• २६ फागुन २०८२, मङ्गलबार

सामाजिक सञ्जालको हल्लाले पेट्रोल पम्पमा भिड

blog

केडिया अटो इन्टरप्राइजेजमा पेट्रोल लिन लामबद्ध मोटरसाइकल । तस्बिर : शिवशंकर मिश्रा

शिवशंकर मिश्रा 

बारा, फागुन २७ गते । तेल उत्पादक देशमा देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लाका पेट्रोल पम्पमा सवारीसाधनको अस्वाभाविक भिड देखिएको छ ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताले सवारीसाधनमा 'फुल ट्याङ्की' इन्धन भर्ने होडबाजी चलेको हो । विशेष गरी मोटरसाइकल चालकहरू पेट्रोल पम्पमा लामबद्ध भएर तेल भर्ने दृश्य सर्वत्र देखिन थालेको छ । सामाजिक सञ्जाल र मोबाइल सन्देशमार्फत इरान, इराक, इजरायल र अमेरिकाबिचको द्वन्द्वका कारण नेपालमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने हल्ला फैलाइएको छ ।

विदेशमा युद्ध भइरहेको समाचारपछि इन्धन अभाव हुने डरले मोटरसाइकलमा तेल भर्न आएको परवानीपुर गाउँपालिका–४ का ब्रमेश पटेलले बताउनुभयो । "मोबाइलमा तेल अभाव हुन सक्छ भन्ने सन्देश फैलिएकाले समयमै जोहो गर्न आएको हुँ," उहाँले भन्नुभयो ।

नेपाल आयल निगम लिमिटेड, प्रादेशिक कार्यालय वीरगन्जले भने पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । कार्यालयका प्रमुख इन्जिनियर मोहनकुमार साहका अनुसार नेपालमा पेट्रोल, डिजेल तथा ग्यासको आपूर्ति नियमित भइरहेको छ र अभाव हुने कुनै सङ्केत छैन ।

उहाँका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा रहेका १११ वटा पेट्रोल पम्पमार्फत दैनिक करिब ८० देखो ९० किलोलिटर पेट्रोल र १८० देखि २०० किलोलिटर डिजेल बिक्री हुँदै आएको छ । तर, पछिल्ला तीन–चार दिनयता सामान्य अवस्थाको तुलनामा इन्धनको बिक्री करिब दोब्बरले बढेको उहाँले जानकारी दिनुभयो ।

इन्जिनियर साहले भन्नुभयो, "सामाजिक सञ्जालमा फैलिएको हल्ला, निर्वाचनको समय तथा लगातारको सार्वजनिक बिदाका कारण माग केही बढेको देखिए पनि भण्डारण र आपूर्ति पर्याप्त छ । त्यसैले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन ।"