‘‘वरुण देव ! तिमी महान् छौ, द्यावा भूमि सर्वत्र निर्वाध विचरण गर्न सक्छौ । जस्तोसुकै मै हुँ भन्ने शत्रुलाई पनि पाता फर्काएर हैसियत देखाउन सक्छौ । तिमीजस्ता सामथ्र्यशाली व्यक्तित्वले मजस्ता सामान्य मानिसलाई मारेर के पाउँछौ । यसमा न तिम्रो बहादुरी देखिन्छ न विशेषता नै झल्किन्छ । उल्टै लोकले खिसीट्युरी गर्नेछन्, वरुण जस्ता पश्चिम सागरका अधिपतिले पनि शुनःसेप जस्ता बालकको बलि खाए भन्नेछन्, घृणा र तिरस्कार गर्नेछन् । विन्ती छ नमार । माता अदितीको रोइरहेकी छन् । पिताजीको अवस्था त्यस्तै छ । उनीहरूको आँशु पुछ्न चाहन्छु । (ऋग्वेद १.२४.१) बाबु आमाको सेवा गर्नु छोराछोरीको धर्म पनि हो कर्म पनि हो, त्योभन्दा पनि बढी कर्तव्य हो भन्छु । यहाँ त सेवाको कुरै छाडौँ, मेरै कारण उनीहरू दुखित भएका छन् । हे महानायक ! माथिको, बीचको र तलको गरी तीनवटै बन्धन खोलेर वरुणपाशबाट मुक्त गरिदेऊ, तिम्रो कल्याण हुनेछ । (ऐऐ २५.२१) हे गगनचर देवी देवताहरू हो ! तिमीहरूलाई पनि नमन गर्छु । रमिते बनेर नबस । वरुणपाशबाट मुक्त गराइदेऊ । अन्याय हेरेर बस्नु पनि अन्याय नै हो । निर्दोष बालकको वेदना सुनेर कसरी बस्न सक्छौ । हे अग्निदेव ! तिमीलाई पनि नमस्कार छ । मेरो कमलो मुटु कलेजोको हविले तिम्रो पेट भरिन्न । द्यावाभूमि व्यापी छौ । तिम्रा निम्ति हविको कमी छैन ।’’
राजा हरिश्चन्द्रको यज्ञवेदीमा बाँधिएका बालक शुनःसेप विलाप गरिरहेका थिए । उनलाई यज्ञवेदीको मौलोमा तीन ठाउँमा बाँधिएको थियो । आचार्यको पदमा बसेर महर्षि वशिष्ट अग्नि संस्कार गरिरहेका थिए । नरबलि खान आएका वरुणदेव नजिकै बसेर जिभ्रो मिठ्याइरहेका थिए । अन्य देवीदेवताहरू पनि आ–आफ्ना भाग पाउन उत्तिकै लालायित थिए । सबै आआफ्नै धुनमा थिए । बालक शुनःसेपको आर्तपुकार कसैले पनि सुनेनन् । हुनसक्छ यज्ञभागको लोभले मुक बनाएको पो थियो कि तर महर्षि विश्वामित्र भने मौन रहन सकेनन् । मन भरिएर आयो । चित्त चिरियो, मुटु काटियो । थप सुन्न सकेनन् र होताको आसनबाट उठेर भन्न लागे–
‘‘आचार्यवर ! तपाईंको मुटु चट्टानभन्दा कडा रहेछ । अति भो, वश गर्नुस् अब अत्याचार । अबोध बालकको आर्तपुकार सुनेर पनि दया लागेन ? धिक्कार छ, तपाईंलाई कहिलेसम्म धर्मको नाममा, यज्ञको नाममा, परम्पराको नाममा, कर्मकाण्डको नाममा अबोधलाई बलिवेदीमा उभ्याउनुहुन्छ ? किन रोक्न सक्नुहुन्न यस्ता कृत्यलाई ? कि दानापानीको चिन्ता छ ? तपाईंको कर्मकाण्ड तपाईंसितै राख्नुस् । भाँडमै जाओस् तपाईंका पौरोहित्य । यस्ता कर्मले तपाईंको पेसा त चल्ला तर न धर्मको रक्षा हुन्छ न संस्कार र संस्कृतिकै रक्षा हुन सक्छ । होसमा