यज्ञप्रसाद सापकोटा
बर्दिया(गुलरिया), चैत १ गते । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत जफत भएको छ । कुल सदर मत मध्ये १० प्रतिशत भन्दा कम मत आउने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ ।
बर्दिया क्षेत्र नं १मा कुल मतदाता एक लाख ६८ हजार ३४ मध्ये एक लाख दुई हजार चार सय ८९ मत खसेको थियो । ९६ हजार छ सय नौ सदर मत सदर भएको थियो । त्यसैगरी बर्दिया क्षेत्र नं २ मा रहेका कुल मतदाता एक लाख ५५ हजार दुई सय ३२ मध्ये ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर भएको थियो ।
सदर भएका मत मध्ये १० प्रतिशत भन्दा कम मत ल्याएका उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार प्रति उम्मेद्वार १० हजार रुपियाँका दरले जमानत राखिएको थियो । महिला उम्मेद्वारका लागि ५० प्रतिशत छुटमा जमानत राखिएको थियो । निर्वाचनमा भाग लिएका पाँच जना महिला मध्ये ४ जनाको जमानत जफत भएको छ ।
बर्दिया क्षेत्र नं १ बाट निर्वाचनमा भाग लिएका २१ जना उम्मेद्वार मध्ये १८ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा भाग लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वार ठाकुर सिंह थारू, नेकपा एमालेका शालिकराम अधिकारी, नेपाली काँग्रेसका संजय गौतम बाहेक सबै उम्मेद्वारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत कमल घलेले बताउनु भयो ।
जमानत जफत हुनेमा तीन स्वतन्त्र उम्मेद्वार सहित १५ वटा राजनीतिक दलका उम्मेद्वार रहेका छन् । यस अघि थारू आयोगको अध्यक्ष समेत भइसक्नु भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार विष्णुप्रसाद थारूको समेत जमानत जफत भएको छ । उहाँले ९.६१ प्रतिशत मत ल्याउनु भएको छ ।
त्यसैगरी बर्दिया निर्वाचन क्षेत्र नं २ का ११ जना उम्मेद्वारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वार श्रीधर पोखरेल, नेपाली काँग्रेसका किशोर सिंह राठोर, नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थ र नेकपा एमालेकी बिमला वि.क.को जमानत जफत भएको छैन । भने बाँकी रहेका ११ वटा राजनीतिक दलका उम्मेद्वारको जमानत जफत भएको छ ।
यस अघि लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट उम्मेद्वार हुनुभएका धर्म बहादुर चौधरीको समेत जमान जफत भएको छ । उहाँले कुल सदर मतको ५.०७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।