• ८ मंसिर २०८१, शनिबार

‘पश्चिमका केही महान् साहित्यकार’ सँग साक्षात्कार

blog

राजकुमार बानियाँ

काम विशेषले साझा प्रकाशन गएको थिए तारानाथ शर्मा । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीसँग भेट भयो । त्रिपाठीले अकस्मात् पश्चिमका साहित्यकारहरूबारे पुस्तक लेख्न अनुरोध गरे । त्यो अनुरोध सुन्नेबित्तिकै साझा प्रकाशनका व्यवस्थापक क्षेत्रप्रताप अधिकारीले केही रुपियाँ शर्मालाई बैना मारिहाले ।

प्राध्यापकनिवास जमल, काठमाडौँमा बसेर शर्माले ‘पश्चिमका केही महान्  यो आजको प्रसङ्ग होइन, ५३ वर्ष पहिलेको हो । २०२६ सालताका हिजोआज जस्तो छ्यापछ्याप्ती पुस्तक, पत्रपत्रिका कहाँ पाउनु ? इन्टरनेटको आविष्कार सायद सोचिएकै थिएन । न गुगल थियो, न त इमेल । तैपनि उनले निजी अध्ययनका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा दुई महिना घोटिएर १९ जना विदेशी साहित्यकारको लोमहर्षक जीवनीलाई पुस्तकाकार दिए । 

भन्नु परोइन, यो पुस्तक उनले तानासर्माको नाममा लेखेका छन् । तानासर्माको कुण्डली खोतल्ने हो भने बालकृष्ण समसम्म नपुगी धरै छैन । छोटकरी रूपमा नाम लेख्ने अङ्ग्रेजी चलनअनुसार उनले ‘शमशेर जङ्गबहादुर राणा’लाई छोट्याएर ‘सम’ पारेका थिए । त्यसैको सिको गरेर तारानाथ शर्माले आफ्नो नाम ‘तारानाथ शर’ लेख्न थाले । त्यसमा चित्त नबुझेपछि ‘तानासर्मा’को हुलियामा लेख्न थाले । बिस्तारै तारानाथ शर्मामै फर्किएर नेपाली साहित्यकै सितारा कहलिएका छन् ।

जीवनीपरक पुस्तक ‘पश्चिमका केही महान् साहित्यकार’मा क्राइस्टपूर्व नवौँ शताब्दीका मानिने महाकवि होमरदेखि सन् १९१३ मा जन्मेका अस्तित्ववादी साहित्यकार अल्बेअर कामुसम्म अटाएका छन् । कवि होमर, दान्ते अलिग्हिएरी, योहान गोएट, पर्सी बिस सेली र वाल्ट विट्मनका जीवनीपरक अध्ययनका साथै साहित्यिक शल्यक्रिया छ भने नाटककार विलियम सेक्सपियर, हेनरिक इब्सन, अन्तोन चेखोभको परिचयात्मक विवरणका साथै रचनात्मक समीक्षा । 

त्यस्तै, उपन्यासकार अनरे द बाल्जाक, चाल्र्स् डिकन्स्, गुस्ताभ फ्लोबेअर, लेभ तल्स्तोइ, माक्सिम गोर्की, ठोमास मान र अर्नेस्ट हेमिङ्वेको व्यक्तिचित्र र ग्रन्थकारिताको रचना विश्लेषण छन् । यसैगरी अस्तित्ववादी साहित्यकारहरू फ्यदोर दस्तोएभ्स्की, फ्रान्त्स् काफ्का, जाँ पाल सात्र्र, अल्बेअर कामुको सङ्क्षिप्त चिनारी पनि यसमा समेटिएको छ ।

मूलतः त्रिभुवन विश्वविद्यालयको नेपाली विषयमा स्नातकोत्तर तहका विद्यार्थीमुखी भए पनि पुस्तकको उपयोगिता त्यतिमा सीमित रहेन । त्यो नेपाली साहित्यका निम्ति नवीन सुकार्य भइदियो । म सोच्छु, अङ्ग्रेजी साहित्यको स्वाद नपाएका नेपाली पाठक त्यो बेला कति धन्य भए होलान् ? तानासर्मालाई कति धन्यवाद दिए होलान् ? 

