• १४ असार २०८१, शुक्रबार

सात वर्षदेखि असरल्ल पुस्तकालय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १९ गते । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् ।

२०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । किताब असरल्ल छन् । कतिपय पुस्तकलाई चिस्यानले भेटिसकेको छ । पुस्तकालयभित्रका पुस्तकको सुरक्षाका लागि वैज्ञानिक उपचार विधि अपनाइएको छैन । विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भन्नुभयो, “पुस्तकलाई कपुर र पङ्खाको हावाले सुरक्षा गरिएको छ ।” पुस्तकमा चिस्यान नहोस् भनेर दिनभरिजसो नै पङ्खा चलाउने गरिएको छ ।

महत्त्वपूर्ण  कतिपय पुस्तकलाई कपडाले बाँधेर राखिएको छ । कोभिड–१९ का बखत बन्दाबन्दीमा धेरै पुस्तकमा ओस पसेर बिगारिदिएको छ । पुस्तकालयभित्र पूर्वीय दर्शनलगायतका महत्त्वपूर्ण  धार्मिक ग्रन्थ पनि राखिएको छ । २०७२ सालको भूकम्पले पुस्तकालय भवनलाई नमज्जाले क्षति पु-याएपछि विद्यार्थी, प्राध्यापक र शोधकर्ताबाट पुस्तकालय टाढिएका छन् । 

केही पुस्तकलाई विद्यापीठको मुख्य भवनमा एउटा कक्षाकोठा हटाएर राखिएको छ । पुस्तकालय प्रमुख कृष्ण निरौलाले पुस्तकालयका पुस्तकलाई जोगाउन निकै समस्या परेको बताउँदै भन्नुभयो, “हेर्दाहेर्दै सबै पुस्तक काम नलाग्ने पो हुनेछन् भन्नेमा चिन्तित छौँ ।”

प्रा.डा. ढकालले भारतीय दूतावासमार्फत पुनर्निर्माण गर्न दुई पटक बोलपत्र आह्वान भएको तर ठेकेदारले अधिक मूल्य प्रस्ताव गरेकाले सो स्वीकृत नभएको आफूहरूले थाहा पाएको बताउनुभयो । उहाँले पुस्तकालय भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव पेस गरेको बताउनुभयो । पुस्तकालयमा ३३ हजार सात सय पुस्तक दर्ता भएका छन् । तीबाहेक दाताले उपलब्ध गराएका करिब १५ हजार थप पुस्तक छन् ।