आउनुस् । यस्तो काम धर्म होइन, पाप हो । तपाईंको दृष्टिमा धर्म होला तर म यस्ता कामलाई पाप भन्छु । हत्या र हिंसालाई पनि धर्म भन्ने हो भने पाप केलाई भन्ने ? यज्ञको नाम दिँदैमा जीव हत्या धर्म हुँदैन । होस गर्नुस्, एक दिन नरकमा समेत बास नपाइने अवस्था आउन सक्छ । प्रेतवायु बनेर अनन्तकालसम्म अनन्तमा भड्किनुपर्ने अवस्था आउन सक्छ । धर्म हुन्छ भने कसैलाई मारेर होइन बचाएर हुन्छ । अझै पनि समय छ । आउनुस् गायत्री माताको उपासना गरी ब्रह्मविद्याको बाटोमा हातेमालो गराँै, जसले अमरत्व प्रदान गर्छ ।’’
विश्वामित्रले एकै साथ धेरै कुरा गरे । सत्यको कुरा पनि गरे, निष्ठाको कुरा पनि गरे, शान्तिको कुरा पनि गरे, सदाचारको कुरा पनि गरे । अत्याचारको विरद्धमा बोले, अधर्मको विरुद्धमा बोले, कर्मकाण्डको विरुद्धमा बोले, पुरोहितवादको विरुद्धमा बोले, कुसंस्कार र कुप्रथाको विरुद्धमा बोले । तथापि वशिष्ठले पचाउन सकेनन् । उनी कर्मकाण्डका पक्षपाती थिए । यसैका आडमा देवलोकदेखि मनुष्यलोकसम्म एकछत्र साम्राज्य खडा गरेका थिए । धर्मका नाममा यस्ता हत्या कति गराएका थिए कति, चाहे राजसूय यज्ञको नाममा होस् चाहे अश्वमेध यज्ञको नाममा । यज्ञवेदीमा पशुलाई पानी छर्केर संस्कार गर्थे । उनीहरू टाउको हल्लाएर पानी टकटक्याउँथे तर उनी यसैलाई मानेको अर्थमा लिन्थे, गर्धन छिनाउँथे, रगतले जमिन भिजाउँथे, मुटु कलेजो हवन गरी देवीदेवतालाई तृप्त पा¥यौँ भन्थे, मासुले आफू तृप्त हुन्थे । यसैबाट उनको पेसा चलेको थियो । देवीदेवता मौन थिए । थाहा छैन किन मौन रहन्थे । अस्वीकृतिले हो कि स्वीकृतिले उनीहरू नै जानून् तर वशिष्ठजीहरू समर्थनको अर्थमा लिन्थे । यजमानहरू त्यसैमा विश्वास गर्थे । विरोधमा बोल्दैनथे । कसैले बोल्ने हिम्मत गरे नास्तिक र अनर्थकारीको आरोप लगाएर बोल्नै नसक्ने बनाउँथे । फलतः हत्या पनि चलेकै थियो, हिंसा पनि चलेकै थियो, अत्याचार पनि भएकै थियो तर यतिबेला विश्वामित्र तगारो बन्न पुगेका थिए भने किन पो पचाउन सक्थे र । चोरी औँला ठड्याउँदै भन्न लागे–
‘‘नास्तिक, घोर नास्तिक । बालक भनौँ भने स्वास्नीसँग सुत्छ तन्नेरी भनौँ भने ओछ्यानमा मुत्छ भनेको यही हो । यति ठूलो यज्ञको होताको आसनमा बसेर धर्म, संस्कार र संस्कृति विरोधी कुरा गर्न लाज लाग्दैन ? कसरी आँट गर्नुभयो त्यस्तो कुरा गर्न ? होसले काम गर्न छाड्यो कि क्या हो ? यज्ञ अनुष्ठान भनेका हाम्रा जीवन हुन् । यसैबाट अग्नि, वायु, सूर्य, हावा, पानी, माटो, दिन, रात, उषा, अश्विनीकुमार, अन्न, प्रजापति, वरुण, विश्वेदेवा लगायत चराचर प्राणी खुसी हुन्छन्, जसले सनातन मर्यादा कायम राखेका