तानासर्मालाई थालनीमा उनलाई पाँच छ जना साहित्यकारको परिचय लेख्न भनिएको रहेछ । तर जाँगरिला लेखकले १९ जना पु¥याइदिए र एउटा लोभलाग्दो जीवनीसङ्ग्रह तयार भयो । शर्माले लेखेका छन्, “नेपाली साहित्यको विकासमा पश्चिमा साहित्यको अग्घोर ठूलो हात छ । हामी सेक्सपियर, होमर, दान्ते, बाल्जाक र तल्स्तोइहरूको कुरा निरन्तर उक्काउँछौँ । त्यति भएर पनि तिनका कृतिहरू अथवा तिनका विषयमा लेखिएका परिचयहरू नेपालीमा पाइँदैनन् । यस अभावले नेपाली पाठकहरूको ज्ञानसीमालाई सङ्कीर्ण बनाएको छ ।”

सँगसँगै लेखकको स्पष्टोक्ति पनि छ । पुस्तकमा पश्चिमका सबै प्रसिद्ध साहित्यकारहरू अटाएका छैनन् । १९ जनाले पश्चिमा साहित्यका सम्पूर्ण साहित्यिक निधिहरूको प्रतिनिधित्व गर्न पनि सक्दैनन् । त्यसो भए पनि यी १९ जना साहित्यकारहरूलाई पश्चिमका प्रतिनिधि लेखक होइनन् भन्न सकिँदैन । 

कुन साहित्यकारलाई किन छनोट गरे भन्नेबारे पनि लेखकका विशिष्ट तर्क छन् । उनी लेख्छन्, “सेक्स्पियर, होमर, ठोमास मान, बाल्जाक र तल्स्तोइलाई विश्वविद्यालयको पाठ्यक्रममा भएकैले मैले समावेश गरेको हुँ तापनि छान्नुपर्दा म यीमध्ये कुनैलाई पनि छाड्ने थिइनँ । ...इब्सन र चेखोभलाई समावेश गर्दा दुई कुरालाई ध्यानमा राखिएको छ । पहिलो कुरा त यी दुवै साहित्यकारहरू जनपक्षीय हुन् । दोस्रो, नाटककारहरूमा एक्ला सेक्सपियरलाई मात्र पार्नु उचित लागेन । गोर्कीलाई सर्वहारावर्गका प्रतिनिधि लेखक भएकाले, डिकन्सलाई अङ्ग्रेजी उपन्यास क्षेत्रका प्रतिनिधि साहित्यकार भएकाले र फ्लोबेअरलाई शाश्वतवादी साहित्यका प्रतिनिधि उपन्यासकार भएकाले यस पुस्तकमा ल्याइएको हो ।’

यस लेखोटमा किताबको कुण्डली उतार्न लागिएको होइन । पश्चिमा साहित्यका विभूतिहरूका बारेमा धेरै पाठकलाई थाहा छ । थाहा भएकै कुरा दोहो¥याउनु अर्घेल्याइँ हुन जान्छ । यहाँ चर्चा गर्न लागिएको प्रसङ्ग पाँच दशक पुरानो कालखण्ड अनि पुस्तक र पात्रको हो । अहिले यसबारे पाठकलाई भलिभाँती अवगत नै छ । अवगत नभए पुस्तक खोजेर पढ्न नसकिने पनि होइन । त्यसैले लेखकले साहित्यकारहरूलाई कसरी चिनारी गराएका छन् भन्ने सामान्य जानकारी गराउन मात्र खोजिएको छ ।

