• २९ वैशाख २०८१, शनिबार

किसानलाई मल उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीपातीकाबेला किसानले मल नपाउनु विडम्बना भएको भन्दै तत्काल यथोचित प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले मल ल्याउने मीठो कुरा गरेपनि अहिलेसम्म केही व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो ।

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो टिप्पणी गर्नुभयो । “प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ?” उहाँले सरकारलाई प्रश्न गर्नुभयो । 

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकारबाट कृषि क्षेत्रको उत्थान हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सरकार छोडेको मात्रै हिसाव गर्दा चामल कति आयात भयो ? ६० प्रतिशत जनता कृषिमा संलग्न छन् । हामी खाद्यन्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्वका चामल आयात गरिरहेका छौं ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर तत्काल मल उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएपनि किसानले मल प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । वर्षायाममा किसानलाई पर्याप्त मल चाहिन्छ भन्ने सरकारलाई थाहा हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।