• ११ पुस २०८१, बिहिबार

हराउँदै पुराना मौलिक सामान

blog

 भेषराज बेल्बासे 

भाइबहिनीहरु

तिमीहरूले पुराना सामानहरू जस्तै ढिकी, जाँतो, कोल, घट्ट, ओखल, ठेकी, मदानीजस्ता सामान देखेका छौ कि छैनौ । कतिपयले त यस्ता नाम पनि सुनेका छैनौ होला । अहिले तिमीहरू डिपार्टमेन्ट स्टोर या कुनै पसलमा गएर जे जति खाद्यपदार्थ खरिद गर्छौ नि । ती सामान ४०–५० वर्ष अगाडि हाम्रा पूर्वजहरूले घरमै तयार गर्नुहुन्थ्यो ।

चामल, पिठो, दूध, दही, घिउ, तेललगायतका कुरा पूर्वजहरूले त्यो बेलामा पसलमा होइन घरमै तयार गर्नुहुन्थ्यो । गाउँघरमा त्यो बेला घरमै ढिकी हुन्थ्यो र ढिकीमा धान कुटेर चामल बनाइन्थ्यो । घरमै जाँतो हुन्थ्यो त्यही जाँतोमा मकै, गहुँ, चामल आदि पिँधेर पिठो तयार गरिन्थ्यो । पिठो पिस्नका लागि घट्टमा पनि लगिन्थ्यो । त्यस्तै गाउँटोलमा कोल हुन्थे जसको सहायताले तेल पेलिन्थ्यो ।

सुन्दा अचम्म पनि लाग्न सक्ला, यस्ता सयौँथरी सामान छन् । कतिपय त अहिले नभेटिने अवस्थामा पुगेका छन् । मानिसहरू आधुनिकताका नाममा आयातीत सामानमा निर्भर हुन थाले । आफ्ना पुर्खाले चलाएका सामान मात्र होइन संस्कार पनि बिर्सन थाले ।

उहिले उहिले गाउँमा गाईभैँसी पाल्ने, गावुमा दूध दुहुने, कुँडेमा दूध तताउने र ठेकामा दही जमाउने र मदानीको माध्यमबाट घिउ निकाल्ने गर्दथे । घरघरमा मही प्रशस्तै हुन्थ्यो । अहिले त महीसमेत विदेशबाट आयात हुन्छ । गाउँमा दूध, दही र मही पाइन छाड्यो । कोक, फेन्टा र पेप्सी गाउँगाउँमा जतासुकै पाइन्छ ।

अहिले त आधुनिकताका नाममा परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । ग्रामीण भेगहरूमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेको छ । पछिल्लो समय गाउँगाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानीपिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ । पानीघट्टमा पिसेको पिठोबाट बनेका रोटी, ढिँडोलगायतका परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुन्छ । यस्तै पुराना सीप र प्रविधिका अरू साधनहरू ढिकी, जाँतो, कोलजस्ता साधन पनि आधुनिक मिलका साथै पसलमै सबै कुरा पाइने भएपछि हराउन थालेको छ । पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोल, ठेका, ठेकी, गावु, चौँठी, आरी, मदानी, हर्पेजस्ता पुराना सामान हराउन थालेका छन् ।

लोप हुँदै आरन

भाइबहिनीहरू पहिले पहिले हँसिया, खुकुरी, दाबु, बञ्चरोलगायतका सामान चाहिँदा पसलमा होइन गाउँमा खोलिएका आरनमा जाने गरिन्थ्यो । फलाम लिएर गएपछि आँखा अगाडि आरन सञ्चालकले भनेजस्तै सामग्री तयार गरिदिन्थे । अहिले गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेका छन् ।

पहिला–पहिला बजारमा पनि त्यस्ता साधनहरू नहुने भएकाले पनि केही खर्च दिएर हँसिया बन्चरोजस्ता घरायसी चाहिने हतियारहरू बनाउन आरनमा मान्छेहरूको चाप हुने गर्दथ्यो । अहिले बजारमा पाइने साधनले गर्दा आरनको व्यवसाय पनि लोप हुन थालेको छ । आरनमा गएर दिनभर बसेर घरायसी हातहतियार बनाउन धेरै समय 

खर्च हुने भएकाले पनि बजारमा सस्तोमा पाइने घरायसी हातहतियार किनेरै प्रयोग गर्ने चलन बढेको पनि हो ।

परम्परागत सामानका सङ्कलनकर्ता

पुराना सामानहरुरूो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि आएको सर्वसाधारणको प्रतिक्रियाले चार जना युवालाई यस्ता वस्तुको सङ्ग्रहालयकै अभियानमा मोड्यो ।

पुस्ता अघि बढ्दै जाँदा पुराना सामग्री लोप हुने भएपछि त्यस्ता सामग्रीको संरक्षण गर्न सञ्जय गैरे, प्रकाश बेलबासे, हिमाल बेलबासे, प्रकाश ज्ञवाली संरक्षण अभियानमा लागेका छन् । अर्घाखाँची र गुल्मीका यी युवाको सक्रियतामा केही वर्ष अगाडि बुटवलमा औद्योगिक व्यापार मेलामा राखिएपछि बच्चादेखि वृद्धसम्मलाई नेपाली परम्परागत कृषि सामग्री चिन्ने अवसर जुरेको थियो ।

मेलामा पुराना वाद्यवादन मादल, खैंजडी, झेली, दमाहा, धम्पुरीसहित आरन, मदानी, हुक्काचिलिम, डाली, डालो, मोटुलो, चौँठी, मकैको खोस्टाबाट बनेका चकटी, गुन्द्री, हाँडी, भोटे चाबी, खुकुरी, हँसिया, मधुस, जाँतो, हलो, नारा, लोटा, कसौँडी, टुकी र लालटिनजस्ता १५० बढी सामग्री प्रदर्शनीमा राखेको स्मरण गर्दै प्रकाश बेल्बासे यस्ता सामानलाई सङ्ग्रहालय बनाएरै राख्ने योजना सुनाउनुभयो ।