लीलाधर वली
घोराही, मङ्सिर १२ गते । देउखुरीको गढवा गाउँपालिका–६, कुमाल गाउँमा प्रायः पुरुषले मात्र माटोका भाडा बनाउने काम गर्दै आएका छन् । भाडा बिक्रीका लागि महिलाले सहयोग गर्ने गरेपनि कुमाल समुदायको परम्परागत पेसाका रुपमा रहेको माटोका भाडा बनाउने काममा महिला संलग्न थिएनन् ।
तर विगत तीन वर्षदेखि कुमाल गाउँ निवासी ५१ वर्षीय कालिकादेवी कुमालले बिक्रीमा सघाउने मात्र होइन, माटोका भाडा बनाएर राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । गढवा गाउँपालिकाको आयोजनामा तीन वर्षअघि गाउँमा भएको तालिमबाट सिप सिक्नुभएको कुमालले अहिले त्यही सिपलाई व्यवहारमा उतार्दै मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।
गाउँपालिकालाई सेरामिक्स हब बनाउने उद्देश्यले सञ्चालन गरेको तालिममा २० जनाभन्दा बढी महिलाहरु सहभागी भए पनि सिकेको सिपलाई व्यवहारमा उतार्दै माटोका भाडा बनाएर आम्दानी गर्ने आफु मात्र भएको उहाँ बताउनुहुन्छ । गाउँमै माटोका भाडा बनाउने एक्ली महिलाका रुपमा रहनुभएकी कालिकादेवी भन्नुहुन्छ, ‘‘माटोका भाडा बनाउन थालेपछि आम्दानी मात्र होइन, गाउँमा पहिचान नै बद्लिएको छ । माटोका भाडा बनाउने कालिकादेवी भनेर अहिले गाउँमा चिनिने गरेकी छु ।’’
कालिकादेवीले मेसिनको सहायताले पाला, गमला, मट्का, घैटा, भुर्की, ठेकीलगायत अर्डर अनुसार विभिन्न प्रकार र साइजका भाडा बनाउने गरेको बताउनुुहुन्छ । सिजन अनुसार घरमा बत्ती बाल्नका लागि पाला, फूलहरु राखेर सजाउनका लागि गमला, गर्मी समयमा पानी राख्नका लागि घैटा, बिरयानी पकाउनका लागि मट्का, चियाका लागि कपसँगै भुर्की, ठेकीलगायतका भाडा बनाएर बिक्री गर्दै आउनुभएको कालिकादेवीले ३०/४० हजारसम्म हुने र वार्षिक रुपमा तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
कालिकादेवीका श्रीमान् कालु कुमालको पुर्खौली पेसा नै माटोका भाडा बनाउने हो । माटोका भाडा बनाउने सिप सिकेपछि अहिले घरमा श्रीमान–श्रीमतिसँगसँगै मिलेर माटोका भाडा बनाउने काम गर्ने गरेको बताउनुहुन्छ । माटोका भाडा अन्य सामाग्री बिक्री भए जसरी दैनिक रूपमा राम्रो आम्दानी हुने अवस्था नरहेपनि सिजन अनुसार पाला, गमला, घैटा, मट्कालगायतका बढी बिक्री हुने गरेको बताउनुहुन्छ ।
घरखर्चका जुटाउने मुख्य पेसा माटोका भाडा बनाउने पेसा रहेको भन्दै उहाँले भन्नुभयो, ‘‘हाम्रो जग्गा जमिन छैन । बस्ने बास मात्र हो, बाँकी आफुले बनाएका सामाग्री बिक्री गरेर परिवारको खर्च जुटाउने हो ।’’ दुई छोरासहित चार जनाको परिवारको आम्दानीको मुख्य स्रोत माटोको भाडा बनाउने भएको उहाँ बताउनुहुन्छ ।
पहिलेको तुलनामा अहिले माटोको भाडाको बजार घटेपनि बिक्रीका लागि सहजता भएको बताउनुहुन्छ । पहिले बिक्रीका लागि बोकेर बजारदेखि गाउँगाउँसम्म आफैँ जानुपर्ने बाध्यता रहेपनि अहिले त्यो अवस्था हटेको भन्दै भन्नुहुन्छ, ‘‘अहिले जति भाडा बनाए पनि घरबाटै बिक्री हुन्छन, बिक्रीका लागि कतै जानुपर्दैन ।’’
उहाँका अनुसार पछिल्लो समय माटोका भाडा बनाउनका लागि माटो र बनाएका भाडा पोल्नका लागि दाउराको समस्या भएको बताउनुहुन्छ । राम्रो माटो र काठ वनमै पाइने भए पनि सामुदायिक वनले कडाई गर्दा प्रयाप्त मात्रमा माटो र काठ पाउन समस्या रहेको बताउनुहुन्छ । माटोका भाडा दाङका विभिन्न बजारसँगै कोहलपुर, सुर्खेत, प्युठानलगायतका ठाउँबाट अर्डर आउने गरेको बताउनुहुन्छ ।