• २५ असार २०८१, मङ्गलबार

ढैंचा मल, रासायनिक मलको विकल्पमा उत्तम

blog

फोटो – धनुषाको बरमझियामा मलको रुपमा प्रयोग गर्न गरिएको ढैंचा खेती । तस्बिर–विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार २२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका किसान रामपुकार यादवले ढैंचा मलको प्रयोग गरेर धान रोपाइँ शुरु गर्नुभएको छ । उहाँ रासायनिक मलको विकल्पमा विगत तीन वर्षदेखि ढैंचा नामक बिरुवा उमारेर मलको रुपमा प्रयोग गरी धान र गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ । 

किसान रामपुकारले रासायनिक मलको विकल्पमा ढैंचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति पूर्ति गर्ने भएकाले आफूले यो मलको प्रयोग गर्दै आएको जानकारी दिनुभयो । 

सामुदायिक सुधार केन्द्र धनुषाले जिल्लाको वीरेन्द्रबजारमा सञ्चालन गरेको कृषि तालिमबाट यो मलको बारेमा जानकारी प्राप्त भएपछि त्यसयता अन्नबालीमा यही मलको प्रयोग गर्दै आएको बताउँदै किसान रामपुकारले यहाँका अन्य किसानलाई समेत यो मलको विशेषताबारे जानकारी गराएपछि धेरैले यो विधि अपनाउन थालेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो कुनै नयाँ प्रयोग होइन । बाबु बाजेले ढैंचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ । 

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैंचा बोटलाई खेत हिल्याउने क्रममै प्रयोग गरिन्छ । यसरी प्रयोग गरिएको ढैंचाको बोट चारदेखि सात दिनमा कुहिएर मल बन्दछ । र, त्यसपछि धान रोपेपछि कुनै प्रकारको मल राख्नुपर्दैन, किसान रामपुकारको भनाइ छ । 

कतिपय किसानले युरिया, डिएपी, पोटास मल अभावका बीच धान रोपाइँ गरिरहेको छ भने कतिपय किसान मल अभावकै कारण खेत बाँझै राखेको छ । तर न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सके रासायनिक मलमाथिको निर्भरता हट्ने र मल खरिदका लागि बाहिरिने रकम पनि जोगिने उहाँले भन्नुभयो । 

गणेशमान चारनाथ नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनकुमार महतोले रासायनिक मल अभाव भए पनि ढैंचा र प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्नुपर्ने बताउनुभयो । उहाँले रासायनिक मलको विकल्पमा ढैंचा मलको प्रयोग बढाउन किसानलाई प्रोत्साहन गर्नेजस्ता कार्यक्रमका लागि नगरपालिकामा योजना पेश गरिएको जानकारी दिनुभयो । 

यसैगरी, धनुषाको मिथिला नगरपालिकाले यस वर्ष दुई क्विन्टल ढैंचाको बीउ निःशुल्क वितरण गरेको छ । रासायनिक मलको अभावलाई पूर्ति गर्न ढैंचा मलको बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो । 

उहाँले रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा माटोको उर्बरा शक्ति बढाउन ढैंचा मल निकै उपयोगी रहेको जानकारी दिनुभयो ।