• २ असार २०८१, आइतबार

संसदीय समितिद्वारा तटबन्ध अनुगमन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार १९ गते  ।  व्यवस्थापिका संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले म्याग्दीखोला र कालीगण्डकी नदीमा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजकत्वमा समितिका सदस्यहरू घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ र लालकाजी गुरुङसहितको अनुगमन टोली केही दिनअघि म्याग्दी आएको हो । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा नम्बर– ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्माण कम्पनीका राजकुमार श्रेष्ठ अनुगमनमा सहभागी हुनुहुन्छ । बेनीबजार र गलेश्वर बजार संरक्षण गर्नका लागि विभिन्न चार ठाउँमा तटबन्ध निर्माण हुँदैछ । 

अनुगमनका क्रममा सांसद थापाले तटबन्ध सुरक्षित र दीर्घकालीन हुनुपर्ने धारणा राख्नुभयो । सहभागी सांसदहरूले पनि मानवबस्ती तथा बजारको सुरक्षा र संरक्षणका लागि निर्माण गरिने तटबन्ध बलियो र टिकाउ हुनुपर्नेमा जोड दिनुभयो । 

सो टोलीले बेनी नगरपालिका–८ स्थित कालीपुल, बेनी–७ स्थित म्याग्दी जेसिजको भवनअगाडि, मङ्गलाघाट र बेनी नगरपालिका–९ स्थित गलेश्वर क्षेत्रमा नदी तटबन्ध निर्माण स्थलको अनुगमन गरेको छ । 

गएको चैत महिनादेखि तटबन्ध निर्माणको काम सुरु भएको हो । पहिलो चरणको करिब ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीको  भनाइ छ । नदी तटबन्ध निर्माणको जिम्मेवारी रौतह बी एन्ड बी काठमाडौँमार्फत रूपाताल संरक्षण एकीकृत विकास परियोजना पोखरा र माउन्ट धौलागिरि कन्स्ट्रक्सन प्रालि म्याग्दीले लिएको छ ।  करिब नौ करोड ४५ लाख लागतमा नदी किनारमा तटबन्ध निर्माण गर्न दुई वर्षको ठेक्का सम्झौता गरिएको माउन्ट धौलागिरि कन्स्ट्रक्सन प्रालिका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कार्यमा दैनिक ५० जना मजदुरहरू परिचालन गरिएका छन् । 

सांसद थापाको सक्रियतामा नदी कटानका कारण जोखिमपूर्ण सदरमुकाम बेनीबजार संरक्षण गर्ने कार्यक्रम नीतिअनुसार गत वर्षदेखि बहुवर्षे ठेक्कामार्फत नदीमा तटबन्ध निर्माणको काम सुरु भएको थियो । बेनीको मङ्गलाघाट क्षेत्रमा उपभोक्ता समिति र ठेक्कामार्फत ८० मिटर ग्याबिन जाली लगाइएको छ । 

गलेश्वरमा उपभोक्ता समितिमार्फत ३२० मिटर लामो ग्याबिन जाली लगाइएको छ । यसैगरी कालीपुल क्षेत्रमा ठेक्कामार्फत ८० मिटर कङ्क्रिट वाव, जेसिज भवनमुनि उपभोक्ता समितिबाट २६६ मिटर ग्याबिन जाली लगाइएको छ । 

रूपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत कालीपुल बसपार्कमा रेलिङ निर्माणसँगै मानिस हिँडडुल गर्नका लागि ब्लक राखेर तीन मिटरको फुटपाथ निर्माण गरिनेछ ।

यसअघि संसदीय समितिको अनुगमन टोलीले मुस्ताङको जोमसोम बजार संरक्षणको कालीगण्डकी तटबन्धन, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अनुगमन गरेको थियो । 

भारतीय एक्जिम बैङ्कको लगानीमा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको ४५ प्रतिशत भौतिक प्रगति देखिएको समितिका सदस्य एवं मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खतिवडाले बताउनुभयो । आयोजना निर्माणमा ८० प्रतिशत भारत र २० प्रतिशत नेपालको मजदुर तथा निर्माण सामग्री प्रयोग भएको छ ।