• १९ असार २०८१, बुधबार

पौने दुई अर्बको विद्युत् निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ ।  

यो अवधिमा प्रधिकरणले कुल १७ करोड ८१ लाख ९१ हजार युनिट बिजुली निर्यात गरेको हो ।  यो अवधिमा प्रतियुनिट मूल्य सबैभन्दा बढी असार १ गते १५ रुपियाँ ९३ पैसा र सबैभन्दा कम असार ७ गते चार रुपियाँ ५२ पैसा थियो । समग्रमा जुन महिनाभरको बिक्रीमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसा प्राधिकरणले पाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो परिणामले मुलुकको समग्र व्यापार घाटालाई समेत कम गर्न बिजुली निर्यातले महŒवपूर्ण सहयोग पुग्ने भएको छ । “विदेशी मुद्रा सञ्चितिको चाप परिरहेका बेला बढी भएको बिजुली बेचेरै आकर्षक परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकेका छाँै । आगामी आर्थिक वर्षमा करिब २० अर्बको विद्युत् निर्यात हुने हाम्रो प्रक्षेपण छ,” उहाँले भन्नुभयो । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालबाट चालू आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब रुपियाँको वस्तु निर्यात भएको छ । यसमध्ये ४५ प्रतिशत हिस्सा त आयातित सोयाबिन र पाम आयलकै छ । भन्सारको यो तथ्याङ्कमा बिजुली निर्यात समावेश हुँदैन ।

प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत्् प्राधिकरणबाट नेपालका छवटा जलविद्युत् आयोजनाको बिजुलीलाई स्रोत मानी आईईएक्समा बेच्न स्वीकृति पाएको थियो । भारतमा बेच्नका लागि प्राधिकरणले करिब आठ सय मेगावाटका लागि प्रस्ताव गरेकामा हालसम्म ३६४ मेगावाटको मात्र स्वीकृति पाएको छ । अरूको प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ ।  आईईएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत् कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरकफरक हुने गरेको छ । 

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । 

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुन्छ । 

प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ ।