जनार्जन खत्री
सर्लाही, असोज १५ गते । सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ ।
सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका तीन जना बालबालिका र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका –६, मगरथानाका रहेका छन् ।
मृत्यु हुनेहरुमा ६५ वर्षीया सायदा खातुन, छ वर्षीया सबिबा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षिया नर्गिस खातुन रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा अचेत अवस्थामा रहेका चारै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
खोला किनारमा खुर्पीले माटो खन्नेक्रममा ढिस्को नै खसेर चारै जनालाई पुरेको स्थानीय धर्मेन्द्र पासवानले जानकारी दिनुभयो । पासवानका अनुसार चाडपर्वमा पूजापाठका लागि छ जना एकैसाथ माटो लिन आएकामध्ये दुई जना भाग्न सफल भएका छन् ।
सुरक्षित रहेका दुई जनाले घटनाबारे जानकारी गराएपछि गाउँलेहरु घटनास्थलमा आइपुगेका थिए । प्रहरीसमेत घटनास्थलमा पुगेर मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगेको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।