साहारा लिम्बू
फुङलिङ, मङ्सिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ ।
योसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।
यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गोल गर्दै टिमलाई दोब्बरमा पु¥याउनुभयो । खेलको ७०औं मिनेटमा सिदिङवा गाउँपालिकाका ईमा राईले गोल गर्दै टिमलाई १–२ गोल अन्तरमा पुर्याउनुभएको हो ।
योसँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकासँग भेट पक्का गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै, सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै फुङलिङ नगरपालिकाले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग भेट पक्का गरेको छ । शनिबार भएको उद्घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।