• १४ असोज २०८२, मङ्गलबार

भन्सार जाँचपासका लागि बैङ्क खुला रहने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । दसैँको टीका (विजयादशमी) को दिनबाहेक दसैँ बिदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्था खुला रहने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले विजयादशमीबाहेक दसैँ बिदाभर सबै बैङ्क तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै दसैँभर बैङ्क खुला राख्न निर्देशन दिएको हो । बैङ्क तथा वित्तीय संस्थालाई मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु राख्न निर्देशन गरिएको सूचनामा उल्लेख छ ।

सरकारको अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधमा व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई भन्सारसम्बन्धी बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।

यसअघि भन्सार विभागले असोज ९ गते राष्ट्र बैङ्कलाई पत्र पठाएर व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु गर्न अनुरोध गरेको थियो ।

मुस्ताङ भन्सारमा सामानको चाप

मुक्तिनाथ समाचारदाताका अनुसार उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालय, न्हेछुङ दसैँको टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै आएका विद्युतीय (इभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक सामग्रीसहितका सामानको चापलाई ध्यानमा राखी विजयादशमीको दिनबाहेक काम गर्ने गरी जनशक्ति व्यवस्थापन गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो । प्रमुख खड्काका अनुसार चिनियाँ कन्टेनर आउने व्रmम जारी छ, रोकिएकाको जाँचपाससमेत बाँकी छ । 

चाडपर्वलक्षित सामान करिब जाचपाँच भएको र केही आउने व्रmममै रहेको प्रमुख खड्काले बताउनुभयो । जाडो मौसममा सामान ढुवानीमा समेत असहज हुने नाकामा दसैँतिहारको बिचमै चीनबाट भित्रिने लाइनमा रहेका सबै सामान ढुवानी हुने भन्सार कार्यालयले जनाएको छ । 

आइतबार साँझसम्म मुस्ताङबाट काठका सामग्री, ज्याकेटसहित अन्य पोसाक लिएर पाँच वटा मालवाहक ट्र«क निकासी भएकामा चीनबाट आयात गरिएका सबै ९७५ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ भने ३४८ मध्ये ३१० मालवाहक ट्र«कसहित कन्टेनरको भन्सार जाँचपास सम्पन्न भएर कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै गन्तव्यतर्फ लागेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । यसैबिच हालसम्म भन्सार कार्यालयले आयातबाट मात्रै एक अर्ब ७५ करोड ८४ लाख ११ हजार ५४९ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले दसैँको अवधिमा करिब दुई अर्बको हाराहारीमा राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ ।