• १५ असोज २०८२, बुधबार

देवी दुर्गाको स्वरूप कुमारी कन्याको पूजा

blog

कुमारी कन्याको पूजा गरिदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज १५ गते । दशैँको महानवमीका दिन बुधबार कुमारी कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर विशेष रूपमा पूजा गरिएको छ । घरमा सुख–शान्ति, समृद्धि र शक्तिको वास हुने विश्वासका साथ “कन्यामा मानेर कन्या पूजा गरिएको हो । ब्रतिहरुले छरछिमेकमा भएका दुई देखि नौ वर्ष उमेर समूह अर्थात् महिनावारी नभएका कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर पूजा गरिएको ब्रतालु मन्जुदेवीले बताउनुभयो ।

हिन्दु धर्मालम्बीहरुको महान तथा बडादशैंमा कुमारी कन्याको पूजा अत्यन्त महत्वपूर्ण परम्परा रहेको पण्डित बद्री झाले धार्मिक मान्यता अनुसार प्रत्येक उमेरकी कन्या फरक–फरक देवीको रूप मानिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई वर्षकी बालिका कुमारी, तीन वर्षकी त्रिमूर्ति, चार वर्षकी कल्याणी, पाँच वर्षकी रोहिणी, छ वर्षकी कालिका, सात वर्षकी चण्डिका, आठ वर्षकी श्यामला र नौ वर्षकी दुर्गाको प्रतीक मानिन्छ ।’’

पूजाको दिनमा कन्यालाई निम्त्याएर उनीहरूको खुट्टा धोइन्छ, अबिर–अक्षता, फूल र टीका लगाइन्छ, विशेष परिकार खुवाइन्छ र दक्षिणा वा उपहार दिइने गरेको अर्की ब्रति सुनिताकुमारी साहले जानकारी दिनुभयो । विशेष परिकार नभए दही, च्युरा, चिनी, केरा, लडडु सहित विभिन्न मिठाइ खुवाएर उनीहरुबाट फलिफापको आशिर्वाद लिने गरिएको उहाँले बताउनुभयो ।

यस पूजाले कन्यामार्फत नारीशक्तिलाई सम्मान गर्ने तथा देवी दुर्गाको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको उहाँले भन्नुभयो, ‘‘हाम्रो समाजमा नारीलाई शक्ति, श्रद्धा र आदरको दृष्टिले हेर्ने संस्कारलाई अझ मजबुत बनाउँछ ।’’ कुमारी कन्यालाई पूजा गर्दा घरमा सुख–शान्ति, समृद्धि र शक्तिको वास हुने जनविश्वास रहेको उहाँले बताउनुभयो ।

केही ब्रतिले अराध्यादेवी दुर्गा भगवतीका शक्तिपीठहरुमा नै कुमारी कन्यालाई दुर्गाको प्रतीकको रुपमा पूजा गरिन्छ । कुमारी कन्यासँगै एक जना कुमार बर जसलाई भैरबको प्रतीकको रुपमा पूजा गरिन्छ । सप्तरीको छिन्नमता भगवती मन्दिर, कंकालीनी भगवती मन्दिर, डाक्नेश्वरी मन्दिर, राजदेवी मन्दिर, भगवती मन्दिर परिसरमा समेत कन्या पूजा गरिएको छ ।