छन् । यसैलाई रोकेपछि कसरी चल्छ ? संसार भनेकै हवन प्रक्रिया हो, यसैले बनाएको छ, यसैले धानेको छ । यस्ता कार्यलाई रोक्नु भनेको धर्मको विरुद्ध जानु हो, सनातन मर्यादाको विरुद्ध जानु हो । छ कसैसँग त्यस्तो ताकत ? एकले अर्कोलाई हवन नगरी, एक अर्कोमा हवन नभई न संसार अड्न सक्छ न चल्न नै सक्छ । हरक्षण हर प्राणी एक अर्कोमा हवन भइरहेका हुन्छन् । एकले अर्कोलाई हवन नगर्ने हो भने कसैको पनि जीवन चल्दैन । बाँच्नकै लागि पनि एकले अर्कोको हवि बन्नैपर्छ । यही त धर्म हो । कर्मकाण्डले यही सिकाएको छ । अबोध बालकको कुरा उठाएर संस्कार भाँड्ने छुट कसैलाई पनि छैन, तपाईंजस्तालाई त झनै छैन ।
को अबोध, को सबोध दृष्टिकोणमा भर पर्ने कुरा हुन् । संसार आफैँमा निरपेक्ष छैन । निरपेक्ष उत्तर खोज्न थालियो भने टाउको फुटेर मर्नुपर्ने अवस्था आउन सक्छ, भोकभोकै मर्नुपर्ने दिन आउन सक्छ । खाने भनेको आफूले सक्नेलाई नै हो, सबैले यसै गर्छन् । संस्कारले गरेको छ, संस्कृतिले गरेको छ, परम्पराले गरेको छ, व्यवहारले गरेको छ । ठूलालाई कसले छुन सक्छ र ? ठूलाको खोजी गर्न थालियो भने ठाने हुन्छ खानै नपाएर मर्नुपर्ने दिन टाढा छैन । सानालाई खान नहुने, ठूलालाई खान नसकिने भएपछि कसरी बाँच्नुहुन्छ ? हामीले के गरेका छौँ र त्यस्तो नचाहिने काम ? सनातनरूपमा चल्दै आएको कार्यलाई धार्मिक स्वरूपमा ढालेका न हौँ । तपाईं जेसुकै भन्नुस् सक्नेका अगाडि नसक्नेले मर्नै पर्छ । मर्दिन भने पनि मर्नुपर्छ । यो सनातन प्रक्रिया हो, कसैले रोक्न सक्दैन । बरू देवीदेवताको नाममा मरियो भने, मारियो भने मर्नेलाई अग्नि देवले गन्धर्वलोक लिएर जान्छन्, देवलोक लिएर जान्छन्, उनलाई त्यस्तो गर्न कर लाग्छ । उनको कामै त्यही हो, त्यसैका लागि प्रकट गरिएको हो । (शुक्लयजुर्वेद ७।२४) मर्नेको पनि कल्याण हुन्छ बाँच्नेको पनि उद्धार हुन्छ । यही हो धर्म भनेको, यही हो सनातन मर्यादा भनेको ।
वेदले ‘धर्मो रक्षति रक्षितः’ भनेको छ । यसको अर्थ पहिले धर्मको रक्षा गर्नुपर्छ, पछि धर्मले रक्षा गर्छ भन्ने हो । यस्तो पुनीत कार्य कसरी अधर्म हुन्छ ? यस्तो काम पनि अधर्म हुन्छ भने धर्म भनेको के हो ? तपाईंको ब्रह्मविद्या तपाईंसितै राख्नुस् । यस्ता खोक्रो आदर्शले पेट भर्दैन । नातामा केही पर्नुहुन्छ र मात्रै । अन्यथा अहिले नै पुरोहितमण्डलको महासभा बोलाएर सामाजिक बहिष्कार गराउन सक्छु । हे होताहरू हो ! बलिदानको शुभ घडी नजिकै छ । उपयुक्त समयमै कार्य पूरा गर्नुपर्छ । अन्यथा वरुण देवता रिसाउन सक्छन् । सुरु गर्नुस् मेधा यज्ञको महामन्त्र पढ्न । (यजुर्वेद ३२.१५) हे अध्वर्यहरू हो ! बलिवेदीको सरसफाइ गरी बलिको संस्कार सुरु गरिहाल्नुस् । उसलाई सातै समुद्रको जलले प्रोक्षण गर्नुस्, पूजा गर्नुस् अनि अन्तिम खाने इच्छा के छ त्यो सोध्नुस् ।’’
