• १२ साउन २०८१, शनिबार

झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला

blog

झापा अर्जुनधारामा फेला परेको मृत हात्ती । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

बिर्तामोड, असार २२ गते । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मत्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता बुद्धशान्ति गाउँपालिका ५ आयबारीमा पनि एउटा  हात्ती  मृत फेला परेको थियो । 

भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जङ्गली हात्ती मृत भेटिने क्रम समेत वढेकोे पाइएको छ । बुधबार बिहान  स्थानीयले खोला किनारामा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताउँनुभयो । 

हात्ती करेन्ट लागेर घाइते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताउँनुभयो । जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्ट म्याटम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ ।  

मृत हात्तीमा बाहिरी कुनै चोटपटक नदेखिएको डिभिजन वन कार्यालय  झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिनुभयो । 

झापामा लामो समयदेखि मानव हात्तीको द्वन्द्व व्यावस्थापन हुन नसक्दा २०६४ सालदेखि झापामा मात्रै ५ भारतीय नागरिकसहित ५२ जनाले ज्यान गुमाईसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।