• २० असोज २०८१, आइतबार

चुरे क्षेत्रमा खहरे नियन्त्रण प्रभावकारी बन्दै

blog

धनुषाको बडहरी खोलाको सिरानमा तथा चुरे क्षेत्रको तटबन्ध । तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १८ गते । “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” मूल नाराका साथ चुरे संरक्षण अभियान अन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ । 

चुरे क्षेत्रको खहरेमा तटबन्ध निर्माणपछि वर्षाको बाढीसँगै बगेर जाने गिट्टी, बालुवा र माटो चुरे क्षेत्रमै रोकिएको छ । यस्तै, भूमिगत जल भण्डारमा पनि वृद्धि भइरहेको अनुमान चुरे संरक्षण अभियन्ताहरुको छ । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति एकाइ कार्यालय जनकपुर र सामुदायिक सुधार केन्द्र धनुषाले मिथिला नगरपालिका–१०, लालगढस्थित बडहरी खोलाको सिरान तथा चुरे क्षेत्रको खहरेमा दुई वर्षअघि तटबन्ध निर्माण गरेपछि हजारौं घनमिटर माटो र बालुवा बग्नबाट रोकिएको छ । 

सामुदायिक सुधार केन्द्रका अध्यक्ष सञ्जयकुमार साहका अनुसार तटबन्ध निर्माण भएको दुई वर्षमा दुई मिटर उचाइ, ५० मिटर चौडाइ र झण्डै दुई किलो मिटर लम्बाइसम्म माटो र बालुवा चुरे क्षेत्रमै रोकिएको छ । 

उहाँले यो तटबन्ध नभएको भए यी सबै माटो र बालुवा तलतिर बगेर जान्थ्यो र खेतीयोग्य जमिनलाई क्षति पु¥याउँथ्यो, भन्नुभयो । जम्मा भएर बसेको माटो र बालुवामा बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोप्ने अध्यक्ष साहले जानकारी दिनुभयो । 

यस्तै, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ जनकपुरले माटो, बालुवा तथा गेगरलाई चुरेमै रोक्न आफ्नो कार्य क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लाको चुरे क्षेत्रमा पर्ने खहरेमा तटबन्ध निर्माण गरेको छ । 

एकाइ कार्यालय जनकपुरका प्रमुख महेश ढुङ्गानाले चालू आर्थिक वर्ष ०७८÷०७९ मा मात्रै चुरे क्षेत्रको ४४ स्थानको खहरेमा तटबन्ध निर्माण गरिएको बताउनुभयो । चुरेका गल्छी तथा खहरेमा साना–ठूला तटबन्ध निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

खहरे नियन्त्रण गर्नाले चुरेको माटो चुरेमै रोकिनुका साथै चुरे क्षेत्रमा भइरहेको अत्याधिक भूस्खलनलाई पनि नियन्त्रण गर्न सहयोग पुगेको छ । खहरे नियन्त्रण गर्न बनाइएका तटबन्धले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बेग स्थिर हुने र माटो तथा बालुवालगायतका नदीजन्य पदार्थलाई चुरेमै रोक्न मद्दत पुगेको छ । अहिले बाँधका कारण चुरेबाट हुने क्षति न्यून हुँदै गएको  इकाई प्रमुख ढुङ्गनाले भन्नुभभो । 

बाँध निर्माण गरिएको स्थान तथा छेउमा बाँसको बिरुवालगायत विभिन्न प्रजातिको वृक्षरोपण गरिएको छ । खहरेको छेउमा यसरी बिरुवा रोप्दा खहरेले भूमि कटान गर्न नपाउने र क्षति कम हुँदै पुनः हराभरा जङ्गल हुने जनकपुर एकाइका अधिकृत इन्जिनियर देवपूजन यादवले जानकारी दिनुभयो ।