काठमाडौँ, मङ्सिर १७ गते । टी–२० क्रिकेटको यस्तो संरचना हो, जसमा दर्शक चौका, छक्कासहित रनको वर्षा भएको हेर्न चाहन्छन् । त्यसैले ब्याट्सम्यान पहिलो बलबाट नै रन बनाउन आतुर हुन्छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालमा मङ्गलबार भएका दुवै खेलमा दर्शकले सही अर्थमा टी–२० को मज्जा लिन पाए । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स र चितवन राइनोज तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिचको दुवै खेलमा रनको वर्षा भए । कुल ८० ओभरमा कुल ७२४ रन बनेको थियो । जित भने अङ्क तालिकामा पुछारमा रहेका दुई टिम पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले हात पारे ।
पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई छ विकेटले हरायो । पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित ग¥यो । यस नतिजासँगै जनकपुर बोल्ट्सको उपाधि रक्षाको झिनो सम्भावना कायम रह्यो । यद्यपि जनकपुरले बाँकी दुई खेल जिते पनि प्लेअफमा पुग्न अन्य नतिजा पर्खनुपर्ने समीकरण छ । पछिल्ला चार खेलमा पराजित हुने गत विजेता जनकपुर बोल्ट्सको यो पहिलो जित हो । चितवन राइनोजको यो पाँच खेलको तेस्रो हार हो । चितवन अङ्क तालिकामा पाँचौँ स्थानमा रहेको छ ।
कर्णाली प्लेअफको होडबाट बिदा
पोखराले २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रनको विशाल स्कोर तयार पारेको थियो । कर्णाली जवाफमा एक ओभर बाँकी छँदै १६७ रनमा अलआउट भयो ।
यस नतिजासँगै पोखरा एभेन्जर्स सातौँबाट उक्लेर चौथो स्थानमा रहन सफल भएको छ । पोखराको पाँच खेलमा यो मात्र दोस्रो जित हो । कर्णाली याक्स भने हारसँगै प्लेअफबाट बाहिरिएको छ । कर्णालीले छमध्ये एक खेल मात्र जितेको छ । कर्णाली सातौँ स्थानमा झरेको छ ।
शतकसहित रोसिङ्टन सर्वाधिक रनकर्ता
पोखराका लागि इङ्ग्ल्यान्डका एडम रोसिङ्टनले ५८ बलमा १०८ रनको शतकीय पालि खेल्नुभयो । उहाँको पालिमा ११ चौका र सात छक्का सामेल थियो । चालु एनपिएलमा यो मात्र दोस्रो शतक हो । यसअघि कर्णालीका मार्क वाटले शतकीय पालि खेल्नुभएको थियो । एनपिएलको इतिहासमा अहिलेसम्म मात्र तीन शतक प्रहार भएका छन् ।
रोसिङ्टन शतकसँगै सर्वाधिक रनकर्ताको सूचीमा पनि पहिलो स्थानमा उक्लनुभयो । उहाँले पाँच खेलमा २५३ रन बनाउनुभएको छ । वाट छ खेलमा २४२ रनसहित दोस्रो स्थानमा हुनुहुन्छ । रोसिङ्टनले इङ्ग्ल्यान्डकै अर्का हस्ती ब्याट्सम्यान जेसन रोयसँग दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्नुभएको थियो । एनपिएलमा पहिलो पटक खेल्दै गरेका रोय ३४ बलमा ४६ रन बनाएर नन्दन यादवको बलिङमा आउट हुनुभयो । रोय सरह एपिएल पदार्पणमा श्रीलङ्काका धनन्जय लक्समले पनि छाप छोड्नुभयो । उहाँ ११ बलमा २३ रन बनाएर अविजित रहनुभयो । यसअघि प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान कुशल भुर्तेललाई १८ रनमा वाटले सिकार बनाउनुभएको थियो ।
