अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज १५ गते । नेपालीहरुको महापर्व बडा दसैंको सुरुवाती दिनमा चहलपहल र भिडभाड देखिएको जिल्ला सदरमुकाम बागलुङ बजार नवमीको दिनदेखि सुनसान बनेको छ ।
चाडपर्व मनाउन सर्वसाधारण गाउँ फर्किएपछि बजार सुनसान देखिएको हो । दसै सुरु भएदेखि मंगलबारसम्म चाडपर्व मनाउन काठमाडौं, पोखरा लगायतका सहरबाट फर्किने र गाउँबाट किनमेल गर्न आउने सर्वसाधारणका कारण बजारमा भिड देखिएको थियो । सर्वसाधारण गाउँ फर्किपछि सुनसान बनेको छ ।
जिल्ला सदरमुकाम बागलुङमा प्रायः कर्मचारी, विद्यार्थी र व्यवसायी र कामदार बस्ने गर्दछन् । रोजगारीका लागि वा अध्ययनका लागि जिल्ला केन्द्रित हुने गर्दछन् । चाडपर्व लागेसँगै सधै भिडभाड हुने बजार कर्मचारी, विद्यार्थी र व्यवसायी दसै मनाउन गाउँ फर्केपछि सुनसान भएको छ । दसैको टीकाको अघिल्लो दिन बुधबार बजार सुनसान र चकमन्न बनेको छ ।
बागलुङ बजारमा बसोबास गर्नेमध्ये धेरैजसो विद्यार्थी बाहिरी जिल्ला र अन्यन्त्र पालिकाबाट आउनेहुँदा उनीहरु फर्किएसँगै बजार सुनसान भएको छ ।
अहिले बजारक्षेत्रमा स्थानीयबासी मात्र रहेका छन् । चाडपर्वमा सहरबाट गाउँघर फर्किएपछि पसलहरु बन्द छन् भने बजार, चोक तथा बसपार्कसमेत सुनसान बन्दैगएको छ ।