• १४ वैशाख २०८१, शुक्रबार

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा दुई जना कारागार चलान

blog

देवराम प्रसाद यादव

सप्तरी असार २३ गते । सप्तरी जिल्ला अदालत राजविराजले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा रामदेव साहका छोराछोरीलाई पुर्वपक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले ठगी तथा आपराधिक विश्वासघात मुद्दाका जिल्लाका खडक नगरपालिका ७ कल्याणपुर निवासी रामदेव साहका छोरा नन्दकिशोर साह र छोरी अनुराधा साहलाई कारागार चलान गरिएको हो । 

मङ्गलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । बहस सकिएपछि साह दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केले जानकारी दिनुभयो । ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् । साह दाजु बहिनीका बुवासमेत रहेका रामदेवको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

साह परिवारमाथि घर,जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ । पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको कथन छ । 

पीडितहरुको तर्फबाट प्रदेश कानुन अधिकृतसमेत रहेकी अधिवक्ता किरणकुमारी साह, अधिवक्ताहरु समिम अख्तिर, भरत यादव, महेन्द्र साह, सुरेन्द्र साह तथा आरोपित प्रतिवादीहरुको तर्फबाट अधिवक्ता बालकिशोर यादव, अशोक चौधरी, कृष्णकुमार केशी लगायतका कानुन व्यवसायीले बहस पैरवी गरेका थिए ।  

यता, ठगी तथा अापराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका दाजु बहिनीको थुनछेक बहस भइरहँदा अदालतको मूल ढोकामा बुधवार पनि साह परिवारको मिटरब्याजबाट पीडितहरुले दिनभर प्रदर्शन र नाराबाजी गरेका थिए ।