संस्कृत साहित्यका प्राचीन काव्य ‘रामायण’ र ‘महाभारत’ जस्तै प्रख्यात पश्चिमा महाकाव्य ‘इलिअड’ र ‘ओडिसी’का रचयिता हुन् होमर । पश्चिमाहरूले सम्पूर्ण कविताजगत्का पिता मानेका होमरका बारेमा विभिन्न अड्कल, जनश्रुति र विश्वास छन् । तर प्रामाणिक जीवनी भेटिँदैन । 

उनका आठ खाले जीवनी प्रचलित छन् । कोही भन्छन्, होमर अन्धा थिए । कोही भन्छन्, बूढा थिए । कोही भन्छन्, दरिद्रताबाट प्रताडित भएर प्राचीन ग्रीसका नगरहरूमा घुमिहिँड्ने कवि थिए । उनको मृत्यु क्राइस्टपूर्व ६८५ देखि ११५९ भित्र भएको अनुमान छ । रोचक के भने, जन्म र मृत्युको टुङ्गो नभएका होमरबारे तानासर्माले १४ पृष्ठ लामो शानदार जीवनी तयार पारेका छन् । 

दुवै महाकाव्यका रचयिता एउटै व्यक्ति होइनन् भन्न महाविवाद छ । धेरै लेखकहरूको रचना गाँसेर यसको निर्माण भएको भन्ने मत पनि छ । त्यो जुगजमानामा कुनै साहित्यिक रचना वा रचनाकारहरूको टिपोट राख्ने चलनै थिएन । तानासर्माको निष्कर्ष छ, “होमरको जीवनी खोतल्न खोज्दा आइलागेका समस्याहरूमा बढी घोत्लिनु उचित देखिँदैन । उनको जन्म र मृत्युबारे केही थाहा नपाउँदैमा वा उनका रचनाहरूको इतिहास अन्धकारमा रहँदैमा उनको र उनका कृतिहरूको महत्ता घटेको छैन र घट्न सक्दैन पनि ।”

इटालेली साहित्यका महाकवि दान्ते अलिग्हिएरी कुन दिन जन्मेका थिए भन्ने अहिलेसम्म पत्ता लागेको छैन । तानासर्माले आफ्नो ‘ब्रान्डेड’ शैलीमा उनको परिचय यसरी खिपेका छन्, “उनी क्राइस्टाब्द १२६५ को मई महिनामा मामुली सम्पत्ति भएको तर उच्च घराको परिवारमा टुप्लुक्किएका थिए । ... दाँतेका समकालीनहरू उनलाई घोसे, घमन्डी, व्यावहारिक मृदुताको वास्ता नगर्ने, दार्शनिक प्रकृतिका र साधारण मनुष्यहरूसित वाता मार्दा बुझ्न नसकिने भाषा बोल्ने व्यक्तिका रूपमा चिन्थे ।”

पुस्तकको तेस्रो पाठमा बेलायती नाटककार विलियम सेक्सपियर तिलस्मी पात्रका रूपमा उभ्याइएका छन् । जम्मा ५२ वर्षको अल्पायु पाएका सेक्सपियरको नाउँसित जोडिएका महान् नाटकहरू र कविताहरू अरू कसैले लेखेका हुन् भन्ने बहस छेडिएको छ । उनका रचना फ्रान्सिस बेकन, बेन जन्सन, एड्वर्ड द भर, पेम्बु ककी काउन्टेसन, क्रिस्टोफर मार्लो आदि कसले लेखेको त ?

