जनार्जन खत्री
सर्लाही, असोज २९ गते । सर्लाहीमा कात्तिक १ गतेदेखि अनलाइनबाटै नागरिकताको फारम सिफारिस हुने भएको छ । जिल्लामा पहिलो पटक अनलाइन अर्थात् ‘केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली’मार्फत नागरिकता सिफारिस गर्ने तयारी गरिएको हो । त्यसका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अहिले वडा सचिव, कम्प्युटर अपरेटर र पालिकाहरुमा कार्यरत आइटी अफिसरलाई अनुशिक्षण प्रदान गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले यसअघि सेवाग्राहीबाट आवश्यक कागजात सङ्कलन गरी नयाँ तथा प्रतिलिपी नागरिकता प्राप्त गर्न कागज तयार पारेर जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयमा पठाउने वडा सचिवहरुलाई अब अनलाइनबाटै काम गर्न असोज २६ गतेदेखि अनुशिक्षण प्रदान गर्ने काम जारी रहेको जानकारी दिनुभयो ।
विभिन्न पालिकाबाट सचिवहरुलाई पालैपालो बोलाइएको र बुधबारसम्म अनुशिक्षण कार्यक्रम सम्पन्न हुने सहायक सिडिओ पोखरेलले बताउनुभयो ।
सर्लाहीमा २० वटा पालिकामा दुई सय वडा रहेका छन् । ति वडामा कार्यरत वडा सचिव, कम्प्युटर अपरेटर तथा गाउँपालिका तथा नगरपालिका कार्यालयमा कार्यरत आइटी अफिसरलाई गृह मन्त्रालयबाट खटिएका विज्ञ एवम् कम्प्युटर अधिकृत सुदर्शन न्यौपानेले अनुशिक्षण प्रदान गरिरहनुभएको छ ।
वडा कार्यालयहरुले अहिले पनि जन्मदर्ता, मृत्युदर्ता जस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाटै गरिरहेका छन् । अब अनलाइनबाट नागरिकता सिफारिस गर्दा अहिले भएकै स्रोत, साधनबाट सहजै हुने र वडा सचिवहरुलाई केही घण्टाको अनुशिक्षणपश्चात सहजरुपमा काम गर्न सक्ने अवस्था रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रणालीमार्फत नागरिकताको सिफारिस सुरु गरेपश्चात कुनै वडामा समस्या आए तत्काल भौतिक वा ‘भर्चुअल’ माध्यमबाट समस्याको समाधानका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारी उपलब्ध हुने बताउनुभयो । अनलाइनबाटै सिफारिस हुन थालेपछि नागरिकता लिनका लागि सेवाग्राहीले जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालय जाँदा कागजात बोकी रहनु नपर्ने भएको छ ।