तुलसीपुर समाचारदाता
तुलसीपुर, असोज १४ गते । दाङको तिल्की चामल र बँदिया भाले दसैँ, तिहार जस्ता चाडपर्वमा विशेष माग हुने परिकारका रूपमा चिनिन्छन् । यी उत्पादन अहिले जिल्लाभर व्यावसायिकस्तरमै उत्पादन हुँदै आएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले लिजमा लिएको जग्गामा व्यावसायिक रूपमा तिल्की धान उत्पादन गर्दै आएको छ । संस्थाका अध्यक्ष लक्ष्मी चौधरीका अनुसार गत वर्ष मात्र ५५ क्विन्टल तिल्की धान उत्पादन भएको थियो । व्यवसायी चित्रबहादुर खड्काका अनुसार तिल्की चामलको मूल्य प्रतिक्विन्टल १६ हजार रुपियाँसम्म पुग्छ । दसैँतिहारका बेला यसको बिक्री बढ्ने गर्छ ।
यस्तै जिल्लामा बँदिया भालेपालन पनि व्रmमशः लोकप्रिय बन्दै गएको छ । तुलसीपुर–१७, झिङ्गैका राजन लामिछानेले सात वर्षदेखि व्यावसायिक रूपमा बँदिया भाले पाल्दै आउनुभएको छ । २०७५ सालमा उहाँले ठाकुरबाबा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म स्थापना गर्नुभएको थियो । उहाँका अनुसार जन्मेको करिब चार महिनापछि भालेलाई बँदिया बनाउन सकिन्छ र करिब एक वर्षपछि बिक्रीयोग्य हुन्छ । अहिले एउटा बँदिया भाले तीन हजारदेखि तीन हजार छ सय रुपियाँसम्ममा बिक्री हुन्छ । लामिछानेले दसैँतिहारका बेला यसको माग निकै बढ्ने बताउनुभयो ।
बँदिया भाले लोकल कुखुराभन्दा महँगोमा बिक्री हुने भएपछि किसान यसको व्यावसायिक पालनतर्फ आकर्षित भएका छन् । लमही नगरपालिका–३, नारायणपुरस्थित नारायणी महिला कृषि सहकारी संस्थाले पनि व्यावसायिक रूपमा बँदिया भाले र लोकल कुखुरा पाल्दै आएको छ । त्यस्तै देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलजङ्ग सिंह ठकुरीले दर्ता गरेको बुह्रान बहुउद्देश्यीय कृषि फार्मले लमही–६, खैरीस्थित ३० कट्ठा जग्गामा विगत छ वर्षदेखि निरन्तर व्यावसायिक पालन गर्दै आएको छ ।
तिल्की चामल र बँदिया भाले दाङको खाद्य संस्कृति मात्र नभई किसानको आम्दानी बढाउने प्रमुख स्रोतसमेत बनेका छन् । दसैँ जस्ता चाडपर्वमा यसको उपभोग उच्च हुने भएकाले यहाँका उत्पादनले स्थानीय अर्थतन्त्रलाई समेत बल पु-याइरहेको देखिन्छ ।