• १४ असोज २०८२, मङ्गलबार

गाउँमै गार्मेन्ट चलाएर रोजगारी सिर्जना

blog

सुनसरीको कलाबन्जरमा सञ्चालित गार्मेन्ट उद्योग ।

बाबुराम कार्की 

वराहक्षेत्र, असोज १४ गते ।  वैदेशिक रोजगारीबाट हार मानेर स्वदेश फर्केका अशोक चौधरीलाई अहिले गाउँघर र आसपासका क्षेत्रमा नचिन्ने कमै मात्र भेटिन्छन् । साउदी अरबमा काम गरेर फर्किएका चौधरीले गाउँमै सात वर्षदेखि गार्मेन्ट कारखाना सञ्चालन गर्दै आउनुभएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएपछि के गर्ने भन्ने अन्योलमा परेका चौधरीले गार्मेन्टमा लगानी गरेर २० जनालाई रोजगारी पनि दिनुभएको छ । चौधरी सुनसरीको ग्रामीण बस्तीमा मात्रै हैन, जिल्लाबाहिर पनि उत्तिकै चिनिन थाल्नुभएको छ । 

सुनसरीको वराहक्षेत्र–५, कालाबन्जर घर भएका ३४ वर्षीय अशोकले कालाबन्जरमै ४० लाख रुपियाँ लगानी गरेर गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारीमा गरेको दुःख आफ्नै गाउँमा गर्दा कसो नहोला भनेर गार्मेन्टमा लगानी गरेँ । जोखिम मोलेर काम सुरु गर्दा सुरुमा निकै अलमलिए पनि निरन्तरको मेहनतले व्यवसाय राम्रै चलेको छ ।” उहाँले सुनसरी सदरमुकाम इनरुवादेखि २५ किलोमिटर पूर्वउत्तरमा पर्ने कालाबन्जर बजारमा गार्मेन्ट सञ्चालन गर्दै आउनुभएको छ । व्यवसाय सानो भए पनि समय, लगानी र धैर्य भए टिक्न सकिने उहाँको विश्वास छ । 

अशोकको गार्मेन्टले टी सर्ट, ट्र्याकसुट, जर्सीलगायतका अर्डर अनुसारका कपडा बनाउँदै आएको छ । उहाँको गार्मेन्टमा विद्यालयको अर्डर बढी आउने गरेको छ । गार्मेन्टले खेलकुदका जर्सीको छुट्टै ‘ब्रान्डिङ’ गर्ने तयारी थालेको उहाँले बताउनुभयो । गार्मेन्टले अर्डर अनुसारको स्तरीय तयारी कपडा दिने भएकाले ग्राहकको मन जित्दै आएको स्थानीय अच्युत भट्टराई बताउनुहुन्छ । अहिले जिल्ला र जिल्लाबाहिरबाट समेत कामको अर्डर आउने गरेकाले भ्याइनभ्याइ हुने गरेको सञ्चालक बताउनुहुन्छ । गार्मेन्टमा चाहिने कपडा नेपालबाहिरबाट मगाएर उपभोक्ताको माग अनुसार काम गर्न पाउँदा खुसी लाग्ने गरेको उहाँको भनाइ छ । 

सानैदेखि पेन्टिङ र कम्प्युटरको ज्ञान लिएका चौधरीले आर्टको कामले गार्मेन्टमा पनि सहयोग पुगेको बताउनुभयो । कक्षा १२ पास गरेका उहाँले कामदारलाई कामको दक्षता अनुसार २५ देखि ३५ हजार रुपियाँसम्म मासिक पारिश्रमिक दिँदै आउनुभएको छ । उहाँ यसै उद्योगबाट वार्षिक १० देखि १५ लाख रुपियाँसम्म कमाइ हुने बताउनुहुन्छ ।