कतिपयको आशङ्का के छ भने सेक्सपियरले ओथेलो, ह्याम्लेट, किङ लिअर र मक्बेथ जस्ता महान् नाटकहरू लेख्नु असम्भव थियो किनभने उनले कुनै महाविद्यालय वा विश्वविद्यालय पढेका थिएनन् । सेक्सपियरले बेलायत छाडेर इटाली भ्रमण गरेको भरपर्दो प्रमाण छैन । तर उनका धेरैजसो नाटक इटालीका विभिन्न नगरहरूको पृष्ठभूमिमा छन् ।

यति मात्र होइन, सेक्सपियरको दरबारियासँग उठबस थिएन । तर उनका नाटकमा दरबारिया चालचलन, वेशभूषा र भाषासम्बन्धी राम्रो ज्ञान भेटिन्छन् । सेक्सपियरका नाटकहरू उनका हस्तलिपिमा भेटिँदैनन् । सेक्सपियर मर्नुअगाडि उनले लेखेको अन्तिम इच्छापत्रमा मामुली खाट र गहनाहरूबारे उल्लेख छ । तर उनको पुस्तकालय वा नाटकहरूको बारेमा एक शब्द पनि पाइँदैन । मार्लोले नै सेक्सपियरको छद्मनाउँमा कृतिहरू छपाएका हुन् । आदि इत्यादि ।

तानासर्माले उनका वियोगान्त नाटक, सुखान्त नाटक, ऐतिहासिक नाटक, गीतिकविता र चौधहरफे कविताहरूबारे मसिनेरी प्राज्ञिक चिरफार गरेका छन् । उनी वियोगान्त नाटकहरूको तुलनामा सुखान्त नाटकहरूलाई त्यति महìवपूर्ण मान्दैनन् । राजाहरू, भविष्यवक्ताहरू र पुरोहितदेखि लिएर ढँटुबारे, मगन्ते र गाउँलेहरूसम्मलाई आफ्नो नाटकमा ओरालेर सेक्सपियरले मानवका सम्पूर्णताको सकेसम्म प्रतिनिधित्व गरेको ठान्छन् ।

पुस्तकमा तानासर्मा जर्मन साहित्यका महाकवि योहान गोएटलाई होमर, दान्ते, सेक्सपियरको हाराहारीमा राख्छन् । उनी कवि, नाटककार, आलोचक, उपन्यासकार र दार्शनिक मात्र नभएर विचारक र वैज्ञानिक पनि रहेछन् । उनको चाहिँ जन्म यकिन छ, सन् १७४९ अगस्ट १८ । उनलाई महान् नाट्यकविता लेख्ने सुर चढेको ५० वर्षमा पूरा भएको थियो, ‘फाउस्ट्’ । यसको पहिलो भाग सन् १८०८ मा छापिएको थियो भने दोस्रो भाग १८३२ मा । तानासर्मा लेख्छन्, “जीवनभरि जुका टाँसिएझैँ टाँसिने दुई बानीहरू उनमा बसेका थिए– कविता लेख्ने र प्रेममा फस्ने ।”

पाचौँ क्रममा लेखकले महाकवि पर्सी बिस सेली बाँचुन्जेल मात्र होइन, मरेपछि पनि उग्र विवादको विषय बनेको बयान गरेका छन् । आजीवन प्रेम र क्रान्तिका कविता लेखेका सेली अङ्ग्रेजी कविताको रोमान्सेली युगका विशिष्ट कवि मानिन्छन् । राम्रा राम्रा उपमाहरू एकै ठाउँमा थुपार्ने उनले लामो जिन्दगी पाएनन् । सन् १८२२ जुलाई ८ मा नाउ खियाउँदै गर्दा समुद्री आँधीमा परी डुबे । त्यतिबेला उनको कोटको एउटा गोजीमा सफोक्लिजका ग्रन्थ थियो भने अर्को गोजीमा किट्सका कविता ।

फ्रान्समा जन्मेका अनरे द बाल्जाकले जति उपन्यास विश्व साहित्यमा अहिलेसम्म कसैले पनि लेखेको छैन । तीन सय पचास जति आख्यानकृतिमा उनले आफ्नै अनुभव रित्याएका छन् । समरसेट ममको शब्दमा बाल्जाक संसारले आजसम्म थाहा पाएका उपन्यासकारहरूमा सर्वश्रेष्ठ हुन् तर तल्स्तोइको ‘वार एन्ड पिस’ सबैभन्दा ठूलो उपन्यासकार हो । 

