ । यसै गरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका २९५ श्रमिकले न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपियाँसम्म आर्थिक सहायता दिइएको जनाइएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १५ हजार ३५८ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । 

चालु आवको चार महिनामा दुई लाख ८३ हजार ६१० युवा वैदेशिक रोजगारीमा जाँदा ५१० नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु हुनु सामान्य मान्न सकिँदैन । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताउनुभयो । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक 

उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ । रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षण मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । 

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा हुने मृत्युलाई पूर्ण रूपमा रोक्न नसके पनि केही हदसम्म रोक्न सकिन्थ्यो तर सरकारका जिम्मेवार निकायले पहल नगरेको परिणाम भएको उहाँको तर्क छ । बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति 

प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ५१७ नेपाली श्रमिकको मृत्यु भएको थियो । वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, हृदयाघात, आत्महत्याको ठुलो सङ्ख्या छ ।