• १७ मङ्सिर २०८२, बुधबार

पर्यटकको पर्खाइमा तोरीपानी गाउँमा

blog

तोरीपानी गाउँको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, मङ्सिर १७ गते ।
धौलागिरि र अन्नपूर्ण हिमालको सुन्दर दृश्यको अवलोकन गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानी गाउँ पर्यटकको पर्खाइमा छ । तोरीपानीको मुख्य परिचय यहाँ उत्पादन हुने मसलेदार टिमुर, शान्त वातावरण र हिमालको मनोरम दृश्य हो ।

म्याग्दीको सदरमुकाम बेनीदेखि ३० मिनेटको सवारीसाधनको यात्रापछि पुग्न सकिने तोरीपानीबाट धवलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

स्थानीय अर्गानिक खानाका परिकार र पाहुनाको राम्रो स्वागत सत्कार तोरीपानी गाउँको विशेषता हो । समुन्द्री सतहदेखि एकहजार ७५० मिटरको उचाईमा रहेको तोरीपानी टिमुर खेती, पशुपालन र कृषिमा राम्रो सम्भावना भएको गाउँ हो ।


यहाँका अधिकांश घरपरिवारले टिमुरको व्यवसायिक खेती गर्दछन् । यहाँको टिमुर विदेश समेत निर्यात हुने गरेको छ । टिमुर खेतीलाई यहाँका स्थानीयहरुले आफ्नो जीवन, खानपान र संस्कृतिसँग जोडेर हेर्छन । टिमुर, कृषि र पशुपालन व्यवसायबाट यहाँका स्थानीयहरुको जीवनस्तर उकासिकएको छ । तोरीपानी प्राकृतिक, पशुपालन र कृषि पर्यटनको राम्रो सम्भावनायुक्त गाउँ भएको यहाँको भ्रमणमा आउनुभएका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहाडको काख र हिमाल समिपमा रहेको तोरीपानी गाउँको पर्यटकीय सम्भावना धेरै छ । शान्त र मनोरम वातावरण अनि बेनीदेखि नजिकको दूरी भएकाले सहजै पर्यटक यहाँ सम्म आउन सक्छन् ।’’ स्थानीयहरुले यहाँको मौलिकताको संरक्षण, अर्गानिक खानापानको व्यवस्था,राम्रो स्वागत सत्कार र संस्कृतिलाई जोगाइ राख्नुपर्ने उहाँको सुझाव छ ।

पर्यटकको सुविधाका लागि यहाँका स्थानीयहरुले सामुदायिक घरबास(होमस्टे) सञ्चालन गरेको सामुदायिक घरबास समुहका सदस्य इवगिरी सन्यासीले बताउनुभयो । बास पाहुनालाई आत्मियता,मौलिकता,परम्परागत गीत तथा नृत्य र स्थानीय रैथाने परिकारले स्वागत गर्ने प्रचलन रहेको उहाँको भनाइ छ  ।


पर्यटकले हिमालको दृश्य र टिमुरको बगैँचाहरु अवलोकन गर्न पाउँछन् । साथै तोरीपानी आसपास रहेका धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्न पाइन्छ । तोरीपानीदेखि रावणपार्क, पछैं, ढोलठाना, जगन्नाथ, टोड्केलगायतका पर्यटकीय स्थलहरुको नजिक पर्दछन् । बेनीदेखि नजिक भएकाले तोरीपानीलाई पर्यटकीय गाउँका रुपमा विकास गर्न पूर्वाधार निर्माण, सहज सडकको व्यवस्था र होमस्टे प्रवर्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।  

बेनीमा आउने पर्यटक पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तव्य बन्न सक्ने वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ ।