उर्लाबारी समाचारदाता
उर्लाबारी, मङ्सिर १६ गते । लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ (थक्लुङ) को स्मृतिमा उहाँका छोराले ‘सिलाम साक्मा’ को प्रतिमा बनाइदिनुभएको हो । किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई थक्लुङ परिवारले ‘सिलाम साक्मा’ अनावरण गरी संरक्षणको जिम्मा लगाएको छ । अनावरण कार्यक्रममा छोरा सुमन थक्लुङले भन्नुभयो, “आमा लिम्बू जातिको कला संस्कृतिको जगेर्नामा ख्याल राख्नुहुन्थ्यो । त्यसैले उहाँको सम्झनालाई जीवन्त राख्न ‘सिलाम साक्मा’ निर्माण गरिदिएका हौँ ।”
के हो, ‘सिलाम साक्मा’ ?
लिम्बू जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाएर स्वागत गर्ने चलन छ । बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने ‘सिलाम साक्मा’ को छेउमा फुर्को राखिएको हुन्छ । सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुँदा महिला/पुरुष छातीमा ‘सिलाम साक्मा’ सजाएर पुग्ने गर्छन् । ‘सिलाम साक्मा’ मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण तङ्सिङ संस्कारमा प्रयोग हुने गर्छ ।
अधिकांश लिम्बू सङ्घसंस्थाका लोगो ‘सिलाम साक्मा’ आकारको छ । घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन् । लिम्बू भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ
रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा ‘सिलाम साक्मा’ लाई लिइन्छ । प्रसिद्ध तङ्सिङ तक्मा अनुष्ठानसँग ‘सिलाम साक्मा’ जोडिन्छ ।
“पहिले यो धातु र छालाको बन्ने गथ्र्यो । हतियार प्रहारबाट रोक्न प्रयोग हुन्थ्यो । पछि तान्त्रिक रूपमा पूजामा राख्न थालियो,” सुब्बा भन्नुहुन्छ, “नराम्रो कुरा रोक्न यसो गरिन्थ्यो । यो बाँस र बेतबाँसबाट पनि बनाइन्थ्यो । पछि धागो र बाँसको बनाउन थालियो । तङ्सिङमा सहभागीलाई घरमा राख्न ‘सिलाम साक्मा’ दिइन्छ । यो महत्वपूर्ण परम्पराको निरन्तरता हो ।” ‘सिलाम साक्मा’ लाई जीवनको सुरक्षाकवजका रूपमा लिइन्छ । “पहिले अनुष्ठान गर्दा घर घरमा राखिन्थ्यो । पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ,” सुब्बा भन्नुहुन्छ, “पाहुना अतिथिको सुरक्षा होस् भन्ने विश्वासका साथ यो लगाइन्छ ।”
संस्कारमा तङ्सिङ र याग्राङसिङ अनुष्ठान अति महत्वपूर्ण हुने बताइन्छ । यी अनुष्ठानमा ‘सिलाम साक्मा’ बनाएर प्रयोग गरिन्छ । मानव जीवनको उपकारका लागि तङ्सिङ गरिन्छ । यस्तै अकालमा मृत्यु भएकाको आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिन्छ ।
यही अनुष्ठानमा प्रयोग हुने ‘सिलाम साक्मा’ को प्रतीकचिह्न सार्वजनिक कार्यक्रम तथा जीवनमा प्रयोग गरिन्छ । अतङसिङ, ‘सिलाम साक्मा’ येहाङ दर्शनमा आधारित छ ।