• १३ असोज २०८१, आइतबार

माओवादी केन्द्रको बैठक आज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १९ गते । पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी रहेको बताउनुभयो । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । 

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने बताउँदै उहाँले भन्नुभयो, “आगामी सङ्घ तथा प्रदेशको निर्वाचनका लागि तयारी र रणनीतिको पनि तय हुनेछ ।” २०७८ पुस १८ गते काठमाडौँमा सम्पन्न पार्टीको आठौँ महाधिवेशन २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेर सम्पन्न भएको थियो । पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । अध्यक्षबाहेकका अन्य पदाधिकारी हालसम्म चयन हुन सकेको छैन । 

आठौँ महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ तर पदाधिकारीको सङ्ख्या भने तोकिएको छैन । महाधिवेशनले २९९ केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । स्थानीय तह निर्वाचनअघि पटक–पटक सरेको केन्द्रीय समितिको बैठक निर्वाचनपछि पनि सरेको थियो ।