• १२ मंसिर २०८२, शुक्रबार

गुल्मी प्रहरीले लैङ्गिक हिंसाविरुद्ध प्रहरीलाईनै सचेत बनाउँदै

blog

गुल्मी प्रहरीले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) मङ्सिर १२ गते ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै प्रहरी कर्मचारीलाई लैङ्गिक हिंसाको बारेमा सचेतना दिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा लैङ्गिक हिंसा, प्रकार, अवस्था, न्यूनीकरणमा प्रहरीको भूमिका, मानव अधिकार लगायतका विषयमा अभिमूखिकरण गरिएको थियो ।

लैङ्गिक हिंसापीडित घटनापछि सबैभन्दा पहिला प्रहरीसँग ठोकिने भएकाले प्रहरी स्वयलाई पनि अभियान र सन्दर्भको बारेमा अभिमूखिकरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । प्रहरीको लैङ्गिक नीति भित्र पनि लिङ्गको आधार कसैलाई विभेद गर्न नपाइने भएकाले प्रशिक्षण सञ्चालन गरिएको सारुले बताउनुभयो ।

‘प्रविधीको सही प्रयोग गरौ : लैङ्गिक हिंसाको अन्त्य गरौ’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको छ । अभियानका अवसरमा जिल्लाका स्थानीय तहहरुले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतनामूलक प्रभातफेरी, प्रतिवद्धतासहितको हस्ताक्षर अभियान लगायतका कार्यक्रम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । जसमा ६५ वटा मिलापत्र र बाँकी थप न्यायीक प्रक्रियामा अगाडि बढे । सोही आर्थिक वर्षमा ४० वटा घरेलु हिंसाका ठाडो उजुरी परेका थिए । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा १०९ घरेलु हिंसाका उजुरी दर्ता भएका थिए । जसका ७१ मिलापत्र र ३७ उजुरीका पीडित अदालत गए भने सोहि वर्ष २८ ठाडो उजुरी दर्ता भएका थिए ।

यो आर्थिक वर्षको कात्तिक महिनासम्म २९ घरेलु हिंसाका घटना दर्ता भएका छन् । कुटपीट, पालनपोषण नगर्ने, धम्की, सामाजिक सञ्चालन दुरुपयोग, परपुरुष वा परस्त्रीसँग लागेका भनेर धेरै जस्तो उजुरी आउने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत बविता श्रेष्टले जानकारी दिनुभयो ।

घरेलु हिंसासहित ठाडो उजुरीहरु पनि बढ्न थालेका छन् । घरभित्रको समस्याहरु सकेसम्म मिलापत्रको माध्यमबाट छलफल गराउँदा पारिवारीक बिचलन नहुने र मिलापत्र गरेर गएकाहरु अधिकांश मिलेर बस्ने गरेको पाइएको श्रेष्ठले बताउनुभयो । उहाँले प्रहरीमा नमिल्नेहरु मानसिक रुपमै सम्बन्ध बिच्छेदका लागि तयार भएर प्रक्रिया पूरा गर्न मात्र प्रहरीकोमा आउने गरेको बताउनुभयो ।