कर्णालीले १५ औँ ओभरसम्म विशाल स्कोर राम्रै्रसँग पछ्याएको थियो । वाटले ३४ बलमा ५९ रन बनाएर आधार पनि तयार पार्नुभएको थियो । त्यसपछि प्रियाङ्क पन्चाल (११ बलमा १६ रन), पवन सर्राफ (१४ बलमा १९ रन) र नजिबुला जाद्रान (१५ बलमा २४ रन) को सङ्क्षिप्त तर उपयोगी पालिले १४.३ ओभरमा चार विकेटको क्षतिमा १३५ रन बनाएर कर्णालीले आफ्नो जितको सम्भावना कायम राखेको थियो तर पोखराले लगातार विकेट लिएर कर्णालीलाई अलआउट ग¥यो । पहिलो खेल खेल्दै गरेका भारतीय ऋषि धवनका साथै लक्सनले तीन तीन तथा किरण ठगुन्ना, सन्दीप क्षेत्री र भुर्तेलले एक एक विकेट लिनुभयो ।
जनकपुरद्वारा सर्वाधिक रन चेज
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रनको ठुलो स्कोर तयार पारेको थियो । जनकपुरले १७.३ ओभरमै चार विकेटको क्षतिमा १८० रन बनाएर लक्ष्य हासिल ग¥यो । यस प्रतियोगितामा यो सबभन्दा बढी रन पछ्याएको खेल बनेको छ ।
पाकिस्तानका ब्याट्सम्यान माज सदाकत र अनिल शाह तेज अर्धशतक बनाएर जनकपुरको जितमा नायक बन्नुभयो । उद्घाटन खेलमा अर्धशतक बनाएपछि लगातार अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख (१८ रन) ले पुनः निराश पार्नुभयो तर आसिफसँगै क्रिजमा आएका सदाकतले अनिल शाहसँग मिलेर दोस्रो विकेटका लागि तेज गतिमा ७९ रनको साझेदारी गरी जनकपुरका लागि बलियो आधार तयार पार्नुभयो ।
सदाकतले ३० बलमा छ चौका र चार चौकासहित ६३ र अनिलले चार चौका र तीन छक्कासहित ६१ रन बनाउनुभयो । अनिललाई खेलपछि प्लेयर अफ दी म्याच पनि घोषित गरियो । पछिल्लो खेलमा अनिललाई टिमबाहिर राखिएको थियो । यी दुवै आउट भएपछि सञ्जय कृष्णमुर्थीले अविजित पाँच र आदित्य महताले सात बलमा अविजित १८ रन बनाएर जनकपुरलाई जित दिलाउनुभयो । चितवनका लागि सोहल तनवीर, कमलसिंह ऐरी र अमरसिंह रौटेलाले एक एक विकेट लिनुभयो ।
मलान र अर्जुनको कीर्तिमान
यसअघि इङ्ग्ल्यान्डका डेभिड मलान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेपछि चितवनले राम्रो स्कोर बनाउने आधार पाएको थियो । चालु एनपिएलमा पहिलो विकेटका लागि यो सर्वाधिक साझेदारी भएको छ । अर्जुन ५२ रनमा आउट भएपछि सो साझेदारी भङ्ग भएको थियो ।
विश्वका पूर्व नम्बर एक ब्याट्सम्यानले मलानले चालु एनपिएलमा पहिलो पटक आफ्नो प्रतिष्ठा अनुसार ब्याटिङ गर्दै ५४ बलमा ८० रन बनाउनुभयो । उहाँको पालिमा चार चौका र चार छक्का सामेल थियो । त्यसपछि चितवनका लागि कप्तान कुशलले १४ बलमा दुई चौका र दुई छक्कासहित अविजित ३० रनको उल्लेखलायक पालि खेल्नुभएको थियो । जनकपुरका लागि बलिङमा सदाकत, अनिल, रूपेश सिंह र लफ्टी इटनले विकेट लिनुभयो ।