• १३ साउन २०८१, आइतबार

पाँचथर पहिरो अपडेट : एकको मृत्यु, दुई बेपत्ता

blog

नारायण तुम्बापो

फिदिम, असार १८ गते। पाँचथरको फालेलुङ गाउँपालिका–७ को रातमाटेमा गएको परिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै शुक्रबार राति १० बजे आएको पहिरोमा परेर ४५ वर्षीय रुपलाल मगरको मृत्यु भएको हो। रुपलालकी ४५ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिना मगर बेपत्ता हुनुभएको छ। उहाँहरु घरमा सुतिरहेको अवस्थामा पहिरोमा पर्नु भएको हो। 

तलामाथि सुतिरहनु भएका रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने भागेर बच्नु भएको छिमेकी समुन्द्र आङ्बोले जानकारी दिनुभयो। पहिरो गए लगत्तै नजिकैको सिदिन प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीयबासीले बेपत्ताको खोजी गर्न थालेको थिए। 

पीडितको उद्धारका लागि ११ बजे राति नै सदरमुकाम फिदिमबाट थप सुरक्षाकर्मी पठाइएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। शनिबार बिहान ८ : १५ मा घरमै पुरिएको अवस्थामा रुपलाल मगरको शव भेटिएको थियो। बेपत्ता दुई जनालाई शनिबार साँझसम्ममा पनि भेट्टाइएको छैन। उहाँहरुको सघन खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। रुपलालका तीन सन्तान मध्ये एक छोरा, एक  छोरी पढाइका क्रममा झापामा रहेकाले पहिरोबाट बचेका छन्। जेठी छोरीको विवाह भइसकेको छ। 

घरभन्दा करिब तीन सय मिटर माथिबाट पहिरो आएको हो। सडक योजनाको मर्मतको काममा ढिलाई हुँदा पहिरो गएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयवासीका अनुसार असर मसान्तमा सक्नुपर्ने मर्मतको काम ग्राभेल, नाली, ग्याबिन वालका लागि खनेर छोडिएको छ। यसरी खनेको ठाउँबाट पानी बग्दा पहिरो गएको आङ्बोको भनाइ छ।