तानासर्माले एकै वाक्यमा बाल्जाकको विराट ‘पेनस्केच’ गरेका छन्, ‘रातो र च्याप्टो मुख भएका, गोरो र साँढेको जस्तो गर्दन भएका, मोटा र भुँडे शरीर भएका, अनेकौँ उच्च वर्गीयहरूका पत्नीहरूसित हाक्काहाक्की प्रेम गरिहिँड्ने, सापटी माग्न कसैसित पनि नलजाउने तर तिर्न भनेपछि सधैँ पछि हट्ने, बाढी उर्लेझैँ उपन्यासहरू, लघुन्यासहरू र कथाहरू एकोहोरो लेखेको लेख्यै गर्ने तर प्रकाशनहरूसित गरेका सम्झौताहरू अनुसार समयमा पुस्तक बुझाउन गाह्रो मान्ने अनि आफ्नो आम्दानीले नभ्याउने मनोरञ्जनपूर्ण जीवन व्यतीत गर्ने महान् फ्रान्सेली साहित्यकार ।”

सातौँ पाठमा लेखिएअनुसार बेलायती उपन्यासकार चाल्र्स डिकन्स् देशका कुनाकुनामा गएर आफ्ना उपन्यासका अंशहरू सुनाउँथे । ‘डेभिड कपर्फिल्ड’ का लेखक उनलाई दोस्रो पटक सन् १८६७ मा अमेरिका जाँदा कस्तो सम्मान भयो भने त्यस्तो सम्मान कुनै पनि जीवित लेखकले त्यहाँ पाएका थिएनन् । 

तानासर्माले लेखेका छन्, “डिकन्सकी पत्नी सभाभोज आदिमा राम्रो व्यवहार गर्न जान्दिनथिन् । कहाँसम्म भने आफ्ना छोराछोरीहरूको हेरचाह पनि उनबाट राम्रो हुन सक्दैनथ्यो । उनी खालि ग्यालग्याल्ती नानीहरू जन्माउनामा मात्र दक्ष थिइन् । वास्तवमा साली जोर्जिना नभएकी भए डिकन्सको घर चल्ने थिएन ।” अलिअलि स्त्रीद्वेषीजस्तो भाषा देखिए पनि यसमा लेखकको गद्यबान्की फेला पर्छ ।

आधुनिक गद्यकविताको जग बसाउने कवि वल्ट् विट्मनले सुरुताका छन्द परिपाटीका रून्चे कविता नलेखेका होइनन् । तर सन् १८५५ मा ‘लिभ्स अफ ग्रास’ (घाँसका पातहरू) मा सङ्कलित १२ कविता आएपछि भने उनको पानीखेदो भयो । किनभने विषयवस्तु, आकार र वाक्य गठनमा नौला थिए । परम्परागत दृष्टिकोणमा छन्द, लय र अनुप्रास मिलेका थिएनन् । 

उनलाई केही पनि नजान्ने भुसतिघ्रे स्वाँठ भनी खनिए । झारका पातहरू भनेर खिसीट्युरी गरे । अश्लीलताको नाममा कोर्रा हान्नुपर्ने माग गरे । तर उनी डराएनन्, तर्सेनन् । पछि गएर त्यही नै नवीनतम काव्यशैली बन्यो । युवाकविहरूले उनको सिको गरे । मृत्युको २५–३० वर्षसम्म उनले खासै महìव पाएनन् । तर आज उनी अमेरिकाकै महान् कवि मानिन्छन् ।

