• १३ पुस २०८१, शनिबार

एउटा वर्जित फूल हुँ म (कविता)

blog

 दुुनियाँको पहुँचभन्दा पर

पारि पहरामा फुलेको

एउटा अनाम फूल हुँ म 

झुक्किएर पनि नहेर्नु यता

एउटा वर्जित फूल हुँ म 


न टिप्नु कसैले

न लगाउनु शिरमा

न चढाउनु मन्दिरमा

म मरेर पनि, तिम्रो पूजामा

सामेल हुन सक्तिनँ

एउटा अस्पृश्य फूल हुँ म 


न हिँड्नु यतातिर फर्किएर नहिँड्नु 

हिँड्नु मदेखि तर्किएर हिँड्नु

तिमो नजरमा ठोकिएँ भने म 

घाइते हुनेछौ तिमी 

दोषी हुनेछु म 

तिम्रो कारण अकारण म 

दोषी हुन सक्तिनँ

एक्ला, ज्याद्रो, जियालो

एउटा अजिबको फूल हुँ म ।