यति भनेर वशिष्ठ देवीदेवताको आराधना गर्न लागे । (ऋग्वेद ७.३५.६ र ७.३६.२) । पुरोहित मण्डलीका सदस्यहरू आआफ्ना कार्य सम्पादनतिर तर विश्वामित्र चुप लाग्न सकेनन् र वरुणतर्फ फर्केर भन्न लागे– ‘हे वरुण देवता ! यी वशिष्ठ यस्तै हुन् । उनको कुरा नसुन्नुहोस् । उनलाई आफ्नै पेसाको चिन्ता छ तर तपाईं पश्चिम सागरका अधिपति हुनुहुन्छ । दयाका सागर हुनुहुन्छ । निर्दोष बालकको बलि खाएर कसरी सन्तुष्ट हुन सक्नुहुन्छ । देवताले सबैको रक्षा गरेका हुन्छन् । रक्षा गर्ने काम देवताको हो, प्राण लिने काम असुरहरूको । देवताले पनि प्राण लिन थाल्ने हो भने देवता र असुरहरूमा के नै फरक रह्यो र ?’’ (ऋग्वेद ३.६२.२ र १७) उनको कुरा सुनेर वरुण देवतालाई के भएछ कुन्नि, सायद भित्रैसम्म छोएछ कि रातोपिरो भएर कुनातिर फर्के ।
त्यसपछि विश्वामित्र अग्नितर्फ फर्केर भन्न लागे– ‘‘हे अग्नि देव ! तपाईं पनि ठूला देवता हुनुहुन्छ । वेदमा कसैको सर्वाधिक बढी प्रशंसा भएको छ भने इन्द्रपछि तपाईंकै भएको छ । तपाईं जस्ताले अबोध बालकको चित्कारलाई कसरी पचाउन सक्नुहुन्छ ? यिनलाई डढाएर के पाउनु हुन्छ । तपाईंलाई हविको कुनै कमी छैन । द्यावाभूमि आफैँ हाजिर छ । किन अस्वीकार गर्नुहुन्न यस्ता पापपूर्ण हविलाई ? तपाईंहरू चुप लागेर बसेकाले पुरोहितवाद हाबी भएको हो । तपाईंहरूका नाममा बलि दिन्छन्, निर्दोषको हत्या गराउँछन् । आफ्नो दुनो सोझ्याउँछन् । त्यसैले बिन्ती छ आइन्दा यस्ता काममा प्रतिबन्ध लगाउनुहोस् । अबोध प्राणीलाई बचाएर यश र कीर्ति बढाउनु होस् ।’’ (ऋग्वेद ३.१.१५) विश्वामित्रको कुरा सुनेर अग्निदेवताले थप प्रज्वलित हुँदै स्वीकृतिको सङ्केत गरे । अन्य देवीदेवताले नरबलिसम्मलाई अस्वीकार गर्ने सङ्केत गरे । वशिष्ठ केही भन्न खोज्दै थिए विश्वामित्रले सुनेको नसुन्यै गरी शुनःसेपको बन्धन खोलिदिए र सिंहनाद गर्दै भन्न लागे– ‘‘हे द्यावाभूमिका देवीदेवताहरू हो ! आज तपाईंहरूलाई साक्षी राखी यी बालकलाई आफ्नै गोत्र दिँदैछु । एक दिन यिनलाई महान् वैदिक मन्त्रद्रष्टा ऋषि बनाएर सर्वहितको बाटोमा उभ्याउनेछु ।’’
यति भनेर उनी शुनःसेपलाई लिएर आफ्ना आश्रमतिर लागे । यी शुनःसेप तिनै शुनःसेप हुन्, जसले साक्षात्कार गरेका मन्त्र ऋग्वेदमा प्रशस्तै छन् । ऋग्वेद १.२४ देखि ३० सम्मका सूक्तहरूका ९७ र ऐ ९.३ को १० गरी कुल १०७ मन्त्रका साक्षात्कार कर्ता उनै हुन्, जहाँ ज्ञान र विज्ञानको बेजोड चर्चा भएको छ ।