• १० मंसिर २०८१, सोमबार

नाटक मञ्चनमा थपिएको उत्साह

blog

काठमाडौँ, असार २३ गते । कुनै बेला कारोनाले थलिएको रङ्गमञ्च अहिले फेरि जाग्न थालेको छ । काठमाडौँका नाटकघरहरूमा भिन्न–भिन्न स्वादका नाटक मञ्चन हुन थालेका छन् । दर्शकहरूमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । नाटकघरहरूमा दर्शकको भीडभाड र उनीहरूको मागले गर्दा प्रायः नाटकहरूको समयसीमा पनि थपिएका छन् ।

अहिले काठमाडौँका थिएटरमा मञ्चन भइरहेका नाटकमा दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’, सुदाम सिके निर्देशित नाटक ‘ऐया माया’, अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशन रहेको नाटक ‘चोरको स्वर’,  विमल सुवेदीले निर्देशन गर्न‘भएको नाटक साबिती र नीता राई निर्देशित नाटक ‘सेमुना’ रहेका छन् । यी नाटकमध्ये केही नाटक अहिले मञ्चन भइरहेका छन् भने केहीको मञ्चन हालै सकिएको छ । 

नाटक ‘कथा कस्तुरी’मा तराई क्षेत्रमा बसोबास गर्ने सपेरा जातिको कथावस्तुलाई देखाइएको छ । नयनराज पाण्डेको सर्पदंशको नाट्य रूपान्तरण गरिएको कथामा एक्टर स्टुडियोका कलाकारहरू सृष्टि भट्टराई, प्रभाव शाही, आयुष्मा मगर, राजन पुरी, जीवन गौतमलगायतले अभिनय गरेका छन् । कोरोना महामारीपछि एक्टर स्टुडियोको यो पहिलो नाटक हो ।

लिम्बू समुदायमा रहेको भागी विवाहको परम्परालाई नाटक ‘चोरको स्वरमा’ पस्किएको छ । भगाएर बिहे गरिसकेपछि केटा पक्षबाट केटीको माइतीमा कोसेली लिएर भद्रभलाद्मी जाने चलन छ । त्यही प्रक्रियालाई चोरको स्वर भनिन्छ । पूर्वी पहाडको थातथलोबाट लिम्बू समुदायको रहनसहन, बोली–लवज, खानपान र सिङ्गो समाजलाई जस्ताको तस्तै नाटकमा प्रस्तुत गरिएको छ । घर–गाउँ, भू–बनोट, लत्ताकपडा, भाषा–लवजले नाटकलाई अझ राम्रो बनाएको छ । अनिल सुब्बा, वेदना राई, रूपेश लामा, इङ्गी होपोक कोइँच सुनुवार, सङ्गीत थापा, सुरज तमुसहितका २३ जना कलाकारको नाटकमा अभिनय रहेको छ ।

यस्तै नाटक ‘ऐया माया’ अभिव्यक्तिका मुख्य माध्यम शरीर, शब्द र सङ्गीतको राम्रो संयोजन गर्ने प्रयास हो । नाटकले मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्छ । कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय छ । शिवराज जोशी र शर्मिला गुरुङले सङ्गीत दिएकी छिन् ।

विमल सुवेदीको निर्देशन र जेनी सुनुवारको सहायक निर्देशनमा नाटक ‘साबिती’ मञ्चन भएको छ । साहित्यकार जगदीश घिमिरेको कथामा आधरित नाटकमा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदारको अभिनय रहेको छ ।  हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकूल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गरिएको हो ।

नाटकको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन् । नाटकले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउँछ । मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने देखाउँछ । अनुराधाका साथै नाटकमा सुजन वली र साजनकुमार सुनुवारको पनि अभिनय रहेको थियो । नाटक असार १७ गतेदेखि १९ सम्म मञ्चन भएको थियो ।

तत्कालीन समयमा पूर्वी पहाडी जिल्लामा खासै सडक विस्तार भएका थिएनन् । विशेषगरी माझकिराँत, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ क्षेत्रका किराँती साहुको भारी बोकेर उनीहरू जीवन चलाइरहेका थिए । सप्तकोसी नदीको किनारामाथि भीरको गोरेटो बाटोमा उनीहरूको यात्रा निकै जोखिमपूर्ण थियो ।

त्यही भीरको बाटो छलेर केही वर्ष बाँचेका र भारीसँगै अरुण नदीमा जिन्दगी बिताएका गाउँलेको कथा हो नाटक ‘सेमुना’ । कथाकार दिलीप बान्तवाको कथामा आधारित रहेको नाटकको निर्देशन रङ्गकर्मी नीता राईले गरेकी छन् । सौजन लिम्बू, राजेन्द्र कट्टेल, सुमन कोइरालालगायतको अभिनय रहेको नाटक जेठ २८ गतेदेखि असार ११ गतेसम्म मञ्चन भएको थियो ।काठमाडौँका नाटकघरहरूमा श्रावणमा शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’, किरण चाम्लिङ राई निर्देशित नाटक ‘खुवालुङ’, र रामहरि ढकाल निर्देशित नाटक ‘इन्साइड÷आउटसाइड–फो’ मञ्चनको तयारीमा छन् ।

Author

सुकृत नेपाल