घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), मङ्सिर १२ गते । कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति बन्ने भएको छ । लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बन्न लागेको हो ।
गुडनेवर्स इन्टरनेसनल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरेर प्रारम्भीक छलफल समेत भइसकेको छ । तीन वटै पालिकामा निर्माण हुन लागेको नीतिले अपाङ्गता भएका बालबालिकाको हक, अधिकार र सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनी रूपमा संरक्षण गर्न, सुनिश्चित हुने विश्वास गरिएको छ । गुडनेवर्स इन्टरनेसनलका कार्यक्रम संयोजक अरूण चौधरीले भन्नुभयो, “अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ कैलालीका तीन वटै पालिकामा स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका छौँ ।” संयोजक चौधरीले पालिकामा अपाङ्गता बालबालिकासम्बन्धी नीति बनेपछि उनीहरूको राज्यका सार्वजनिक सेवा सुविधा र अवसरमा समान पहुँच पुग्ने विश्वास लिएको बताउनुभयो
लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का दृष्टिविहीन प्रभुनाथ उपाध्यायले यस नीतिले अपाङ्गता भएका बालबालिकालाई सहयोग पुग्ने बताउनुभयो । थापापुरका दृष्टिविहीन चक्रबहादुर मल्लले नीतिमा भएका कुरा पालिकाले सबै कार्यान्वयन गर्ने हो भने अपाङ्ग भएका बालबालिकालाई जीवनयापनमा केही सहज हुने बताउनुभयो । अपाङ्ग महिला देवु टमटाले सरकारले नीति राम्रो बनाए पनि कार्यान्वयनको पाटो फितलो हुँदा आफूले दुःख पाइरहेको गुनासो गर्नुभयो । लम्कीचुहा नगरपालिकामा स्थानीय ऐन लागु भएपछि धेरै कानुन तथा कार्यविधि निर्माण भएको भए पनि अपाङ्गता भएका बालबालिकाको स्थानीय कानुन नहुँदा समस्या भएको थियो ।
लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुष्मा महता केसीले लम्कीचुहा नगरपालिकाले हालसम्म १२ वटा ऐन निर्माण, कार्यविधि र नीति ८७ गरेर जम्मा ९९ वटा नीति, नियमावली र कार्यविधि निर्माण गरेको जानकारी दिनुभयो । अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति बनाउनका लागि जनप्रतिनिधि र सरोकारवालासँग दुई/तीन पटक विभिन्न चरणमा छलफल भइसकेको र अब नीति निर्माणको तहमा पुगेको छ ।