यथार्थवादी उपन्यास ‘मादाम बोभारी’का जन्मदाता गुस्ताभ फ्लोबेअर ऐकान्तिक थिए, रिसाहा थिए, सन्काहा थिए । कला र साहित्यको साधनामा पैसा कमाउने स्वार्थले लाग्नेहरूलाई देखिसहँदैनथे । आफ्ना कृतिमा खोट देखाइदिएको रुचाउँदैनथे । त्यसैले उनका मित्रहरू कोही हुन सकेनन्, टाढै बसेर प्रशंसा गर्नेहरू मात्र धेरै भए । 

उनले आफ्नैसमेत कठोर आलोचना गरेका छन् । प्रेमिकाले शारीरिक सम्बन्धका लागि पत्राचार गर्दा जबाफ पठाए, ‘जीवनमा म प्रेमलाई पहिलो होइन, दोस्रो ठाउँ दिन्छु ।’ त्यति मात्र होइन, भेट्न जाँदा ढोकाभित्र पस्नै नदिई निठुरी पारामा फर्काइदिए ।

आफ्नो लेखनशैली सुधार्न बाइबल पढिरहने हेनरिक इब्सन पनि पात्र छन् पुस्तकमा । सेक्सपियरको सेखपछिको साढे तीन सय वर्षपछि युरोपमा उदाएका नाटककार इब्सनका यथार्थवादी गद्यनाटकले पूरै स्क्यान्डिनेभिया हल्लाएका थिए ।  विरोधाभासको कुरा गर्ने हो भने उग्र यौन भोगविलासमा आकण्ठ डुबेका विश्वका श्रेष्ठतम लेखक लेभ तल्स्तोइपछि गएर साहित्यमा नैतिक तìवलाई जोड दिन्छन् । यो विरोधाभासमा पनि मिठास छ ।

जारकालीन रसियाली साहित्यका अर्का महान् हस्ती अन्तोन चेखोभले ६ सयभन्दा बढी कथाहरू लेखेका छन् । उनका नाटकले रसियाली जीवनको प्रतिनिधित्व गर्छन् । तानासर्माले गोर्कीलाई छुटाउने कुरै भएन । उनको निम्न वर्गीय जनताप्रति सहानुभूति दर्साउने साहित्य मात्र होइन, उच्चाट लाग्दो, अमिलो र घृणित जीवनलाई चित्रित गरेका छन् ।

बीसौँ शताब्दीका महान् साहित्यकार ठोमास मान र अर्नेस्ट हेमिङ्ग्वेको पात्रता पनि तानासर्माको कलममा औधी सुहाएको छ । सोह्रौँ अध्यायमा लेखकले सन् १९४० मा जाँ पल सात्र्रले चलाएको अस्तित्ववादी आन्दोलन र चार जना विश्वप्रसिद्ध अस्तित्ववादीहरू साहित्यकारलाई पनि उच्च महìव दिएका छन् । किन हो कुन्नि प्राचीनभन्दा पछिल्ला साहित्यकारहरूबारे तानासर्माले सकेसम्म कम शब्द खर्चिएका छन् । पछिल्ला साहित्यकारबारे पाठकलाई धेरै थाहा हुने भएर पनि हुन सक्छ । 

पक्कै पनि पुस्तकका पात्रहरूलाई तानासर्माले भौतिक रूपमा भेटेका होइनन् । पुस्तकमा पढेका मात्र हुन् । कहिल्यै नभेटेका, नदेखेका मान्छेका बारेमा पनि विभिन्न सन्दर्भ सामग्रीको अध्ययनबाट यति सूक्ष्म र रसिलो खुराक पाठकलाई चखाउने लेखक स्वयं धन्यवादका पात्र छन् ।

पुस्तकका प्रत्येक पाठ पढ्दा एउटा सिङ्गै जीवनी पढ्दाको विशाल रोमाञ्च अनुभूति हुन्छ । प्रत्येकमा पाठकले साहित्यकारको व्यक्तिगत जीवन, रोचक मोड अनि रचनात्मक नालीबेली थाहा पाउँछन् । जिन्दगीका सुन्दर–असुन्दर पाटोसँग साक्षात्कार हुन्छ र हर्षातिरेकमा लेखकप्रति कृतज्ञ हुन्छन् । 

