• १४ जेठ २०८१, सोमबार

होमस्टेबाट महिलाको जीवनस्तरमा परिवर्तन

blog

कावासोती १५ मा अवस्थित अमलटारी होमस्टे । तस्वीर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार १८ गते । नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुरुमा होमस्टे खोल्दा आफुलाई के गर्ने होला, कसरी गर्ने होला पाहुना आउँछन् कि आउँदैनन् भन्ने चिन्ता हुन्थ्यो । कोही पर्यटक गाउँका यस्ता घरमा आएर बस्छ होला र भन्ने थियो । तर हामीले साहस गर्यौं, अहिले राम्रो भएको छ ।”

होमस्टे व्यवसाय फष्टाएपछि अहिले कावासोतीस्थित होमस्टेमा ३१ वटा घरमा होमस्टे सञ्चालनमा आएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका १५ मा रहेको अमलटारी मध्यवर्ती होमस्टेको सहव्यवस्थामा रहेर कार्य गरेको पिङकी महतोलाई ६ वर्ष पुगेको छ । सुरुका दिन पन्ध्र बीस जना पाहुनाको व्यवस्थापन गर्न कठिनाई भएको भएपनि अहिले पचास साठी जना पाहुना आउँदा पनि सहज हुने उहाँले बताउनुभयो ।

मासिक ३० देखि ४० हजार आम्दानी हुने भएपछि राम्रो भएको धनमाया महतोेले बताउनुभयो । वर्षाको समयमा भने अलि पर्यटक आगमनमा कमी हुने उहाँको बुझाई छ । खेती, मजदुरी र माछा मारेर जीविका चलाउने यस क्षेत्रका बिपन्न समुदायले अहिले सुविधा सम्पन्न होमस्टे सञ्चालन गरेर पर्यटकलाई सेवा दिइरहेका छन् । 

जिल्लामा अमलटारी होमस्टे, प्रिपर सुमदायिक होमस्टे, बरौली होमस्टे सञ्चालन गरेर स्थानीयहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान दिइरहेका छन् । होमस्टेमा महिलाको भूमिका बढी देखिएको स्थानीयको भनाइ छ । 

होमस्टे सञ्चालनले स्थानीय महिलाको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उहाँहरुको बुझाइ छ । होमस्टेमा घरेलु उत्पादन खपत हुनुकासाथै स्थानीय संस्कृति पनि प्रवद्र्धन भएको होमस्टे सञ्चालकहरुले बताउनुभयो । होमस्टे सञ्चालनमा आएदेखि गाउँघरका महिला स्वालम्बी बनेको महतोले बताउनुभयो । महिलाको आत्मविश्वास र सम्मानमा पनि वृद्धि भएको उहाँले बताउनुभयो ।