तानासर्मा नेपाली साहित्यका अद्वितीय गद्यकार हुन् । उनले जीवनी, नियात्रा, निबन्ध, समालोचना, अनुवाद, उपन्यास आदि बहुविधामा प्रशस्त पुस्तक लेखेका छन् । धेरै वर्ष पहिले प्रकाशित एक अन्तरवार्ता उनले भनेका थिए, “अहिलेसम्म मेरा दुई सय छब्बीस पुस्तक (सम्पादितबाहेक) छापिइसकेका छन् ।” अन्तिमको हिसाबकिताब भएको छैन । 

उनका जीवनी, नियात्रा र समालोचनाको तुलनामा आख्यानका बारेमा भने खासै चर्चा भएको छैन । उनका ‘मेरो कथा’ (२०२३), ‘ओझेल पर्दा’ (२०२३), सुली (२०३०), ‘झझल्को’ (२०३५) र ‘नेपालदेखि अमेरिकासम्म’ (२०४८) उपन्यास प्रकाशित छन् । २०२३ का दुई उपन्यास उनले केन्द्रीय कारागारमा तीन महिना बस्दा लेखेका रहेछन् । २०२२ सालमा मवीवि शाहको कविता ‘उसैको लागि’ हिन्दी गीतको नक्कल भनेर आलोचना गर्दा सुरक्षा कानुनअन्तर्गत तानासर्माकै नाममा उनको जेलबास भएको थियो । पछि गएर कविराजा महेन्द्रकै हुकुममा थुनामुक्त समेत भए । उनको एउटा कथासङ्ग्रह पनि छ, ‘दुई पोका चुरा’ (२०२६) । 

‘मेरी शान्तालाई’ समर्पित प्रस्तुत पुस्तक तानासर्माको जीवनीलेखन मात्र होइन, समालोचना शैलीको पनि उम्दा नमुना हो । उनको जीवनी अनि समालोचना शैली रसिलो, भरिलो, चाखिलो र चोटिलो छ । विश्वविद्यालयका प्राध्यापकहरूमा विद्यमान शुष्क शैली उनमा पाइँदैन । उनका समालोचना अत्यन्त सिर्जनशील छन् । अर्को कुरा– पश्चिमा साहित्यकारको चर्चा गर्दा नेपाली साहित्य र साहित्यकारका कुरा पनि खुसुक्क घुसाइहाल्छन् । 

जगजाहेर छ, तारानाथ शर्मा भाषावैज्ञानिक हुन् । त्यसैले पुस्तकमा पश्चिमा साहित्यकारहरूका नामको जनजिब्रोको चलनचल्तीमा रहेको उच्चारण आफ्नै प्रकारको छ । जस्तोः दाँतेलाई उनी दान्ते भन्छन् । गेटेलाई गोएट लेख्छन् । झर्रा शब्दले जीवनीको उचाइ बढाएकै छ । टेकवीर मुखियाको चित्रकारिता पनि यसको सुखद पक्ष हो ।   

जीवनमा कहिल्यै भौतिक भेट नभएका महान् साहित्यकारका जीवन्त शब्दचित्रसँग साक्षात्कार हुन पाउनु चानचुने होइन । तारानाथ शर्मा त आज भौतिक रूपमा छैनन् । 

जीवित छउन्जेल उनलाई यसनिम्ति साधुवाद दिइएन सायद । तर नेपाली साहित्यका पाठकले तानासर्मालाई सम्झना गरिरहनेछन् । उनको पश्चिमा नासोलाई सुमसुम्याइरहने छन् र ज्ञानवृद्धि गरिरहने छन् ।